काठमाडौं। फागुन १५ गते कतार एयरवेजको लापरबाहीका कारण आकासमा तीन जहाज झन्डै ठोक्किएको विषयमा छानबिन गर्न मुलुकको उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ।
त्यस दिन बिहान साढे ८ बजे कतारको दोहाबाट आएको कतार एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायुसेवा निगम (नेवानि) र कुनै आन्तरिक गन्तव्यबाट आएको बुद्ध एयरका जहाज एकापसमा ठोक्किनबाट रौंरौं बचेको विषयमा क्यापिटल नेपालमा समाचार प्रकाशन भएपछि प्राधिकरणले घटना अध्ययन गर्न छानबिन समिति बनाएको हो।
प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले प्राधिकरणअन्तर्गत हवाई सुरक्षा शाखाका एक अधिकारीको संयोजकत्वमा दुईजना क्याप्टेन सदस्य रहने गरी छानबिन समिति बनाएर अध्ययन अगाडि बढाइएको जानकारी दिए।
सम्बन्धित एयरलाइन्सबाट घटनाबारे ढाकछोपका लागि ‘दबाब र प्रभाव’ आउनसक्ने भन्दै छानबिन समितिमा रहेका सदस्यहरूको नाम भने सार्वजनिक नगरिएको र यथाशक्य चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रवक्ता निरौलाले जानकारी दिए।
घटना यस्तो थियो
त्रिभुवन विमानस्थल टावर स्रोतका अनुसार कतार एयरवेजको ‘बि७८७’ जहाज १३ हजार ५ सय फिट, नेवानिको ‘ए३२०’ जहाज १२ हजार ५ सय फिट र बुद्धको ‘एटिआर७२’ जहाज ११ हजार ५ सय फिट उचाइमा ‘होल्ड’ गरिरहेका थिए। तीनवटै जहाजको एकअर्काबीच तलमाथिको उचाइ दुरी १÷१ हजार फिटमात्र थियो।
‘तर, कतार एयरवेजको जहाज हाँकिरहेका क्याप्टेनले एक्कासि आफ्नो जहाज ७ सय फिट तल झारिदिए, जबकि उनको जहाजको १ हजार फिटमुनि नेवानिको जहाज थियो,‘ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भनेको थियो, ‘कतारका क्याप्टेनले टावरसँग अनुमति नै नलिई जहाज तलतिर झारिदिए। एक्कासि माथिबाट आफूतिर जहाज झरेपछि नेवानिका क्याप्टेनले उडान सुरक्षाका लागि आफ्नो जहाज अझै तल झारे। उनीहरू अझै तल झर्न पनि सकेनन् किनकि मुनि बुद्धको जहाज थियो।’
नेवानिको उक्त जहाजलाई क्याप्टेन प्रशान्त राई र कोपाइलट लिबर्टी भण्डारीले उडाइरहेका थिए।
हालका अत्याधुनिक जहाजमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम‘ (टिसिएएस) जडित हुन्छ, जसले उडिरहेको जहाजको नजिक तलमाथि वा दायाँबायाँ अर्काे कुनै जहाज आयो भने सर्तक गराउँछ।
उडिरहेको जहाज १ हजार फिटभन्दा तल झरेमा यो टिसिएएस सिस्टमले पाइलट बस्ने ककपिटमा जानकारी दिन्छ। यसैका कारण ककपिटमा ‘ट्राफिक अलर्ट रिजोलुसन एडभाइजरी’ (टिएआरए) कराउँछ।
कतारको जहाज एक्कासि ७ सय फिट तल झरेपछि नेवानिको जहाजको ककपिटमा टिएआरए बज्यो। अर्को जहाज नजिक आएका कारण नेवानि जहाजको ककपिटभित्र सुरुमा ‘ट्राफिक अलर्ट‘ (टिए) बज्यो र क्याप्टेन राईले ‘रिजोलुसन एडभाइजरी’ (आरए) मानेर आफ्नो जहाज तल झारे। उनले सुरक्षाका लागि १२ हजार ५ सय फिटबाट ५ सय फिट तल जहाज झारेर १२ हजार फिटमा उडाउन थाले।
अकस्मात जहाजको नजिकै तलमाथि वा दायाँबायाँ अर्काे जहाज देखापरे आरएले माथि (क्लाइम्ब), तल (डिसेन्ट) वा समान तह (लेभल मेन्टेन) गर्न भन्छ। अर्काे जहाज छेउछाउ आएको ककपिटभित्र रहेको ‘राडार‘ ले देखाउँछ।
स्रोतका अनुसार जब नेवानिका क्याप्टेन राईले सुरक्षाका लागि आफ्नो जहाज अझै तल झारे, तबमात्र टावरसँग सबै क्याप्टेनको कुराकानी भएको थियो। त्यसपछि टावरले तुरुन्तै कतारको जहाजलाई १३ हजार ५ सय फिटमै जान निर्देशन दियो र कतार पहिलाकै उचाइमा गयो।
त्यसबेला कतारको जहाजले करिब ३ सय, नेवानिको जहाजले १ सय ५० र बुद्धको जहाजले ७२ यात्रु बोकेका थिए।
सम्भावित ठूलो दुर्घटना टरेर सकुशल अवतरण गरेपछि नेवानिका क्याप्टेन राईले ‘म्यान्डेटरी अक्योरेन्स रिपोर्ट’ (एमओआर) भरेर आफ्नो उडान सुरक्षा शाखामा बुझाएका थिए।
त्यस्तै नेवानिले घटना हुँदा आफ्नो जहाजभित्र ककपिटमा पाइलटले टावरसँग र कतार एयरवेजका पाइलटबीच भएको कुराकानीको अडियो ‘ककपिट भ्वाइस रेकर्ड’ (सिभिआर) बाट ‘डाउनलोड’ गरेको छ।