काठमाडौं। शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीसँग वैदेशिक रोजगार विभागले कामदारहरुको विवरण मागेको छ।
विभागका निर्देशक गोपालराज तिमिल्सिनाले वैदेशिक रोजगार व्यवसायी महासंघलाई फागुन १४ गते पत्र पठाउँदै सातदिन भित्रमा विभाग र मन्त्रालयमा कामदारको विवरण पठाउन निर्देशन दिएका छन्।
सरकारले अंगीकार गरेको शून्य लागतको नीति अनुरुप बढी कामदार छनौट गरी वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरुको पहिचान गरी प्रोत्साहन गर्ने सरकारको रणनीतिअनुसार संघमा भएका व्यवसायिक संस्थाहरुले इथिकल रिक्वायरमेन्ट अन्तर्गत छनौट गरी विदेश पठाएका कामदारहरुको विवरण सात दिन भित्रमा पेस गर्न भनिएको छ।
विभागले सात दिनभित्र विवरण पेस गर्न निर्देशन दिएपछि व्यवसायीहरुबीच हलचल सुरु भएको छ। निश्चित व्यवसायीहरुको स्वार्थमा विभागले मेनपावर कम्पनीहरुलाई पुरस्कृत गर्ने योजना बनाएको भन्दै त्यसको विरुद्धमा उत्रिन व्यवसायीहरुले महासंघलाई दबाब दिइरहेको छ।
केही व्यवसायीहरुले निःशुल्क पठाउने र ३ लाख रुपैयाँसम्म शुल्क लिएर मलेसिया, कतार, दुबई लगायतमा पठाउने गरेको भन्दै तीनै व्यवसायीहरुको स्वार्थमा विभाग चल्न लागेको भन्दै व्यवसायीहरुले विरोध सुरु गरेका हुन्।
‘निश्चित व्यवसायीको स्वार्थमा विभाग लागेको छ,‘एक व्यवसायीले क्यापिटल नेपालसँग भने,’यसको विरोधमा महासंघ नलागे अस्थित्वनै सकिन्छ’।‘जसले दुई/तीनवटा लाइसेन्स लिएर शून्य लागतदेखि ३ लाखभन्दा बढीसम्म रकम लिन्छ, तीनै कम्पनीलाई सरकारबाट पुरस्कृत हुनुपरेको छ, ‘अर्का व्यवसायीले क्यापिटल नेपालसँग भने, ’अहिलेकै अवस्थामा विभाग रहे आन्दोलन गर्नुको विकल्प छैन,महासंघको हुत्ती हेर्ने बेला यही हो’।
यस विषयमा महासंघका अध्यक्ष राजेन्द्र भण्डारीसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन सम्पर्क हुन सकेन।