काठमाडौं। पोखरामा बायोमेडिकल, सूचना प्रविधि अनुसन्धान तथा इनोभेसन प्रयोगशाला सञ्चालनमा आउने भएको छ। इलेक्ट्रोनिक र इनोभेसन क्षेत्रमा काम गर्न महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले सुविधायुक्त इनोभेसन ल्याब सञ्चालनमा ल्याउन लागेको हो।
पोखरालाई स्वदेशी तथा विदेशी आइसिटीसम्बन्धी सूचना प्रविधिको केन्द्र बनाउने, रोजगारी सिर्जना गर्ने र बाहिरी बिजनेस ल्याउने उद्देश्यका साथ आविष्कार केन्द्रले यो ल्याब सञ्चालनमा ल्याउने तयारी गरेको हो। यसलाई दीर्घकालीन योजनाको रुपमा अगाडि बढाइएको आविष्कार केन्द्रका अध्यक्ष पुनले जानकारी दिए।
‘यस प्रयोगशालाले इलेक्ट्रोनिक क्षेत्रमा रिसर्च वा इनोभेसन गर्न चाहनेका लागि ल्याबको सुविधा प्रदान गर्नेछ,’ अध्यक्ष पुनले क्यापिटल नेपालसँग भने, ‘यसका साथै पोखरा एकेडेमी एन्ड हेल्थ साइन्ससँग मिलेर गण्डकी प्रदेशका अस्पतालहरूमा इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टमको विकास र सञ्चालन गर्ने, गण्डकी प्रदेशको सरकारी अस्पतालमा बायोमेडिकल सपोर्ट गर्ने काम पनि यसबाट हुनेछ।’
पुनले सफ्टवेयर उद्योगमा लाग्न चाहनेलाई लक्षित गरेर प्रयोगशाला सञ्चालनको तयारी गरेको बताउँदै यस क्षेत्रमा लाग्न चाहने र इच्छाएको व्यक्तिलाई मनिटरिङ गर्ने काम हुने बताए। जसबाट यसक्षेत्रका दक्ष जनशक्ति उत्पादन हुने र प्रविधि तथा इनोभेसनमा देशले फड्को मार्ने उनको विश्वास छ।
यो प्रयोगशाला राष्ट्रिय आविष्कार केन्द्रको लगानीमा नै सञ्चालन गर्ने तयारी छ। ‘प्रयोगशाला सञ्चालनका लागि सरकारले सहयोग गरेमा हामीलाई थप सहज हुन्छ,’ पुनले भने, ‘तर सरकारले दिने सम्भावना एकदम कम छ। सरकारले दियो भने राम्रो, दिएन भने हामीले नै यसलाई अघि बढाउँछौं।’
पुनले प्रयोगशालाका लागि पहिलो चरणमा दुई करोड रुपैयाँ लगानीको तयारी गरेका छन्। हाल सोहीअनुसार सञ्चालनका लागि आवश्यक तयारीको कामहरू भइरहेका छन्। एकैपटक सबै कुराहरू राखेर सञ्चालनमा ल्याउन कठिन भएकाले चरणबद्ध रूपमा सुविधाहरू थप्दै जाने योजना रहेको पुनले जानकारी दिए। यो प्रयोगशालामा पहिलो चरणमा सफ्टवेयरको काम हुनेछ भने त्यसपछि अन्य कामहरू थप गर्दै लगिने छ।
‘चरणवद्धरुपमा अन्य कुराहरू थप गर्दै जाने हुँदा सफ्टवेयरको कामबाट प्रयोगशाला सञ्चालन तत्काल हुन्छ,’ पुनले भने ‘एकैपटक सबै काम गर्न नसकिने हुँदा चरणबद्ध रूपमा यसको काम अगाडि बढाउने र नयाँ थप्दै जाने हाम्रो योजना छ।’ यो सञ्चालनमा आएपछि यस्ता विषयप्रति चासो राख्ने पोखरा भ्यालीका धेरै मानिस लाभान्वित हुने उनको भनाइ छ।
यसो त यसमा सिक्ने चाहनेका लागि भनेर प्रयोगशालामा कलेजमा जस्तो पढाई हुने छैन। तर, इच्छा भएका र गर्न चाहनेका लागि पूर्ण सहयोगको साथमा गाइड गर्ने काम प्रयोगशालाबाट उपलब्ध हुने अध्यक्ष पुन बताउँछन्। यस प्रयोगशालामा आविष्कार केन्द्रका व्यक्तिद्वारा नै गाइड गर्ने र अन्य सञ्चालनका सबै काम गर्ने तयारी भइरहेको छ।
हाल यो प्रयोगशाला सञ्चालनका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले राष्ट्रिय आविष्कार केन्द्रलाई एउटा भवन उपलब्ध गराइसकेको छ। यो भवनलाई मर्मत गरी तत्काल सञ्चालनमा ल्याउने तयारी आविष्कार केन्द्रको छ।
नेपालमा भारतको बैंगलोर र हैदराबाद जस्तै सूचना प्रविधिको केन्द्र बनाउने सपनाअनुरूप यसको थालनी गरेको पुन बताउँछन्। गण्डकी प्रदेश सरकारको केही अनुदान र सहयोग भएकाले पोखरामा बनाउन लागिएको बताउँदै अरु प्रदेशले पनि सहयोग गरे लाखौंको रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।