काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी चार वर्षमा १ खर्ब रुपैयाँको बिजुली भारतमा निर्यात हुने बताएका छन्। आगामी सन् २०२६ सम्म सुक्खायाममा पनि बिजुलीमा आत्मनिर्भर भई निर्यातका अवस्थामा पुग्ने उनले बताए ।
अहिले बर्खामा बिजुली बचत भए पनि सुक्खायाममा भारतबाट आयात भइरहेको छ। हामी सन् २०२६–२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौं। त्यो बेला नेपालले वर्षायाममा १ खर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गर्ने हाम्रो अनुमान छ’ घिसिङले भने ।
काठमाडौं उपत्यकालगायत मुख्य सहरी क्षेत्रको वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी आवश्यक रहेको उनको भनाइ छ। अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशाला उनले योजना सार्वजनिक गरेका हुन्।
सन् २०५० सम्ममा काठमाडौं उपत्यकामा मात्र तीन हजार दुई सय मेगावाट बराबर बिजुली खपत हुने अनुमान गरिएकाले त्यसका लागि संरचना तयार पार्न आवश्यक रहेको उनको भनाइ छ। अहिले काठमाडौं उपत्यकाको वितरण प्रणालीले करिब पाँच सय मेगावाट बिजुली मात्रै आपूर्ति गर्न सक्छ ।
तर, सन् २०५० सम्ममा उपत्यकाको विद्युत माग तीन हजार दुई सय मेगावाटसम्म पुग्ने अनुमान प्राधिकरणको छ । त्यसका लागि संरचना तयार पार्ने काम प्राधिकरणले सुरु गरिसकेको छ’, उनले भने। काठमाडौं उपत्यकाको वरिपरि दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने, उपत्यकाभित्रको सबै एक सय ३२ केभी प्रसारण लाइनलाई भूमिगत गर्ने र उपत्यकाभित्र थप २० वटा सबस्टेसन निर्माण गर्ने गरी प्राधिकरणले काम गरिरहेको उनले बताए ।
कार्यशालामा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत क्षेत्रमा उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेको बताए । त्यसका लागि विद्युत् प्राधिकरणले पुँजी लगानी योजना (क्यापिटल इन्भेस्टमेन्ट प्लान) बनाउन लागेको उनको भनाइ छ।र्
दीर्घकालीन योजनासहितको क्यापिटल इन्टेस्टमेन्ट प्लान तयार भइरहेको छ । यसले उत्पादन, प्रसारण, वितरणलगायतका क्षेत्रमा हामीलाई चाहिने लगानीको आवश्यकता कति हो भन्ने अध्ययन गरेको छ’ घिसिङले भने ।
उत्पादनतर्फ माथिल्लो अरुण, दूधकोसी, अरुण–४, तामाकोसी–५, चैनपुर सेती, मोदीखोलालगायत जलविद्युत आयोजना निर्माणका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए।
विद्युत प्रसारणतर्फ पूर्व–पश्चिम जोड्ने गरी चार सय केभी क्षमताका दुइटा आयोजना, भारतसँग जोड्ने तीनवटा अन्तरदेशीय प्रसारणलाइन र चीनसँग जोड्ने एउटा अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले पहल थालिसकेको उनले जानकारी दिए ।