त्रिशूली। नुवाकोटको विदुर नगरपालिकाको गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रम एवं सामग्री खरिदवापतको रकम भुक्तानी दिन थालेको छ ।
गत वर्षको बाँकी रहेको १४ करोड रूपैयाँभन्दा बढी रकमको भुक्तानी चालू आर्थिक वर्षको बजेटबाट दिन थालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गत आवमा बजेटको स्रोत सुनिश्चित नभई सम्झौता गरेर गरिएका योजना तथा कार्यक्रमको उपभोक्ता समिति, सामान आपूर्तिकर्तासहित भुक्तानी पाउन बाँकी सरोकारवालाको खर्च दायित्वको भुक्तानी चालू आवको बजेटबाट कटौती गरेर दिन थालिएको हो।
'गत वर्षको भुक्तानी पाउनुपर्ने ठूलो रकमको दायित्व यो वर्षमा थपिएकाले १२औं नगरसभामार्फत रकमान्तर गरेर योजनाको कटौती तथा बजेटको आकार घटाई आर्थिक स्रोतको व्यवस्था मिलाएका छौं', उनले भने, 'अघिल्लो वर्ष काम लगाएर भुक्तानी हुन बाँकी सरोकारवाला सबैलाई क्रमशः अब भुक्तानी गर्न सुरु भएको छ।'
गत आवमा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अघिल्लो कार्यकालका नगरप्रमुख सञ्जु पण्डितले सम्झौता गरेर काम गर्न लगाएका तथा सामग्री खरिदवापत १४ करोड रूपैयाँभन्दा बढी दायित्व यो आवमा थप भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले जानकारी दिए ।
उनका अनुसार खर्चको स्रोत सुनिश्चितताले रोकिएका बजेटको भुक्तानी दिन नगरको दायित्वको रूपमा अहिले दिन थालिएको छ।
विदुरले चालु आवमा अनुमानित १ अर्ब २४ करोड ८३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेटमाथि हालै बसेको हिउँदे नगरसभाले ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर’ विनियोजन विधेयकलाई सर्वसम्मत पारित गरेसँगै तीन सय ३७ वटा योजनाको बजेटको दायरा परिवर्तन गरेर गत वर्षको दायित्वको भुक्तानी दिन थालिएको हो।
'गत आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको १४ करोड रूपैयाँ हाराहारी बजेटको सुनिश्चित गर्दा यो वर्ष धेरै योजना तथा कार्यक्रम काटिएका छन् भने नयाँ योजना समावेश गराउन सक्किएको छैन', प्रमुख प्रशासकीय अधिकृत खनालले भने, 'चालू आवमा ऋण भुक्तानी गरेर नगर ऋणमुक्त हुन चाहन्छ ।'
चालू आवमा विदुरको विकास बजेट ३० करोड रूपैयाँ हाराहारीमा रहेकाले करिब आधा बजेट अघिल्लो वर्षको भुक्तानीमा खर्च हुने देखिन्छ ।