काठमाडौं। मुलुककै अग्रणी व्यवसायिक घरना मुरारका ग्रुपले सञ्चालन गरेको पशुपति आइरन एन्ड स्टिल प्राइभेट लिमिटेडको व्यापार ९१ प्रतिशत बढेको छ। सन् २०२२ मा उद्योगले ४ अर्ब २० करोड २० लाख रुपैयाँको आइरन एन्ड स्टिलको व्यापार गरेको छ।
२०२१ मा पशुपतिले २ अर्ब १९ करोड ९० लाख रुपैयाँको मात्र कारोबार गरको थियो। एक वर्षको अवधिमा पशुपतिको व्यापार २ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
यस्तै २०२१ मा उद्योगको सञ्चालन आम्दानी ५५ प्रतिशत बढेको छ। उद्योगले २०२० मा १ अर्ब ४१ करोड ६० लाख र २०१९ मा २ अर्ब ५२ करोड रुपैयाँको व्यापार गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरणले पशुपति आइरनको व्यापार बढ्दै गएको देखाउँछ।
उद्योगको ९९ प्रतिशत आम्दानी टिएमटी बिक्रीबाट रहेको छ। तर केही वर्षयता उद्योग क्षमताको आधा मात्र चलेको छ। उद्योगले पशुपति टिएमटीको ब्राण्डमा आइरन उत्पादन गरिरहेको छ। उद्योगले टिएमटी बार उत्पादन गर्न आवश्यक कच्चा वस्तु पिग आइरन र स्पन्ज आइरनको आयात भारतबाट गर्दै आएको छ।
यस्तै स्क्रयाप आइरन स्थानीय बजारबाट खरिद गर्दै आएको उद्योगले जनाएको छ। उद्योगले सन् २०२० मा आइरन बनाउन आवश्यक बिलेट उत्पादन गर्न आफ्नै मेल्टिङ प्लान्ट पनि सञ्चालनमा ल्याएको छ। उद्योगले टिएमटी बार उत्पादन क्षमता ६७ हजार ५०० टनबाट दोब्बर बढाएर वार्षिक १ लाख १० हजार टन पुर्याएको छ।
उद्योगले ३ अर्ब २३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
ग्रुप आइरन एन्ड स्टिल, पेन्टस्, खानेतेल, वायरलगायत व्यापारमा संलग्न छ। सन् १९८३ मा ग्रुपले सुनसरीमा पशुपति आइरनको स्थापना गरेको हो। उद्योगको सञ्चालकमा अशोक मुरारका, प्रदीप मुरारका, पशुपति मुरारका र महेश मुरारका छन्।