काठमाडौं। निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको ‘ए३२०’ सिरिजको ‘न्यारोबडी’ जहाजमा चारजना ‘क्याबिन क्रु’ ले यात्रु सेवा दिन पुग्छ। हिमालयमा लामो वा छोटो दुरीका उडान जुनमा पनि चारमात्र क्याबिन क्रु प्रयोग गर्ने नियम छ।
हिमालयकाे लामो दुरीका उडानमा पनि काठमाडौंबाट जो चारजना क्याबिन क्रु गएका हुन्छन्, उताबाट फर्किंदा पनि तिनै चारजनाले नै यात्रु सेवा दिँदै आउँछन्।तर, सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि) को भने भिन्नै ‘राजसी ठाँट’ छ।
नेवानिले उडाइरहेको हिमालयको जस्तो ए३२० सिरिजको न्यारोबडी जहाजमा यताबाट जाँदा एक उडानमा ६ जना क्याबिन क्रु प्रयोग हुने गरेको छ। अनि, फर्किंदा भने बेग्लै ६ जना यात्रु सेवामा हुन्छन्।
यसको अर्थ एक उडानमा १२ जना क्याबिन क्रु जाने गरेका छन्। ती क्याबिन क्रुलाई आराम गर्न अनिवार्य ‘बिजनेस क्लास’ सिट व्यवस्था गरिएको छ।
यसरी एउटा उडानमा १२ जना क्याबिन क्रु प्रयोग हुँदा नेवानिको खर्चमात्र बढ्ने गरेको छ। यताबाट जाँदा ६ जान यात्रु सेवाम खटिए पनि बाँकी ६ जना भने बिजनेस क्लास सिटमा आराम गरेर जान्छन्। र, फर्किंदा उनीहरूको यात्रु सेवाको पालो पर्छ।
यति मात्र होइन, नेवानि र हिमालयले उडान गर्दै आएको मलेसियाको क्वालालम्पुर जाँदासमेत क्याबिन क्रु संख्या फरक छ।
क्वालालम्पुर सेक्टर जाँदा नेवानिमा एकपटकमा १६ जना क्याबिन क्रु जान्छन् भने हिमालयमा चारजनामात्र सहभागी हुने गर्छन्।
नेवानिका क्याबिन क्रुलाई विदेशको गन्तव्यमा बास बस्न पाँचतारे होटलको व्यवस्था हुन्छ। होटलको बसाइसँगै छुट्टै भत्तासमेत व्यवस्था हुन्छ।
तर, त्यही गन्तव्यमा उडान गर्ने हिमालयमा भने जम्मा चार क्याबिन क्रुले यात्रु सेवा दिँदै आएका छन्। कुनै कारण उडान ‘डिले’ भएमात्र उनीहरूलाई बास बस्न होटलको व्यवस्था गरिएको हुन्छ।
हिमालय एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको कार्यविधिअनुसार नै एक उडानमा चार क्याबिन क्रु प्रयोग गरिएको हो।
लामो दुरीमा आवश्यकताअनुसार बढीमा पाँच जनासम्म क्याबिन क्रु प्रयोग गर्ने गरिए पनि अधिकांंश गन्तव्यमा चारजनाकै भरमा यात्रु सेवा दिने गरिएको उनले बताए।
हिमालयका ए३२० जहाजमा १ सय ८० वटा ‘इकोनोमी क्लास’ सिट छन्। ऊसँग यस्ता तीनथान जहाज सञ्चालनमा छन्। त्यस्तै १ सय ४४ इकोनोमी क्लास सिटसहित एकथान ए३१९ जहाज छ।
यता, नेवानिसँग २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ सिरिजका दुईथान ‘वाइडबडी’ र १ सय ५८ सिट क्षमतायुक्त दुईथान ए३२० न्यारोबडी जहाज सञ्चालनमा छन्।
न्यारोबडी जहाजमा आठ बिजनेस क्लास सिट छन्। यसमा क्याप्टेनसहित १२ जना उड्छन। तीमध्ये यताबाट जाँदा ६ जना आराम गरेर जान्छन्। आठमध्ये ६ सिट क्रु मेम्बरलाई दिएपछि दुईवटा मात्र बिजनेस क्लास सिट नेवानिले बेच्न पाउँछ।
नेवानिका प्रवक्ता अर्चना खड्काले अप्रेसन विभागले बनाएको नियमअनुसार नै क्याबिन क्रु उडिरहेको जानकारी दिइन्।