काठमाडाैं। सेयर बजारको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से सूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा आएको छ । करिब १ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आदर्श लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक झर्दै गर्दा पुनः २ हजारको मनोवैज्ञानिक विन्दुभन्दा तल अर्थात् १९ सयको लाइनमा आएको छ । पछिल्ला दिनहरुमा बजार एकोहोरो हिसाबले घटिरहेको छ । सूचकका साथमा खरिदबिक्री रकमले पनि दबाबको सामना गरिरहेको छ ।
यसअघि छोटो समयमै राम्रो वृद्धि भएको बजारमा पुनः ह्रास आउँदा आम लगानीकर्ता अन्योलमा परेका छन् । यसअघि राजनीतिक अस्थिरताले पनि सेयर बजारलाई केही घटाउन मद्दत गरेको थियो । तर अब विस्तारै राजनीतिको प्रभाव सकिंदै गएको विश्लेषकहरुले बताएका थिए । अब मुलुकको अर्थतन्त्र र आधारभूत पक्षहरुले बजारलाई डोर्याउने उनीहरुको बुझाई रहँदै आएको छ । तथापि, अझै पनि बजारको करेक्सन चक्र पूरा नहुँदा नेप्सेले दबाबकै सामना गरिरहेको देखिन्छ ।
त्यसो त सेयर बजारको प्रवृत्तिका बारेमा कसैले पनि ठ्याक्कै मिलाउन सक्दैन । विभिन्न तथ्य र विगतका अनुभवहरुको आधारमा अनुमान लगाउनेमात्र हो । कुनै बेला त्यो अनुमान मिल्छ भने कतिपय अवस्थामा मिल्दैन पनि । यसर्थ, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध ढंगबाट लगानी गर्न जानकारहरुले सुझाव दिने गरेका हुन् ।
यतिबेला बजारले गति लिन नसक्नुमा केही प्रमुख कारणहरु देखिएका छन् । पहिलो, यसअघि बढेको बजारको अझै पनि करेक्सन चक्र पूरा नहुनु नै हो । प्रत्येक पटकको स्वीङपछि बजारले पुनः करेक्सन मोड लिन्छ, सोही करेक्सन साइकल अझै पूरा नहुँदा अझै बजार माथि जान नसकेको अनुमान गरिएको छ ।
यसैगरी, दोस्रो कारणमा राजनीति र सरकारलाई पनि लिइएको छ । सत्ताको प्रमुख घटक एमाले बाहिरिएको छ । अब सम्भवतः नेपाली काँग्रेस प्रमु्ख सत्ता साझेदार दल बन्नेछ । तर अबको अर्थमन्त्री को हुने भन्ने निश्चित भइसकेको छैन । सोही कारण बजारले अर्थमन्त्री कुरेको भन्नेहरु पनि छन् । जे होस् सरकार गठन र अर्थमन्त्रीलाई पनि बजारले कुनै न कुनै तबरबाट हेरिरहेकै अनुमान गर्न सकिन्छ ।
यसैगरी, बैंकहरुले फागुनमा ब्याजदर घटाएनन् । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत पुँजी बजार सुधार हुने गरी खास नीतिहरु पनि ल्याएन, यसले पनि बजारमा आम लगानीकर्ता खासै उत्साहित हुन सकेनन् । यस्तै, पछिल्लो समय तरलता अवस्था स्थिर जस्तो छ । अन्तर बैंक ब्याजदर पुनः माथितिर लागेको छ । यसको असर पनि केही हदसम्म परेको अनुमान गर्न सकिन्छ ।
यी सबै घटनाक्रमहरुका कारण यतिबेला आम लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा बसेका छन् । उनीहरुले सेयर किनिहाल्ने रणनीति नबनाउँदा बजार प्रभावित भएको हो । लगानीकर्ताको मनोबल उकास्ने किसिमका खबर पनि आएका छैनन्, यसले पनि बजारलाई प्रभावित बनाएको हो । तथापि, बजारका लागि सकारात्मक कुरा पनि धेरै छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदै गएको छ । रेमिटेन्स बढेको छ । तरलतामा क्रमशः सुधार आइरहँदा ब्याजदर घट्नेक्रम भने सुरु भइसकेको अवस्था छ ।
यसर्थ, आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन आवश्यक छ । घटेको बजार पुनः माथि जान्छ भन्ने दृढ आत्मविश्वास हुन जरुरी देखिन्छ । यसो हुन सकेमा बजारबाट अवश्य पनि लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यस दिन २५७ कम्पनीको ३७ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।
८ करोड ७२ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरी परेका छन् ।