काठमाडौं। ५५ वर्ष लामो इतिहास बोकेको पाँचतारे होटल अन्नपूर्ण अहिले पार्किङमा परिणत भएको छ। दरबारमार्गको प्राइम लोकेसनमा रहेको अन्नपूर्ण होटलको सेवा पूर्ण रूपमा बन्द भएपछि व्यवस्थापनले पार्किङका लागि प्रयोगमा ल्याएको हो।
दुई वर्षभन्दा बढी फैलिएको कोभिड महामारीका कारण पर्यटकको आगमन बन्द भएसँगै व्यवस्थापनले अन्नपूर्ण होटल बन्द गर्ने निर्णय गरेका थियो। २०७७ मंसिरबाट पूर्णरूपमा बन्द गरेको घोषणा गरेको होटलले क्यासिनो भने सञ्चालन गरिरहेको छ।
काठमाडौं महानगरपालिकाले गत पुसदेखि दरबारमार्ग क्षेत्रको पार्किङ हटाएपछि अन्नपूर्ण होटलमा चाप बढेको हो। यसअघि दरबारमार्गको एक साइटमा महानगरले नै पार्किङ लगाएर पैसा उठाउने गरेको थियो।
तर,पछिल्लो समय महानगरले सबै क्षेत्रको पार्किङ हटाउने क्रममा दरबारमार्गको समेत हटाएपछि त्यसको विकल्पमा त्यहाँ आउनेहरुले अन्नपूर्ण होटललाई प्रयोग गर्दै आएका छन्।
त्यहाँ आउने सबैलाई भने अन्नपूर्ण होटलमा पार्किङको सुविधा दिएको छ भन्ने जानकारी भने छैन। अहिले अन्नपूर्ण होटलमा दैनिक सयौं गाडी र मोटरसाइक पार्किङ भइरहेको छ।
अन्नपूर्णमा पार्किङ गराएबापत गाडीलाई प्रतिघण्टा १ सय र मोटरसाइकललाई ३० रुपैयाँ शुल्क राखेको छ।
४० रोपनी क्षेत्रफलमा फैलिएको होटल अन्नपूर्णमा ३ सयभन्दा बढी कर्मचारीहरु प्रत्यक्ष रूपमा कार्यरत थिए।
अहिले ती सबै कर्मचारीहरुलाई बिदा गरिसकेको छ। अहिले केही सुरक्षा गार्डमार्फत पार्किङको व्यवस्थापन गर्दै आएको छ।
होटललाई पूर्णरूपमा भत्काएर नयाँ स्वरूपमा ल्याउने गरी अन्नपूर्णको व्यवस्थापन लागेको छ। होटलका सञ्चालक सिर्जना राणाले नयाँ स्वरूपमा होटल सञ्चालन गर्ने भने पनि कहिलेसम्म र कस्तो खालको बन्ने भन्ने योजना भने सार्वजनिक गरेका छैनन्।
अहिले अध्ययनकै क्रममा रहेको र केही समय भित्रै नयाँ परियोजनालाई सार्वजनिक गर्ने होटलका सञ्चालक राणाले बताएकी छिन्।
अहिलेका व्यवस्थापनले त्यहाँ मल सहितको पाँचतारे होटल बनाउने तयारीमा लागेका छ। यद्यपि यस विषयमा सञ्चालक सिर्जनाले खुलाउन चाहिनन्। त्यहाँ रहेको कफीसप भने सञ्चालनको तयारीमा छ।