काठमाडौं। फागुन १५ गते सोमबार बिहान ८ः३० बजेको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। विभिन्न देशबाट आएका जहाज अवतरणभन्दा यताबाट उड्न ठिक परेका जहाज संख्या धेरै।
त्यही व्यस्त समयमा कतारको दोहाबाट आएको कतार एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायुसेवा निगम (नेवानि) र कुनै आन्तरिक गन्तव्यबाट आएको बुद्ध एयरको जहाजले त्रिभुवन विमानस्थल ‘एयर ट्राफिक कन्ट्रोल’ (एटिसी) टावरसँग अवतरण अनुमति मागे।
कतारको ‘बोइङ७८७’ सिरिजको ‘वाइडबडी’, नेवानिको ‘एयरबस३२०’ सिरिजको ‘न्यारोबडी’ र बुद्धको ७२ सिट क्षमताको ‘एटिआर७२-५००’ सिरिजका ती जहाजले सँगसँगै अवतरण अनुमति मागे पनि विमानस्थलमा उड्न ठिक परेका जहाजको ताँती भएका कारण टावरले ती तीनवटैलाई ‘होल्ड’ गर्न भन्यो।
टावरले कतार, नेवानि र बुद्धका जहाजलाई त्रिभुवन विमानस्थलबाट १७ माइल दक्षिणमा रहेको ‘गुराँस’ बिन्दुमा होल्ड गर्न भन्यो। गुराँस बिन्दु ललितपुर भट्टेडाँडामाथिको आकास वरिपरि जहाज होल्ड गर्न बनाइएको क्षेत्र हो। त्रिभुवन विमानस्थल अवतरण गर्न आएका जहाज कुनै कारण केही समय अवतरण गर्न नसक्ने अवस्था आयो भने त्यही गुराँस बिन्दुमा होल्ड गर्न पठाइन्छ।
त्रिभुवन विमानस्थल टावर स्रोतका अनुसार कतार एयरवेजको बि७८७ जहाज १३ हजार ५ सय फिट, नेवानिको ए३२० जहाज १२ हजार ५ सय फिट र बुद्धको एटिआर७२ जहाज ११ हजार ५ सय फिट उचाइमा होल्ड गरिरहे। तीनवटै जहाज एकअर्काबीच तलमाथिको उचाइ दुरी १/१ हजार फिटमात्र थियो।
‘तर, कतार एयरवेजको जहाज हाँकिरहेका क्याप्टेनले एक्कासि आफ्नो जहाज ७ सय फिट तल झारिदिए, जबकि उनको जहाजको १ हजार फिटमुनि नेवानिको जहाज थियो,’ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘कतारका क्याप्टेनले टावरसँग अनुमति नै नलिई जहाज तलतिर झारिदिए। एक्कासि माथिबाट आफूतिर जहाज झरेपछि नेवानिका क्याप्टेनले उडान सुरक्षाका लागि आफ्नो जहाज अझै तल झारे। उनीहरू अझै तल झर्न पनि सकेनन् किनकि मुनि बुद्धको जहाज थियो।’
नेवानिको उक्त जहाजलाई क्याप्टेन प्रशान्त राई र कोपाइलट लिबर्टी भण्डारीले उडाइरहेका थिए।
हालका अत्याधुनिक जहाजमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम’ (टिसिएएस) जडित हुन्छ, जसले उडिरहेको जहाजको नजिक तलमाथि वा दायाँबायाँ अर्को कुनै जहाज आयो भने सर्तक गराउँछ।
उडिरहेको जहाज १ हजार फिटभन्दा तल झरेमा यो टिसिएएस सिस्टमले पाइलट बस्ने ककपिटमा जानकारी दिन्छ। यसैका कारण ककपिटमा ‘ट्राफिक अलर्ट रिजोलुसन एडभाइजरी’ (टिएआरए) कराउँछ।
कतारको जहाज एक्कासि ७ सय फिट तल झरेपछि नेवानिको जहाजको ककपिटमा टिएआरए बज्यो। अर्को जहाज नजिक आएका कारण नेवानिको जहाजको ककपिटभित्र सुरुमा ‘ट्राफिक अलर्ट’ (टिए) बज्यो र क्याप्टेन राईले ‘रिजोलुसन एडभाइजरी’ (आरए) मानेर आफ्नो जहाज तल झारे। उनले सुरक्षाका लागि १२ हजार ५ सय फिटबाट ५ सय फिट तल जहाज झारेर १२ हजार फिटमा उडाउन थाले।
अकस्मात जहाजको नजिकै तलमाथि वा दायाँबायाँ अर्को जहाज देखापरे आरएले माथि (क्लाइम्ब), तल (डिसेन्ट) वा समान तह (लेभल मेन्टेन) गर्न भन्छ। अर्को जहाज छेउछाउ आएको ककपिटभित्र रहेको ‘राडार’ ले देखाउँछ।
‘टावरको निर्देशनअनुसारको उचाइमा होल्ड गरिरहेको जहाजलाई कतारका क्याप्टेनले एक्कासि ७ सय फिट तल किन झारे भन्ने अनुसन्धान हुन बाँकी छ,’ स्रोतले भन्यो।
स्रोतका अनुसार जब नेवानिका क्याप्टेन राईले सुरक्षाका लागि आफ्नो जहाज अझै तल झारे, तबमात्र टावरसँग सबै क्याप्टेनको कुराकानी भएको थियो। त्यसपछि टावरले तुरुन्तै कतारको जहाजलाई १३ हजार ५ सय फिटमै जान निर्देशन दियो र कतार पहिलाकै उचाइमा गयो।
‘काठमाडौंको आकासमा हुन लागिसकेको एउटा ठूलो हवाई दुर्घटना टरेको छ,’ स्रोतले भन्यो, ‘कतारका क्याप्टेनले उड्डयन सुरक्षामा खेलाँची गरेको प्रष्ट हुन्छ।’
त्यसबेला कतारको जहाजले करिब ३ सय, नेवानिको जहाजले १ सय ५० र बुद्धको जहाजले ७२ यात्रु बोकेका थिए।
सम्भावित ठूलो दुर्घटना टरेर सकुशल अवतरण गरेपछि नेवानिका क्याप्टेन राईले ‘म्यान्डेटरी अक्योरेन्स रिपोर्ट’ (एमओआर) भरेर आफ्नो उडान सुरक्षा शाखामा बुझाएका छन्।
त्यस्तै नेवानिले घटना हुँदा आफ्नो जहाजभित्र ककपिटमा पाइलटले टावरसँग र कतार एयरवेजका पाइलटबीच भएको कुराकानीको अडियो ‘ककपिट भ्वाइस रेकर्ड’ (सिभिआर) बाट ‘डाउनलोड’ गरेको छ।
‘अब नेवानिको उडान सुरक्षा शाखाले उक्त एमओआर र अडियो रेकर्ड उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा विभागमा बुझाउने छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘अब बाँकी अनुसन्धान तथा छानबिन प्राधिकरणले गर्ने छ।’