काठमाडौं। जलविद्युतमा लगानी गर्न नेपाल आएको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले भारतमा सबैभन्दा ठूलो जलाशय आयोजना बनाउन लागेको छ।
एनएचपिसीले भारत अरुणाञ्चल प्रदेशमा २ हजार ८ सय ८० मेगावाटको दिवाङ बहुउद्देश्यीय आयोजना बनाउन लागेको हो।
उक्त आयोजना बनाउन भारत केन्द्र सरकारले पूर्वलगानी गतिविधि सञ्चालन गर्न १६ अर्ब भारु लगानी स्वीकृत गरेको छ। केन्द्रीय मन्त्रिपरिषदको आर्थिक मामिला समितिले उक्त रकम स्वीकृत गरेको हो।
जलाशय आयोजना बनाउन ३ खर्ब १८ अर्ब ७६ करोड भारु लाग्ने अनुमान छ। परियोजना सञ्चालनमा आएपछि अरुणाञ्चल राज्य सरकारले १२ प्रतिशत अर्थात १ अर्ब ३४ करोड ८० लाख युनिट बिजुली निःशुल्क पाउने छ।
एनएचपिसीले नेपालको सुदूरपश्चिममा रहेको १ हजार २ सय मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको सेती नदी–६ आयोजना बनाउन लगानी बोर्डसँग समझदारी (एमओयु) गरेको छ।
पश्चिम सेतीको सम्भाव्यता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लगानी बोर्डले सर्वेक्षण अनुमतिपत्र (सर्भे लाइन्सेन्स) दिइसकेको छ।
यस्तै केही दिनअघि सेती नदी–६ को सम्भाव्यता अध्ययनका लागि प्रस्ताव पेस गरेको छ। बोर्डले केही दिनभित्रै एनएचपिसीलाई सर्वेक्षण लाइसेन्स दिने छ।
दुई आयोजनाको जडित क्षमता १ हजार २ सय मेगावाट छ। ती आयोजना बनाउन १ खर्ब ८० अर्ब भारु लाग्ने प्रारम्भिक अनुमान छ।
एनएचपिसीले ४ सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्धजलाशय आयोजना बनाउन सरकारसँग अनुमति मागेको छ।
एनएचपिसीले सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) सँगको साझेदारीमा फुकोट कर्णाली अर्धजलाशय आयोजना बनाउन लागेको हो।
नेपालको भियुसिएल र भारतको एनएचपिसी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्। संयुक्तरूपमा आयोजना विकास गर्ने विषयमा भियुसिएल र एनएचपिसीबीच एमओयु हुन लागेको छ।
जसमा ५१ प्रतिशत एनएचपिसी र ४९ प्रतिशत भियुसिएलको स्वामित्व हुने गरी लगानी संरचना तयार पार्न लागिएको हो।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले छलफल चरणमा रहेको बताएका छन्। आयोजना बनाउने विषयमा केही दिनभित्रै निष्कर्षमा पुग्ने उनले जानकारी दिएका छन्। एनएचपीसी भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी हो।
उसले जलविद्युत र सौर्य ऊर्जा गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ।
यस्तै एनएचपीसीका ७ हजार ५ सय ३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन अवस्थामा छन्। निर्माणाधीन आयोजनासमेत जोड्दा उसको ३५ आयोजना पुग्ने छ। केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६ सय १० मेगावाट पुग्ने छ।