काठमाडौं। नेपालको व्यावसायिक घराना आइएमई ग्रुपअन्तर्गतको आइएमई लिमिटेडले आफ्ना कर्मचारीलाई सेयरसहितको भोलेन्टियरी रिटायर्डमेन्ट सुविधा (भिआरएस) ल्याएको छ।
कम्पनीले पाँच वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई केन्द्रित गरेर आकर्षक भिआरएस सुविधा निकालेको हो। ‘जति वर्ष आइएमईमा काम गरेको छ, त्यति वर्ष बराबरै तलब सुविधा र सेयर दिने गरी भिआरएस ल्याएको हो,’ आईएमई स्रोतले क्यापिटल नेपाललाई भन्यो।
कम्पनीले कर्मचारीलाई प्रोत्साहन गर्न नियमावली संशोधन गरेर आइएमई लिमिटेडको मालिक बनाउने नीति लिएको छ। यो नेपालको निजी क्षेत्रमा पहिलो र नयाँ अभ्यास हो।
‘कर्मचारीलाई कामप्रति थप लगनशील र ऊर्जावान बनाउन नयाँ नीति लिएको हो,’ स्रोतले भन्यो, ‘भिआरएस लिएर जानेहरुलाई पनि कम्पनीको सेयर दिने र आकर्षक सेवा सुविधा पनि दिन्छौं।’
कम्पनीले आइएमईमा आवद्ध कर्मचारी जो पाँच वर्षभन्दा माथि अवधी काम गरेकालाई पाँच वर्षकै तलब र १५ वर्ष काम गरेका कर्मचारीलाई १५ वर्षकै तलब सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा छ। त्यही भएर आइएमई लिमिटेडमा रुपान्तरण भइसकेको छ । कर्मचारीले आइपिओमा जाँदा पाउने सेयर भर्न पाउँछन् । त्यसबाहेक नै कम्पनीले हरेक कर्मचारीलाई आइएमईको मालिक बनाउन खोजेको हो ।
कम्पनीले निकालेको भिआरएसमा २२ जनाले सुविधा लिइसकेका छन् । कम्पनी छाडेर जाने पनि आईएमईको सेयर प्राप्त गर्न सक्छन् भने काम गर्ने कर्मचारी पनि त्यसको हकदार हुने कम्पनीले जनाएको छ । कम्पनीमा ३ सय जना हाराहारी कर्मचारी कार्यरत छन्।