घोराइ। दाङका महिला पछिल्लो समय सहकारी संस्थाका कारण स्वरोजगार बन्दै गएका छन्। जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन्।
विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन्।बेफुर्सदिला हुन थालेका जिल्लाका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन्।
महिलाले सञ्चालन गरेका सहकारीका कारण अन्य स्थानीय महिलाले पनि गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीस्थित एकता महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताए।
यो संस्था स्थापनाकालदेखि महिलाकै नेतृत्वमा सञ्चालन हुँदै आएको छ। यस्ता सहकारी संस्थामार्फत महिलालाई सशक्तीकरण गराउनाका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ थियो।
संस्थामा आवद्ध महिलामा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको अध्यक्ष अधिकारीले उल्लेख गरे। “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ,” उनले भने।
विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म आवद्ध पाँच सय १४ सदस्यमार्फत ५ करोड रूपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।
संस्थाले मुख्यत बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ। घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी सदस्य रीता नेपालीले विगत लामो समयदेखि बेसारखेती गर्दै आएका छन् ।
सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले प्रतिकिलो ३ सय रूपैयाँमा बिक्री वितरण गर्दै आएको छ। रीताजस्तै यहाँका धेरै महिला दिदीबहिनीले बेसारखेती गर्दै आएका छन्।
घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसार खेती गर्दै आएको उहाँको भनाइ थियो। सहकारी संस्थामा आवद्ध सदस्यहरुका उत्पादनलाई संस्थाले चाना काटेर, सुकाएर र पिसाएर बेच्ने गर्दै आएको छ।
स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि उक्त संस्थाले बेसार बेच्ने गरेको छ। हात्तीखर्क बेसार खेतीका लागि राम्रो सम्भावनाको क्षेत्र रहेको छ। संस्थामा आवद्ध सदस्यहरुले पर्याप्त मात्रामा बेसार उत्पादन गरे पनि बजारीकरणका लागि भने केही समस्या रहेको सहकारीकी उपाध्यक्ष सुनकुमारी विष्टले बताए।
हामी सबै सदस्यहरु बाहिरको बेसारभन्दा संस्थाबाटै किनेर लैजाने गरेको उहाँले जानकारी गराए। वार्षिक १ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने संस्थाले बेसार पनि बिक्री गर्छ। सदस्यहरुले मासिक ५ सय रूपैयाँदेखि दुई हजारसम्म सहकारीमा बचत गर्नाका साथै ऋण लिएर विभिन्न तरकारीखेती, किराना पसल अन्य उद्यम तथा व्यवसाय गर्दै आएका छन्।
यस्तै सोही ठाउँका कबल बुढाले पनि अल्लो व्यवसाय गर्दै आएका छन्। सहकारीबाट सहुलियतमा ऋण लगेर उनले अल्लोको व्यवसाय गर्दै आएका हुन्। आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आवद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यमा जोड्न सकिने अध्यक्ष अधिकारीले बताए।
सहकारीले विभिन्न समयमा सीपमूलक तालिमका साथै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ। तालिममा सहकारीको महत्व, सहकारीको सिद्धान्त, सहकारीको भूमिका, बचत किन, बचतका फाइदा, सहकारीका ऐन, नियम, लैङ्गिक हिसा न्यूनीकरणलगायत विषयमा जानकारी दिइन्छ। साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा रु १० हजार र सुत्ेकरी भएको बेला २ हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ ।