काठमाडौं। दिवाकर गोल्छा कर्पका सञ्चालकले भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेडको नाममा लिएको ऋण एक वर्षभित्र तिर्न प्रतिबद्धता जनाएको छ।
कर्पका सञ्चालक हितेश गोल्छा कागज कारखानाले लिएको सबै ऋण एक वर्षभित्र चुक्ता गर्ने प्रस्ताव गरेका हुन्।
तर, नेपाल बैंकले यस विषयमा निर्णय गरिसकेको भने छैन। सहवित्तीयकरणमा ऋण लगानी गर्ने अन्य बैंकसँग बैठकपछि भृकुटीको ऋण भुक्तानीका लागि गोल्छासँग नयाँ समझदारी (एमओयु) हुने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए।
‘अब एकपटक ऋण लगानी गर्ने बैंकको कन्सोर्टियम बैठकपछि सहमति जुट्छ होला,’ सिइओ अधिकारीले क्यापिटल नेपालसँग भने।
गोल्छा ऋण तिर्ने योजनासहित पुगेपछि नेपाल बैंकले समय दिन लागेको हो। कागज कारखानाको नाममा रहेको जग्गा बेचेर ऋण तिर्ने प्रस्ताव सञ्चालक गोल्छाले राखेका छन्। बिस्तारै उद्योगको जग्गा बिक्री गरेर भुक्तानी गर्दै एक वर्षभित्र चुक्ता गर्नुपर्ने सर्त ऋण लगानी गर्ने बैंकहरूको छ।
भृकुटी कागजको साँवामात्रै ८५ करोड रुपैयाँ छ। ऋणमा लागेको ब्याज तथा हर्जना गर्दा झन्डै दोब्बर हुने बैंकले जनाएको छ। कारखानाको क्षमता बढाउन त्यसबेला गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए।
नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले सहवित्तीयकरणमा भृकुटी कागजमा ऋण लगानी गरेका थिए।
९.५ प्रतिशत ब्याज तिर्न गोल्छाले सहमति जनाएका छन्। कारखाना किन्दा आठ टन कागज उत्पादन गर्ने क्षमता थियो। क्षमता बढाएर दैनिक १३ टन पु¥याउन गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए। कारखाना सञ्चालन हुन नसकी बन्द भएपछि गोल्छाले बैंक ऋण नतिरी बसेका थिए।
नवलपुर गैंडाकोटमा रहेको कागज कारखाना २०६७ फागुन १९ देखि पूर्णरूपमा बन्द छ। बन्द भएको १२ वर्षभन्दा बढी भइसकेको छ।
चीनले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी हस्तान्तरण गरेको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बिस्तारै राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति लिएपछि भृकुटी कागज कारखाना २०४९ सालमा निजीकरण गरिएको थियो।
त्यसबेला गोल्छा अर्गनाइजेसनसहितको ‘ज्वाइन्ट भेन्चर’ (जेभी) कम्पनीलाई १ हजार ८० कठ्ठा जमिन र औद्योगिक उपकरणसहित १३ करोड रुपैयाँमा कारखाना बेचिएको थियो। निजीकरण भएपछि कारखाना राम्रोसँग सञ्चालन हुन सकेन र बन्द भयो।
गोल्छाले कारखानाको नाममा रहेको आठ बिघा जमिन अलग्गै बेचिसकेका छन्। भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस कोटाबाट समानुपातिक सभासदसमेत भएका थिए। अंशबण्डा हुँदा भृकुटी कागज कारखाना दिवाकरको नाममा आएको हो।
दिवाकरको निधन भइसकेको छ। अहिले कारखानाको स्वामित्व दिवाकरका छोरा हितेशको नाममा छ। २०६७ मा बन्द भएपछि यसका करोडौंका सामान नष्ट भइसकेका छन्।
नयाँ मेसिन खरिद गरेर कारखाना पुनः सञ्चालन गर्न करोडौंं रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ। हितेशले कारखाना सञ्चालन गर्नुभन्दा पनि जग्गा बेचेर ऋण तिर्ने योजना बनाएका छन्।
कारखानाले विगतमा स्वदेशी कच्चापदार्थ पराल, बाँस, बाबियो, गहुँको छ्वाली, काँस, झुत्रा कागजबाट दैनिक १५ हजार टनसम्म कागज उत्पादन गर्दै आएको थियो।