एजेन्सी। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम बढ्नुका साथै बिस्तारै वातावरण विनाश हुन थालेको छ। कार्बन उत्सर्जन बढ्दै गएपछि आएको परिणामले मानवीय स्वस्थ्यमा गम्भीर असर देखिन थालेका छ।
कार्बन उत्सर्जनले पृथ्वीमा विनाश ल्याउने देखिएपछि यसलाई बिस्तारै घटाउँदै लैजान थालिएको छ। पछिल्लो समय विश्वमा विद्युतीय सवारीसाधन (इभी) संख्या बढ्दै गएको छ।
विश्वमा इभी हिस्सा बढेर आठ प्रतिशत पुगेको छ। विश्वमा ८६ लाखथान इभी थपिएको छ।
युरोपमा इभी हिस्सा १७, चीनमा १६ र अमेरिकामा ४.६ प्रतिशत छ। सन् २०२१ मा विश्वव्यापी इभी बिक्री दोब्बरले ६६ लाखथान पुगेको छ। यसले नयाँ कीर्तिमान स्थापित गरेको छ। सडक यातायातले ‘डिकाबेनाइजेसन’ मा इभीले प्रमुख भूमिका खेल्दै आएको छ।
विश्वमा सबैभन्दा बढी इभी सञ्चालन गर्ने देश युरोपको नर्वे हो। नर्वेका सडकमा गुड्नेमध्ये ८६ प्रतिशत इभी छन्। बाँकी १४ प्रतिशतमात्र खनिज इन्धन (पेट्रोल र डिजेल) बाट चल्ने गुड्छन्।
युरोपमा कार्बन उत्सर्जन कम गर्न इभी प्रयोग बढ्दै गएको देखिएको छ। यस्तै युरोपको अर्को देश आइसल्यान्डमा इभी हिस्सा बढेर ७२ प्रतिशत पुगेको छ। स्वीडेन ४३, डेनमार्क ३५, फिनल्यान्ड ३१ र नेदरल्यान्डमा ३० प्रतिशत इभी सञ्चालनमा छन्।
ठूलो अंश कर प्रोत्साहन र अनुदान बढाएपछि नर्वेमा इभी संख्या बढेको हो। नर्वेले २०२५ सम्ममा सबै नयाँ कार बिक्रीमा शून्य उत्सर्जन गर्ने सवारीसाधन हुने लक्ष्य राखेको छ।
चीन विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारको नेतृत्व गरिरहेको छ। २०२१ मा चीनमा ३३ लाखथान इभी बिक्री भएको थियो। यो परिमाण २०२० मा विश्वव्यापी बिक्री भएका इभीभन्दा बढी हो।
एकै समयमा ती सबै नयाँ गाडीलाई विद्युत र सार्वजनिक पूर्वाधार आवश्यकता पर्छ। इन्टरनेसनल इनर्जी एजेन्सीले आगामी २०५० सम्ममा ‘नेट शून्य’ मा पुग्न ती सबै इभीको माग पूरा गर्न २० करोड पब्लिक चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने अनुमान गरेको छ। यसका लागि १२ लाख ४० हजार मेगावाट थप बिजुली पनि उत्पादन गर्नुपर्ने हुन्छ।
यसमा यात्रुवाहक सवारीले सबैभन्दा बढी ध्यान पाउन सक्छन्। तर, सार्वजनिक यातायात र ढुवानी साधनलाई पनि शून्य उत्सर्जनमा सार्न आवश्यक छ। भारी र मध्यम मालवाहक ट्रक र बसले २०२१ मा मात्रै २ अर्ब १९ करोड ४० लाख टन कार्बन उत्सर्जन गरेका थिए।
चीनले आफ्नो बस संख्या विद्युतीकरणमा ठूलो लगानी गरिरहेको छ। २०१५ र २०२१ बीचमा चीनले ६ लाख ९४ हजार विद्युतीय बस दर्ता गरेको थियो। अर्कातर्फ युरोप र अमेरिका क्रमशः ९ हजार र ६ हजार दर्ता भएका थिए।
२०१५ र २०२१ को बीचमा १ लाख ३ हजार दर्ताका साथमा विद्युतीय ढुवानी बजारमा पनि चीनको प्रभूत्व छ। जबकि, अमेरिका र युरोप भर्खरै बजारमा प्रवेश गरेका छन्।
तर, २०२१ मा करिब ५.८६ अर्ब टन कार्बन उत्सर्जनका लागि जिम्मेवार कार, ट्रक र अन्य सडक यातायात कूल उत्सर्जनको १६.१५ प्रतिशत छ।
जलवायु परिवर्तनलाई १.५ डिग्री सेल्सियसमा राख्न सडक यातायातबाट उत्सर्जन आगामी २०३० सम्ममा २० प्रतिशत घटाएर २०५० मा शुद्ध शून्यमा पुग्न आवश्यक छ।