काठमाडौं। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समयमा ऋण नतिरेका कारण बैंकहरूको अर्बौं रुपैयाँ लगानी जोखिममा पर्ने खतरा बढेको छ।
लामो समयदेखि बैंकको ब्याज नतिरी नयाँ-नयाँ फन्डा रचेका प्रसाईं एकाएक बैंकविरुद्ध उत्रिएपछि अर्बौं रुपैयाँ लगानी जोखिमतर्फ धकेलिएको हो। प्रसाईंले बिएन्डसी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र होटल बनाउँदा ७ अर्ब रुपैयाँमाथि ऋण लिएका छन्।
प्रसाईंले कतिपय ऋण सहवित्तीयकरणमार्फत लिएका छन् भने कतिपय ऋण बैंकबाट पनि लिएका छन्। झापाबाट बैंकको ब्याज नतिर्ने अभियान चलाएपछि ऋण लगानी गर्ने बैंकहरू पनि झस्किएका छन्। यस्तै नेपाल राष्ट्र बैंक पनि थप सतर्क बनेको छ।
बैंकबाट ऋण लिने ब्याज तिर्ने बेलामा अनेकन बहाना बनाउन थालेको र त्यसले वित्तीय अराजकता बढ्ने केन्द्रीय बैंकको ठम्याई छ। बैंक स्रोतका अनुसार प्रसाईंले विभिन्न शीर्षकमा बैंकबाट ऋण लिएका छन्। कतिपय ऋणको ब्याज अहिलेसम्म नतिरी ब्याजलाई पुँजीकरण गर्दै आइरहेको स्रोतको दाबी छ।
अहिले बैंकले ब्याज पुँजीकरण गर्न नमानेपछि प्रसाईं बैंकको विरोधमा उत्रिएको बैंकहरू बताउँछन्। असारसम्म बैंकहरूले ब्याज पुँजीकरण गरेर प्रसाईंका नाममा ऋण बढाइरहेका थिए।
तर, असोजदेखि ब्याज पुँजीकरण नगर्ने र प्रसाईंलाई ब्याज तिर्न निरन्तर दबाब दिएपछि सार्वजनिक रूपमा बैंकको विरोधमा उत्रिएको एक बैंकरले बताए।
बिएन्डसी मेडिकल कलेज निर्माणका लागि तत्कालीन जनता बैंक (हालको ग्लोबल आइएमई) को अगुवाईमा तत्कालीन एनबी (हालको नबिल) तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक (हालको कुमारी), राष्ट्रिय वाणिज्य बैंक, गुडविल फाइनान्सले ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लगानी गरेका थिए। सोही ऋणको ब्याज नअसुल्न जिल्ला अदालत झापाले अन्तरकालीन आदेश दिएपछि बैंकहरू थप संशकित बनेका हुन्।
बिएन्डसी मेडिकल कलेजमा पाँच बैंकले ऋण लगानी गरेका छन् भने प्रभु बैंकले होटल र क्यान्सर अस्पताल बनाउन १ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ।
बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलको कारोबार ४७ प्रतिशत बढेको छ। एक वर्षमा बिएन्डसी मेडिकल कलेजले १ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। सन् २०२१ मा बिएन्डसीले ८१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।
एक वर्षको अवधिमा व्यापार ३८ करोड रुपैयाँ बढेको बिएन्डसीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। प्रसाईंले मेडिकल कलेजले २ अर्ब ७० करोड रुपैयाँ ऋणका रेटिङ गराएका छन्।
असारदेखि बैंकहरूले प्रसाईंलाई ब्याज बुझाउन दबाब दिएपछि उनी बैंकविरुद्ध लागेका हुन्। बैंकरलाई मोसो दल्नुपर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिने, ब्याज मिनाह गर्नुपर्छ भन्ने सार्वजनिक मञ्चबाट सम्बोधन गर्ने, ब्याज माग्न आउने बैंकरलाई मोसो र अलकत्रा दल्न जत्था बनाएको अभिव्यक्तिपछि बैंक र केन्द्रीय बैंक थप गम्भीर बनेको हो ।
‘बैंकको करारलाई मानेर ऋण लिने र ब्याज तिर्ने बेला अनेक बहाना बनाउन मिल्छ’, एक बैंकरले भने, ‘ब्याज घटबढ बजारमा नियम हो। बजारको नियमलाई मान्दिन भनेर कसैले भन्न थाल्यो भने वित्तीय क्षेत्र तहसनहस हुँदैन ?’