काठमाडौं। आइडिया स्टुडियो नेपालको सिजन ६ मा सहभागी विभिन्न चार आइडियटरको प्रोडक्ट लन्च भएको छ। स्टुडियोले आइतबार एक कार्यक्रमकाबीच आफ्ना सिजन ६ का चार आइडियटरहरूको प्रोडक्ट लन्च गरेको हो।
जसमा सिजन ६ का आनन्दकुमार श्रेष्ठ र सुलोचना श्रेष्ठको ‘टमाटर प्युरी’, अशोक प्रसाद चौधरी र सुष्मा रानाको ‘अविराम अग्रो टेक’, उचिता महर्जनको ‘उचित जैविक उधोग’, र कमला लामाको ‘झ्याम्भल कृषि फर्म’को प्रोडक्ट लन्च गरिएको हो। लन्च गरिएका प्रोडक्ट र तिनका विशेषता निम्नअनुुसार छन्।
आनन्दकुमार श्रेष्ठ र सुलोचना श्रेष्ठको ‘टमाटर प्युरी’
भक्तपुरका आनन्दकुमार श्रेष्ठ र सुलोचना श्रेष्ठको ‘टमाटर प्युरी’ प्रोडक्ट लन्च भएको छ। उनीहरूले ‘टमाटर प्युरी’ उत्पादन नामक व्यवसाय एग्रो आर्मी कम्पनीमार्फत ‘सेभ फुड, सेभ फार्मर’को अवधारणामा गरिरहेका थिए। जसको प्रोडक्ट सोमबार लन्च गरिएको हो।
विभिन्न कारण बस किसानले उत्पादन गरेको टमाटर समयमा बजारमा खपत नभई नस्ट भएर फ्याक्नु पर्ने अवस्था, त्यसको केही समयपछि बजारमा टमाटरको भाउ आकासिएर उपभोक्ता महँगीको मारमा पर्ने अवस्थालाई मध्येनजर गरेर उनीहरूले टमाटर प्युरी बनाउन सुरु गरेका हुन्।
उनीहरूले हाल टमाटरको प्युरी बनाइ बोत्तलमा प्याक गरेर पार्टी प्यालेस, होटल तथा रेस्टुरेन्टमा बिक्रीवितरणको काम गर्दै आएका छन्। यस टमाटर प्युरी विशेष गरी मःमः को अचार, पिज्जा सस, ग्रेभी बनाउने प्रयोजनका लागि प्रयोग गरिन्छ। उनीहरूले उत्पादन गरेको टमाटर प्युरी १२ महिनासम्म राख्न मिल्ने र नबिग्रिने उनीहरूको दाबी छ।
सुस्मा राना र अशोकप्रसाद चौधरीको ‘अबिराम एग्रोटेक’
आइडिया स्टुडियो सिजन ६ का आइडियटर सुस्मा राना र अशोकप्रसाद चौधरीको प्रोडक्ट पनि लन्च भएको छ। ‘अबिराम एग्रोटेक’मार्फत दम्पतीले तयार गरेको अण्डाबाट चल्ला कोरल्ने मेसिन सोमबार लन्च भएको हो। यो मेसिन उनीहरूले लकडाउनको समयमा पहिलो पटक बनाएका थिए।
यो मेसिन सामान्य किसानले सजिलै र सरल तरिकाले व्यावसायिक उत्पादन लिन सक्ने किसिमको छ। यो गाउँदेखि सहरसम्म, उपभोक्ताको मागअनुसार उपलब्ध गराउने काम उनीहरूले गर्छन्।
कीर्तिपुर बसेर पढ्दै गरेका उनीहरूले एक दिन युटुब हेर्दै गर्दा चल्ला काढ्ने मेसिन अर्थात् ‘इन्क्युबेटर’ देखेपछि सोहीअनुसार यो नेपालमै बनाएका हुन्। परम्परागत तरिकाले भनेको जस्तो उत्पादन नहुने (कारणहरू जस्तैः वातावरणीय/मौसमको प्रभाव, ओथारो बसेको पोथीलाई विशेष हेरविचार चाहिने तथा पोथीमा सुलसुलो लाग्ने, सबै अण्डालाई बराबर स्याहार नहुने आदि) जसले गर्दा व्यावसायिक उत्पादन लिन सकिदैन भन्ने टुंगोमा पुगेपछि यसको विकास गरेको उनीहरू बताउँछन्।
उनीहरूले विकास गरेका मेसिन सामान्य आयस्रोत भएका किसानले समेत आफ्नो लागि आफै उत्पादन गर्न सक्ने क्षमताको छन्।
उचिता महर्जनको ‘उचित जैविक उद्योग’का प्रोडक्ट
आइडिया स्टुडियो सिजन ६ कि आइडियटर उचिता महर्जनको पनि जैविक मल र जैविक आहारालगायतका प्रोडक्ट लन्च भएको छ। महर्जनले ‘उचित जैविक उद्योग’ मार्फत नेपालमै जैविक मल उत्पादन गरिरहेकी छिन्। यो कम्पनीमा जैविक मल, मल्टि–भिटामीन, पशुपालनका लागि जैविक आहारलगायत उत्पादन भइरहेको छ, जुन सबै ‘बायो प्रडक्ट’ हुन्।
यो मलमा तोरी र चिउरीको पिना, कृषि चुन, हड्डीको धुलो ब्रान्ड (ढुटो) र जीवाणुलगायतका तत्व मिसाइएको हुन्छ। यो सुक्खा खेतबारीमा गहुँ, तोरी, फापरजस्ता बाली लगाउनुभन्दा तीनदेखि चार दिन अगाडि जैविक मल लगाइ खनजोत गरी छाड्नुपर्छ। त्यो समय पूरा भएपछि बीऊ छर्ने वा बाली लगाउने गर्नुपर्छ।
यो जैविक मलमा जीवाणु हुन्छन्। प्याकेटमा सुसुप्त अवस्थामा रहेको जैविक मलको जीवाणु बाहिरी हावाको सम्पर्कमा आएपछि पूर्णरूपमा सक्रिय हुन्छन्। यस अवस्थामा बीउ वा बिरुवासँग प्रत्यक्ष सम्पर्कमा हुँदा त्यसलाई पचाउन सक्दैन। जसले गर्दा बीउ नउम्रिने र बिरुवा मर्ने हुन्छ।
यसबाट बच्न जैविक मल पूर्णरूपमा माटो र माटोमा भएको प्राङ्गारिक पदार्थसँग घुलनशील भएपछि मात्र बीउ वा बिरुवाले लिन सक्दछ। बाहिरबाट भित्रिने रासायनिक मलको तुलनामा यो उपयुक्त भएको उनीहरूको दाबी छ।
कमला लामा–‘झ्यम्भल कृषि फर्म लघु उद्यम’
काभ्रेकी कमला लामाको पनि विभिन्न प्रोडक्ट लन्च भएको छ। लामाले झ्यम्भल कृषि फर्ममार्फत भोगटे, हलुवावेद, आरु, नास्पाती, पिडालु, जलबिरेजस्ता खेर गइरहेका फलफूलका बोक्रादेखि उक्त फलफूलका सबै भागको प्रयोग गरेर उत्पादन गरेका विभिन्न प्रोडक्टहरू लन्च भएको हो। लन्च भएको प्रोडक्टमा भोगटेको क्यान्डी, जाम, पिडालुको मस्यौरा, हलुवावेदको सुकुटी, फर्सीको मिठाइ आदि छन्।
उनले गाउँमा प्रयाप्त मात्रामा उत्पादन हुने तर बजार मूल्य नुहने फलफूल तथा तरकारीहरू (भोगटे, हलुवावेद) को बोक्रा तथा अन्य भागहरू खेर गइरहेको पाइन्। त्यसपछि उनले त्यस्ता वस्तुको प्रयोग गरेर भोगटे क्यान्डी, ड्राइ फ्रुट, जाम, अचारजस्ता वस्तु उत्पादन गरेकी हुन्।
कमलाले गत ०७५ देखि नै ‘झ्यम्भल कृषि फर्म लघु उद्यम’ दर्ता गरेर उद्योग सञ्चालनमा ल्याएकी छिन्। उनले सबै उत्पादन घरमै गर्छिन्। उनले अहिले दैनिक १० देखि १२ जनालाई रोजगारीसमेत दिइरहेकी छन्।