काठमाडौं। इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या आए अबदेखि प्रयोगकर्ताले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको गुणस्तरमा मोबाइल तथा इन्टरनेट सेवा प्रदान नगरेमा सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेसँगै प्रयोगकर्ताले यस्तो सुविधा पाउने भएका हुन्।
प्राधिकरणाले हालैमात्र दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ पारित गर्दै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको हो। जसमा विनियमावलीको ११ नम्बर बुँदामा क्षतिपूर्तिको व्यवस्था गरिएको छ।
विनियमावलीमा तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधाबापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदाबी गरेमा सम्बन्धित सेवा प्रदायकले ग्राहकलाई दूरसञ्चार सेवा शुल्कबापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।
ग्राहकले मोबाइल डाटा/भ्वाइस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको बखत निज ग्राहकले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गरी माग गरेमा सेवा शुल्कबापतको उचित क्षतिपूर्ति सेवा प्रदायकले उपलब्ध गराउनुपर्ने छ।
‘फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको हकमा यस विनियमावलीमा तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधाबापत सम्बन्धित ग्राहकलाई क्षतिपूर्ति स्वरूप मनासिब महसुलमा दामासाहीले मिनाहा गर्ने वा सोहीबमोजिम सेवाको अवधि निःशुल्क थप गरी सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनु पर्नेछ’, भनी विनियमावलीमा उल्लेख छ।
तर, सेवा प्रदायकको काबु बाहिरको परिस्थितिमा यस उपविनियम (१) बमोजिमको प्रावधान लागू नहुने व्यवस्था छ। यो विनियमावली २०८० वैशाख १ गतेदेखि लागू हुने जनाइएको छ।