काठमाडौं। निर्माणाधीन पाँचतारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ आगामी असारभित्र सञ्चालनमा आउने भएको छ।
यसअघि सन् २०२३ जनवरी (अंग्रेजी नयाँ वर्ष) देखि सञ्चालनमा ल्याउने तयारी थियो।
निर्धारित समयमा निर्माण पूरा नभएपछि ६ महिना अवधि थप भएको छ। अवधि थपिएसँगै होटलको लागत पनि बढेर २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ।
जसअनुसार बैंकको ऋण १ अर्ब ५४ करोड ५० लाख र संस्थापकको स्वपुँजी (इक्विटी) लगानी ८३ करोड रुपैयाँ हुने गरी नयाँ लगानी संरचना तयार पारिएको छ।
निर्माण समय लम्बिँदा होटलको लागत पनि ६४ करोड ५० लाख रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। कठिन आर्थिक वातावरण र बैंकिङ क्षेत्रमा ऋण संकटले आयोजना समयमै सञ्चालन गर्न नसकिएको बूढानीलकण्ठ हेरिटेज लिमिटेडले जनाएको छ।
यसबाहेक ऋण चुक्ता गर्न ‘मोरेटोरियम’ अवधि असारमा समाप्त हुनेछ। यस्तै मूलभुक्तानी आगामी अक्टोबरबाट सुरु हुने सम्भावना रहेको होटलले जनाएको छ।
नौ तला अग्लो होटलमा १ सय २ कोठा हुनेछन्। होटलले १ अर्ब ५४ करोड ५० लाख रुपैयाँ ऋणको ‘रेटिङ’ गराएको छ। सानो क्षेत्रफलभित्र ठूलो संख्यामा होटल सञ्चालनमा आउँदा काठमाडौं उच्च प्रतिस्पर्धी बजार बनेको छ।
बूढानीलकण्ठ हेरिटेज लिमिटेडले निर्माण गरिरहेको होटलमा विभिन्न क्षेत्रका विज्ञले लगानी गरेका छन्।
होटल अध्यक्षमा डा. राजेन्द्र केसीसँगै चार्टर्ड एकाउन्टेन्टहरू दीपक पाण्डे र नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की, जनक भट्ट, जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेल र हरिप्रसाद पाण्डेको लगानी छ।
होटलमा नेपाल बैंक र नेपाल एसबिआई बैंकको लगानी छ। काठमाडौंको कोलाहलबाट केही टाढा तर सुविधासम्पन्न होटल खोजीमा निस्कनेलाई लक्ष्य गरी होटल निर्माण गरिएको हो।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको बूढानीलकण्ठ हेरिटेज होटलमा दुई प्रेसिडेन्सियल, तीन डिलक्स र बाँकी ९७ इकोनोमी कोठा हुनेछन् । होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन रहनेछन्।
होटल महाराजगन्ज नारायणगोपाल चोकबाट उत्तरतर्फ पाँच किलोमिटरभित्र छ। होटललाई पब्लिक कम्पनीमा रूपान्तरण गरिसकिएको छ।