काठमाडौं। प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फन्डको यही फागुन १८ गतेदेखि निष्कासन तथा बिक्री खुल्ने भएको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड एकाइ जारी गर्न लागेको हो।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड छ। यो योजना एक बन्दमुखी योजना हो। यस योजनाले एकाइ बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात् यो एक इक्विटिी ओरिएन्डेड योजना हो।
निष्काशित कुल ८ करोड एकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड १२ लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख एकाइ गरी कुल १ करोड २० लाख एकाइ सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख एकाइका लागि सर्वसाधरणले फागुन १८ गतेबाट आवेदन दिन सक्नेछन्।
फन्डको एकाइमा इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै एकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म एकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ।
प्रभु स्मार्ट फन्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामूहिक लगानी योजना हो। प्रभु स्मार्ट फन्डको अवधि १० वर्षको रहेको छ। फन्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तीय औजार अर्थात् फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना छ।
फन्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ। यसका लागि बजारमा हुने उतारचढावलाई अवसरका रूपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फन्डका युनिट होल्डरहरूलाई उच्चतम प्रतिफल दिने योजनामा रहेको जनाइएको छ। बजारमा रहेका उत्कृष्ट स्टकहरूलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्ने उसको दाबी छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ। यसका साथै सिडिएससीले प्रदान गरेको मेरो शेयरमा लगिन गरेर समेत आवेदन दिन सकिनेछ।
मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरूले मेरो सेयरमा गई माई आस्बा मेनुभित्र क्लिक गरेर प्रभु स्मार्ट फन्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरू राखेर आवेदन दिन सक्नेछन्।