काठमाडौं । विश्वमा २७ वटा राष्ट्रहरुमा अझै पनि स्टक एक्सचेन्ज छैन् । एक्सचेन्ज नभएपछि ती मुलुकहरुमा दोस्रो बजारमार्फत सेयर कारोबार पनि हुँदैन वा सहज छैन । २१ औ शताब्दीमा कुनै पनि देशमा एक वा एक भन्दा धेरै स्टक एक्सचेन्ज हुनु कुनै नौलो कुरा होइन । तर अफगानिस्तान, उत्तर कोरिया, दक्षिण सुडान लगायतका २७ मुलुकमा भने अझै पनि सेयर बजार सञ्चालनमा छैन् ।
विकिपिडियाका अनुसार यी सबै देशहरु सार्वभौम राज्यहरु हुन्, अर्थात, यी मुलुकहरु स्वतन्त्र छन् । तर पनि त्यहाँ स्टक एक्सचेन्ज भने दर्ता छैन् । २७ राष्ट्रमध्ये अधिकांश देशको आर्थिक अवस्था कमजोर रहेको छ । साथै, कतिपय मुलुक क्षेत्रफलका हिसाबले पनि निकै साना रहेका छन् । भ्याटिकन सिटी क्षेत्रफलका हिसाबले विश्वको सबै भन्दा सानो देश हो, त्यहाँ आर्थिक गतिविधिका कामहरु गर्न खासै सम्भव हुँदैन । त्यसैले पनि यस देशमा सेयर बजार नहुनुलाई सामान्य रुपमा लिन सकिन्छ ।
तर यमन, अफगानिस्तान, उत्तर कोरिया लगायतका देशहरुको क्षेत्रफल भने धेरै ठूलो छ । तर पनि त्यहाँ सेयर बजार छैन् । यसको कारण यिनीहरुको अर्थतन्त्रको अवस्था निकै कमजोर रहनु नै हो, अनि आर्थिक उदारीकरणका नीति नहुनु, निजी क्षेत्र सशक्त नबन्नु पनि थप कारण हुन् । जुन देशको अर्थतन्त्र डामाडोल भएको हुन्छ, त्यस देशमा लगानीकर्ताहरु पनि हुँदैनन् ।
जब लगानीको प्रतिफल सहजै प्राप्त गर्ने अवस्था रहँदैन तब देश–विदेश कतैबाट पनि लगानीकर्ताहरु आउँदैनन् । यी देशहरुमा पनि यस्तै अवस्था रहेको देखिन्छ । अफगानिस्तान, यमन, दक्षिण सुडान, उत्तर कोरिया लगायतका देशहरु विश्वको सबैभन्दा गरिब मुलुकहरु पनि हुन् । साथै, त्यहाँको आन्तरिक युद्धका कारणले पनि लगानीकर्ता नभएका हुन् ।