काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले ६ थान जहाज खरिद गर्ने निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यावसायिक योजना मागेको छ।
मन्त्रालयमा विभिन्न विभाग र संस्थानको ब्रिफिङ क्रममा नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०७९ माघ २६ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय सुनाउँदै पाँच जहाज खरिद गर्ने निर्णय गरेको जानकारी गराएका थिए। सञ्चालक समितिले पहिलो चरणमा आन्तरिक उडानका लागि पाँच जहाज किन्ने योजना बनाएको छ।
पहाडी क्षेत्रमा उडान गर्न तीनथान ‘ट्विनटर’ र सुगम क्षेत्रका लागि ‘एटिआर’ (उस्तै क्षमताको) अन्य जहाज किन्ने निर्णय गरेको हो। आन्तरिक उडान गर्न पाँचथान जहाज किनेपछि मात्र अन्तर्राष्ट्रिय उडानका लागि एकथान ‘न्यारोबडी’ जहाज किन्ने योजना निगम सञ्चालक समितिले बनाएको छ।
पर्यटनमन्त्री सुदन किराँती उपस्थित ब्रिफिङमा अहिलेकै अवस्थामा चार जहाजले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सम्भव नभएको भन्दै तत्कालै पाँच जहाज र त्यसपछि एक न्यारोबडी जहाज खरिदको योजना सुनाइएको थियो।
हाल भएका ६ थान चिनियाँ जहाज तत्कालै बेच्ने र नयाँ जहाज खरिद गर्न आवश्यक रहेको योजना कार्यकारी अध्यक्ष अधिकारीले राखेका थिए। जहाज खरिदका लागि नेवानिसँग पैसा नभएको र त्यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गरेर सरकारमार्फत नै रकम व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले राखेका थिए।
मन्त्री किराँतीले पनि नेवानि कार्यकारी अध्यक्ष अधिकारीले राखेको प्रस्ताव र सञ्चालक समितिले गरेको निर्णयमा मौन समर्थन जनाएका छन्। तत्कालीन अवस्थामा जहाज नथपे विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने र त्यसका लागि जहाज थप्नुको विकल्प नभएको मन्त्री किराँतीको निष्कर्ष छ। तर, जहाज खरिदका लागि अहिलेकै अवस्थामा सरकारले रकम दिन सक्छ वा सक्दैन भन्ने यकिनमा भने मन्त्री अनभिज्ञ छन्।
भएका जहाज नै राम्रोसँग सञ्चालन गर्न नसकेको र किस्तासमेत तिर्न धौधौ भएका बेला नयाँ जहाज खरिद योजनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसरी स्वीकार गर्लान् भन्ने चिन्तामा मन्त्री किराँती छन्।
‘जहाज किन्ने योजना राम्रो हो,’ पर्यटनमन्त्री किराँतीलाई उद्धृत गर्दै उनका प्रेस संयोजक राजन राईले भने, ‘उहाँ आफैं पनि अहिलेकै जहाज संख्याले पर्याप्त नहुने भन्दै नयाँ किन्नुपर्छ भन्ने योजनामा रहेकाले खरिदका लागि व्यावसायिक योजना माग्नुभएको हो।
’
निगमका कार्यकारी अध्यक्ष अधिकारीले केही दिनभित्रै पर्यटन मन्त्रालयलाई व्यावसायिक योजना पठाउन आवश्यक तयारी गरिरहेको जानकारी दिए। ’अहिले गरिएका निर्णय प्रारम्भिकमात्र हुन्,’ अध्यक्ष अधिकारीले क्यापिटल नेपालसँग भने, ‘व्यावसायिक योजनाअनुसार केही थपघट हुन पनि सक्छ।'
मन्त्री किराँतीले नेवानिलाई जहाज उडान सञ्चालन क्षमता अभिवृद्धि गरी जहाजको उडान उपयोगिता दैनिक कम्तीमा १५ घन्टा पुर्याउनुपर्ने योजना बनाउनसमेत निर्देशन दिएका छन्। जापानको नारिता र साउदी अरबको रियाधमा साताका तीन/तीन उडान तालिका मिलाउन मन्त्री किराँतीले निर्देशन दिएका छन्।
त्यसैगरी नेवानिलाई व्यावसायिक अभिवृद्धि र आर्थिकरूपमा फाइदा गर्न यथार्थपरक व्यावसायिक कार्ययोजना र बजार प्रवर्द्धन कार्ययोजना पेस गर्न मन्त्री किराँतीले निर्देशन दिएका छन्।