काठमाडौं। पुँजी बजारमा गिरावट आउने क्रम बिहीबार पनि जारी रहेको छ। नेप्से सूचक २६.४८ अंकले घटेर १९६९.०१ बिन्दुमा आएको छ। १ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सूचकले दबाबको सामना गरिरहँदा खरिदबिक्री रकम (टर्नओभर) पनि थप ड्राइ हुँदै गएको छ।
बजार निरन्तर घट्दा भाउ सस्तो भइसकेको छ। सस्तो मूल्यमा अत्यावश्यक परेका बाहेक अरूले सेयर बिक्री नगरेकाले कारोबार रकम घट्दै गएकाे कतिपयको भनाइ रहेको छ।
निरन्तर घटेको बजारमा कारोबार रकम सुस्त हुनुले सस्तो मूल्यमा बिक्री गर्न तयार नहुनेको समूह बढ्दै गएको भनेर अर्थ्याउनेहरु धेरै रहेका छन्। त्यसो त यसअघिको वृद्धिमा करिब २२७८ बिन्दु आसपाससम्म पुगेको नेप्से छोटो अवधिमै फेरि १९ सयको लाइनमा आइसकेको छ। यसबीचमा पनि लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाइसकेका छन्।
अस्थिर राजनीतिको हल्लाकै कारण अहिले बजार घटेको छ। बजार २२७८ पुग्दा र अहिलेको बीचमा अर्थतन्त्रका परिदृश्यहरुमा खासै ठूलो परिवर्तन भएको छैन। यसबीचमा केबल राजनीतिक उतारचढावमात्र भएको छ। तर राजनीतिको प्रभाव सेयर बजारमा अल्पकालीनमात्र हुने गर्छ। यतिबेला राजनीतिबाट हुने गिरावट सकिएको अब फन्डामेन्टल पक्षहरुकै आधारमा बजारले आफ्नो रियाक्सन गर्ने अर्काथरि विश्लेषकहरुको भनाइ रहेको छ।
यसअघि नाफा बुक गरेकाहरु कोहीले विस्तारै गरेर मात्र सेयर किन्नु अनि कतिपय अझै पनि ‘पर्ख र हेर’ कै अवस्थामा बस्दा पनि बजार सुस्त हुन गएको हो। यसबीचमा सत्ताको प्रमुख घटक एमालेले सरकार छाडेको छ। यससँगै विशेषगरी अब अर्थमन्त्री को हुने भन्ने पनि टुंगो लागेको छैन।
समग्र अर्थतन्त्रसहित सेयर बजारसँग अर्थमन्त्रीको एक हिसाबले प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यही भएर पनि कतिपय लगानीकर्ताले यस पक्षलाई अवगत गरी अझै पनि बजारमा ‘पर्ख र हेर’ कै रणनीतिमा लागेको अनुमान गरिएको छ ।
यसको सीधा प्रभाव सेयर बजारमा भने देखिएको छ। तथापि, भाउ निकै सस्तो भएकाले अब विस्तारै पर्ख र हेर को रणनीति छाडेर खरिद प्रक्रियामा लगानीकर्ताहरु सरिक हुने कतिपयको विश्लेषण रहेको छ। केहीले भने आगामी राष्ट्रपति निर्वाचन र अर्थमन्त्री नियुक्ति नहुँदासम्म एग्रेसिभ बाइङ नहुन सक्ने पनि अनुमान लगाएका छन् । यद्यपि, बजार र लगानीकर्ताको मनोविज्ञान ठ्याक्कै नाप्न भने कठिन हुन्छ ।
तरलता अवस्था सहज हुँदै जाँदा पनि बैंकहरले फागुनमा ब्याजदर घटाउन कन्जुस्याईं गरेकाले पनि सेयर बजारमा केही प्रभाव परेको अनुमान गरिएको छ। तथापि, यी पक्षहरूमा विस्तारै सुधार हुँदै जाने अनुमान गर्न सकिन्छ। सेयर बजारमा उतारचढावहरु आइरहन्छन्। घटबढ बजारको सामान्य नियम हो। निरन्तर घट्दा बजारमा सेयर भाउ निकै सस्तो भइसकेको अवस्था छ।
यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध र रणनीतिक हिसाबले अघि बढ्न सक्नुपर्छ। सकेसम्म अलि लामो समयका लागि राम्रो वित्तीय अवस्था भएका, लाभांश क्षमता पनि सोही अनुसार रहेका कम्पनीहरुमा लगानी गर्न जानकारहरुले सुझाव दिने गरेका छन्। लगानीकर्ताले घटेको बजार माथि जान्छ भनेर सकारात्मक मनोविज्ञान विकास गर्न पनि उत्तिकै आवश्यक हुन्छ।
यस दिन २५६ कम्पनीको ३६ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ। ८ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक रहेका छन्।