काठमाडौं। बैंक तथा वित्तीय संस्थाविरुद्ध तुच्छ गालीगलौजमा उत्रिएका विवादित व्यवसायी दुर्गा प्रसाईं यतिखेर बैंकसँग भएको सम्झौताको एउटा पत्र मिडियाकर्मी र सरोकारवालालाई बाँड्दै हिँडेका छन्।
बिएन्डसी मेडिकल कलेज निर्माण गर्दा बैंकसँग भएको सम्झौतापत्र बाहिर ल्याएर प्रसाईंले ब्याज उठाउन नमिल्ने दाबी गरिरहेका छन्। सम्झौतापत्रअनुसार बैंकले आफूसँगबाट ब्याज लिन नपाउने दाबी उनले छाडेका छैनन्।
आखिर बैंकले ब्याज नै लिन नसक्ने गरी कस्तो सम्झौता गरेको थियो? ब्याज नलिने गरी पनि बैंकले सम्झौता गर्छ? तर, प्रसाईंले क्यापिटल नेपाललाई उपलब्ध गराएको पत्रमा बिएन्डसी मेडिकल कलेजको भौतिक पूर्वाधार नबनुन्जेलसम्म, व्यावसायिक रूपमा सञ्चालनमा नआउँदासम्म र पहिलो ब्याच एमबिबिएस विद्यार्थी भर्ना नगरुन्जेलसम्म ब्याज नलिने र उक्त ब्याजलाई पुँजीकरण गर्ने गरी बैंकसँग समझदारी गरेका छन्। सोही सम्झौता टेकेर प्रसाईंले झापा जिल्ला अदालतबाट अन्तरकालीन आदेश दिएको देखिन्छ।
प्रसाईंलाई ऋण दिनेमध्येको गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोजकाजी तुलाधर ‘त्यसपछि बागमतीमा धेरै पानी बगिसकेको’ बताउँछन्।
प्रसाईसँग बिएन्डसीले पहिलोपटक एमबिबिएस विद्यार्थी भर्ना नगरेसम्म ब्याज नलिने सम्झौता बैंकहरूले गरेका रहेछन् नि भन्ने प्रश्नमा तुलाधरले ‘त्यसपछि सम्झौता धेरैपटक पुनरावलोकन भइसकेको’ दाबी गरे।
सम्झौता गरेको पत्र माग्दा तुलाधरले समयक्रममा सार्वजनिक गर्ने जवाफ दिए। ‘यदि सम्झौता पुनरावलोकन नभएको भए बैंक कसरी अदालत पुग्यो त?,’ गुडविलका सिइओ तुलाधरले क्यापिटल नेपालसँग भने, ‘अदालतको अन्तरकालीन आदेशपछि बैंक पनि अदातल गएको छ। त्यहीबाट बुझिन्छ, धेरैपटक सम्झौता पुनरावलोकन भइसकेको छ।’
प्रसाईंलाई ग्लोबल आइएमई बैंकको अगुवाइमा साढे ५ अर्ब रुपैयाँ ऋण दिइएको छ। ‘प्रसाईंले जस्तोसुकै पत्र देखाए पनि बैंकबाट लिएको ऋणको ब्याज नतिरी धर छैन, सुखै छैन। अब विदेश नै पलायन हुने हो भने नतिर्दा पनि होला,’ तुलाधरले भने, ‘दुई पार्टीबीचको असन्तुष्टि प्रसाईंले सडकमा लिएर आउनुभयो।’
एक वर्षमै बिएन्डसी मेडिकल कलेजले १ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। सन् २०२१ मा बिएन्डसीले ८१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। एक वर्ष अवधिमा व्यापार ३८ करोड रुपैयाँ बढेको बिएन्डसीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
२०२० मा बिएन्डसीले ५३ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो। तीन वर्षको वित्तीय विवरण हेर्दा बिएन्डसीको व्यापार विस्तार हुँदै गएको छ।व्यापार विस्तार हुँदै जाने तर बैंकबाट लिएको ऋणको ब्याज नतिर्न थालेपछि प्रसाईंको नियतमाथि बैंकले शंका गरेको हो।
‘बैंकले ब्याज तिर्नुस् भनेर प्रसाईंलाई लिखित पत्राचार गरेपछि उनी अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन्,’ एक बैंकरले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘लिड बैंकले बिएन्डसीले आम्दानी गरिरहेकाले अब ब्याज पुँजीकरण गर्न सकिँदैन, ब्याज तिर्नुस् भन्दा प्रसाई बैंकविरुद्ध अदालत र सडक ओर्लिएका हुन्।’