काठमाडौं। कुनै पनि वायुसेवा कम्पनीको जहाजमा ‘बिजनेस क्लास’ सिट भन्नेबित्तिकै ‘लक्जरियस’ बढी सुविधायुक्त हुने गर्छ। विशेषगरी बढी पैसा खर्च गर्नसक्ने यात्रुले महँगो शुल्क तिरेर बिजनेस क्लासका सिटमा हवाई यात्रा गर्छन्।
सामान्य (इकोनोमी क्लास) सिटभन्दा बिजनेस क्लास सिट महँगो हुने भएकाले धेरैले यस्ता सिटका टिकट खरिद गर्न सक्दैनन्। सेवा सुविधाका हिसाबले पनि यस्ता सिट महँगो हुने गरेको हो।
जहाजमा सबैभन्दा महँगो सिटका रूपमा रहेको बिजनेस क्लासमा यात्रा गर्न रुचाउने धेरै हुन्छन् र व्यावसायिक हिसाबले पनि सम्बन्धित वायुेसेवा कम्पनी वा संस्थालाई राम्रो आम्दानी हुने गर्छ।
तर, सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि) सम्भवतः एकमात्र यस्तो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो जहाज आफ्ना ‘क्रु मेम्बर’ (चालकदल) लाई आराम गर्न दिन बिजनेस क्लास सिट छुट्ट्याइएको छ।
कुनै पनि वायुसेवा कम्पनीमा नभएको नियम नेवानिमै बनाइएको छ। लामो दुरीका उडानमा मात्र क्रु मेम्बरलाई आराम गर्न दिन बिजनेस क्लास सिट छुट्ट्याएर बाँकी सिट बेच्न पाइन्छ। लामो दुरीमा उड्दा भने क्रु मेम्बरलाई सिट नछुट्ट्याएसम्म अरूलाई बिजनेस क्लासको सिट बेच्न पाइँदैन।
तर, नेवानिले यस्तो नियम बनाएको छ कि बढी आम्दानी हुने बिजनेस क्लास सिटजति सबै क्रु मेम्बर बसेर दैनिक लाखौंको घाटा भइरहेको छ।
नेवानिसँग २ सय ७४ सिट क्षमताका दुईथान ‘वाइडबडी’ र १ सय ५८ सिट क्षमतायुक्त दुईथान ‘न्यारोबडी’ जहाज छन्। ‘ए३३०–२००’ सिरिजको वाइडबडी जहाजमा १८ वटा बिजनेस क्लास सिट छन्।
तर, एकपटकको उडानमा चार क्याप्टेनसहित २२ जना क्रु मेम्बर जान्छन्। तीमध्ये दुई क्याप्टेनसहित ११ क्रु मेम्बरले यताबाट जाँदा जहाज उडाउँछन् भने बाँकी ११ जना आराम गरेर जान्छन्। १८ सिटमध्ये ११ वटा क्रु मेम्बरलाई अनिवार्य छुट्ट्याउने नियम बनाइएको छ।
त्यस्तै ‘ए३२०–२००’ सिरिजको न्यारोबडी जहाजमा आटवटा बिजनेस क्लास सिट छन्। यसमा क्याप्टेनसहित १२ जना उड्छन्। तीमध्ये यताबाट जाँदा ६ जना आराम गरेर जान्छन्। आठमध्ये ६ सिट क्रु मेम्बरलाई दिएपछि दुईवटा मात्र बिजनेस क्लास सिट नेवानिले बेच्न पाउँछ।
नेवानिका अनुसार सामान्य अवस्थामा एउटा बिजनेस क्लास सिटको मूल्य कम्तीमा १ लाख ५० हजार रुपैयाँ पर्छ। दुईतर्फी गर्दा ३ लाखभन्दा बढी पर्छ। त्यसमा क्रु मेम्बरलाई खाना र खाजा पनि बिजनेस क्लासकै दिइन्छ। त्यतिमात्र होइन, उनीहरूलाई दैनिक भत्तासमेत छुट्टै दिने गरिएको छ।
क्रु मेम्बरलाई इकोनोमी क्लास सिट दिन खोजे पनि नमान्ने गरेको र ‘जबर्जस्ती’ बिजनेस क्लासमै बस्न पाउनुपर्ने अडान नछाडेपछि उनीहरूका लागि बिजनेस क्लास सिट छुट्ट्याइएको नेवानिका एक उच्च अधिकारीले लाचारी पोखे।
‘क्रु मेम्बरलाई अन्तर्राष्ट्रिय उडानमा छुट्टै खालको सुविधा नदिए उडानमै सहभागी नहुने अडान राखेपछि व्यवस्थापनले बिजनेस क्लासको सिट दिएको हो,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने।
उनका अनुसार क्रु मेम्बरलाई बिजनेस क्लासको सिट न्यूनतम १ लाख ५० हजारका दरले एक उडानमा एकतर्फी वाइडबडी जहाजमा १६ लाख ५० हजार र दुईतर्फी गर्दा ३३ लाख खर्च हुने गरेको छ।
यस्तै न्यारोबडीमा सोही मूल्यमा एकतर्फी उडानमा ९ लाख र दुईतर्फी गर्दा १८ लाख रुपैयाँ खर्च हुने गरेको छ। जुन रकम संस्थाको आम्दानीमा कटौती हुँदै आएको छ।
नेवानिका प्रवक्ता अर्चना खड्काले व्यवस्थापन तहबाटै निर्णय भएका कारण क्रु मेम्बरलाई आरामका लागि बिजनेस क्लास सिट दिने गरेको बताइन्। त्यस्तै क्रु मेम्बरका लागि आराम गर्न सम्बन्धित गन्तव्यमा सकेसम्म पाँचतारे होटलको व्यवस्था गरेको जानकारी दिइन्।
लामो दुरीमा यात्रा गर्दा क्रु मेम्बरलाई आराम गर्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको उनले बताइन्। होटलमा क्रु मेम्बर राख्दासमेत लाखौं रुपैयाँ खर्च हुने गरेको छ। कम्तीमा पाँचतारे होटलमा क्रु मेम्बर राख्ने गरिएको छ।
कतिपय गन्तव्यमा साताको एक वा दुई उडानमात्र हुने गरेको छ। यस्तो अवस्थामा ती क्रु मेम्बरलाई सात दिनसम्म होटलमै नेवानिको खर्चमा राख्नुपर्ने हुन्छ।