काठमाडौं। व्यावसायिक घराना मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्स लिमिटेडसँगको साझेदारीमा २ अर्ब रुपैयाँ लगानी गरी सेरामिक्स टायल उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ। टायल उद्योग भैरहवामा स्थापना हुनेछ।
सोमानी सेरामिक्स टायल उत्पादनमा भारतको अग्रणी कम्पनीमध्ये एक हो। यसको वार्षिक कारोबार २१ अर्ब भारुबराबर रहेको छ।
सोमानीले भारतको गुजरातमा सात तथा हरियाणा र आन्ध्र प्रदेशमा एक–एक टायल उद्योग खोल्न लागेको छ भने नेपालमा मुरारका ग्रुपसँग साझेदारी गरी टायल उद्योग सञ्चालन गर्न लागेको हो।
संयुक्त लगानीमा स्थापना हुने सेरामिक्स टायल उद्योगले नेपालमा वार्षिक करिब ३० लाख टन वर्गमिटर टायल उत्पादन गर्ने छ। ‘मुरारका ग्रुप आफ्ना ग्राहकलाई सधैं गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध छ।
सोमानीसँगको यो सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकता परिपूर्ति गर्ने विश्वास छ,’ मुरारका ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘नेपाली बजारमै रोजगारी सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने आसा छ।’
त्यस्तै सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यापारिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
‘सोमानी सेरामिक्सले विश्वभरि आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्चगुणस्तरको टायल उत्पादन तथा आपूर्ति गर्दै आएको छ,’ उनले भने, ‘यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउनेमा हामी विश्वस्त छौं।’
मुरारकाका अनुसार हाल नेपालमा १ करोड ८० लाख टन वर्गमिटर सेरामिक टायल खपत हुन्छ। पहिलो चरणमा वार्षिक ३० लाख टन वर्गमिटर उत्पादन हुन्छ। त्यसपछि अर्को ३० लाख टन वर्गमिटर उत्पादन गरिने छ।
‘त्यसबेलाको लगानी भने त्यतिबेला कुन किसिमको प्लान्ट राख्ने भन्ने निक्र्यौल भएपछि तोकिने छ,’ प्रबन्ध निर्देशक मुरारकाले भने, ‘कम्तीमा पनि दुई चरणमा हामीले ६० लाख टन वर्गमिटर उत्पादन हुने प्लान्ट राख्नेछौं।’ उद्योगले नेपालको कूल टायल बजारको ३३ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको मुरारकाले बताए।
‘अहिले नेपालमा जति पनि टायलको काम हुन्छ, त्यसको ९० देखि ९५ प्रतिशत आयात हुने गरेको छ,’ उनले भने, ‘त्यसैले केही आयात पनि प्रतिस्थापन गर्नुपर्छ। अहिले भारतसँगको जुन आयात घाटा छ, यसलाई घटाउन यसले केही मद्दत गर्ने छ र भविष्यमा निकासी पनि गर्न सकिएला कि भन्ने छ।’
उनका अनुसार आयात गर्न त्यति सहज भने छैन। यसका आवश्यक कच्चापदार्थ स्थानीयस्तरका प्रयोग गरिने छ। केही कच्चापदार्थ पत्ता लागेका छन् भने थप खोजी भइरहेको छ। भविष्यमा सतप्रतिशत स्थानीय कच्चापदार्थ प्रयोग गर्ने लक्ष्य छ।
सोमानी टायल नेपाल र भारत दुवै देशमा लगभग पहिलो स्थान ओगट्ने टायल कम्पनी भएको मुरारकाले बताए। हाल नेपालमा जति परिमाणमा टायल बिक्री हुन्छ, तीमध्ये सबैभन्दा ठूलो हिस्सा सोमानीकै रहेको उनको भनाइ छ।
‘नेपालमा विदेशी लगानीका लागि पनि हामीबीचको सहकार्य एउटा कोसेढुंगा साबित हुने विश्वास छ,’ मुरारकाले भने, ‘आज सिमेन्टमा लगानी गर्दा हामी निकासी गर्ने अवस्थामा पुगेका छौं। त्यस्तैगरी सेरामिक्स टायलमा पनि निर्यात गर्न सक्ने छौं भन्ने विश्वास छ।’