काठमाडौं। नेपालको विज्ञापन बजारमा अढाई दशकदेखि रजगज गर्दै आएको बहुराष्ट्रिय विज्ञापन एजेन्सी ‘थम्पसन’ बाहिरिएको छ।
कोभिड महामारी, रुस र युक्रेनबीचको युद्धले अर्थतन्त्र खुम्चिएका कारण विज्ञापन बजार सुस्ताएपछि थम्पसन नेपालबाट बाहिरिएको हो।
मल्टिनेसनल ब्रान्ड युनिलिभर, बर्जर पेन्ट्स, एसियन पेन्ट्स, हिरो मोटरसाइकल, डाबरलगायत कम्पनीका विज्ञापन हेर्दै आएको थम्पसनले पछिल्लो समय नेपालबाट राम्रो आम्दानी गर्न नसकेपछि बाहिरिने निर्णयमा पुगेको हो।
केहि समयअघि मात्र श्रीलंकाबाट थम्पसन बाहिरएको थियो। श्रीलंका आर्थिक संकटमा परेपछि त्यहाँको पनि विज्ञापन बजार सुस्ताएपछि थम्पसन त्यहाँबाट बाहिरिएको हो।
कोभिडपछि विश्वको अर्थतन्त्र नै धराशयी बनेपछि विज्ञापन बजारसमेत खुम्चिएको छ। त्यसकै असर स्वरूप थम्पसनले नेपालमा रहेको कार्यालय बन्द गरेर बाहिरिने निर्णयमा पुगेको हो।
लामो समयदेखि थम्पसनमार्फत विज्ञापन गराउँदै आएका बहुराष्ट्रिय कम्पनीका एक उच्च अधिकारीले आफूहरू नेपालबाट बाहिरिएको अनौपचारिक जानकारी गराएको बताए।
‘औपचारिकरूपमा पत्र पठाएको छैन,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अनौपचारिकरूपमा बाहिरिएको जानकारी आएपछि हामी नयाँ एजेन्सीको खोजीमा लागेका छौं।’
थम्पसन बाहिरिने निर्णय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइरहे पनि त्यहाँ आबद्ध कर्मचारीलाई भने जानकारी दिइएको छैन।
‘हामीले पनि बाहिरी हल्लामात्र सुनेका हौं,’ थम्पसनका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘आधिकारीक जानकारी नआएकाले यसै हो भन्न सकिँदैन, हामी काम गरिरहेका छौं।‘
सन् १९९८ मा नेपाल आएको थम्पसन अमेरिकी कम्पनी हो। नेपालमा कारोबार गरिरहेको थम्पसन भारतमा रहेको क्षेत्रीय कार्यालयमातहत रहँदै आएको थियो।
विज्ञापन व्यवसायका ‘पायोनियर’ जेम्स वाल्टर थम्पसनले यो कम्पनी सन् १८९६ मा स्थापना गरेका थिए। थम्पसन १९८७ मा बहुराष्ट्रिय कम्पनी डब्लुपिपी पिएलसीले थम्पसन कम्पनीलाई प्राप्ति गरेको थियो। २०१८ मा डब्लुपिपीले जे वाल्टरलाई वन्डरम्यान थम्पसन स्थापनासँगै मर्ज गरेको थियो।
विश्वका ९० देशमा थम्पसनका २ सय कार्यालय छन्। तीमध्ये नेपाल पनि एक हो। थम्पसनमा विश्वभरि २० हजार कर्मचारी कार्यरत छन्। नेपालमा ३० कर्मचारी छन्।