काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले तीन महिनादेखि ‘अघोषित लोडसेडिङ’ गरेसँगै जेनेरेटर व्यापार ह्वात्तै बढेको छ। औद्योगिक क्षेत्रमा दैनिक १० घन्टा लोडसेडिङ हुन थालेपछि उद्योगीले बाध्य भएर जेनेरेटर किनेर वस्तु उत्पादन गरिरहेका छन्।
‘कुन बेला बिजुली जान्छ थाहै हुन्न,’ परासीका एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘उद्योग चलिरहेका बेला झ्याप्प बिजुली काटिन्छ, जेनेरेटर नचलाइ हुँदै हुँदैन। देशमा लोडसेडिङ अन्त्य भएको हो भनेर जेनेरेटर थन्काइयो। समय–समयमा मर्मत नगरेकाले पुरानो जेनेरेट बिग्रियो। नयाँ किनेर उद्योग चलाइरहेका छौं।’
प्राधिकरणले पूर्वजानकारी नदिई बिजुलीको लाइन काट्न थालेपछि उद्योगी तथा सर्वसाधारणले पूर्वसतर्कता अपनाएर जेनेरेटर/इन्भर्टर खरिद गर्न थालेका हुन्। पूर्वजानकारी नदिई बत्ती जान थालेपछि उद्योगीहरू आजित भएर जेनेरेटर खरिद गर्न बाध्य भएका हुन्। उद्योगीले धमाधम उद्योग चलाउन जेनेरेटरको प्रयोग गर्न थालेसँगै व्यापारमा पनि उछाल आएको व्यापारीहरूको भनाइ छ।
केही महिना अगाडि व्यापार नभएर आजित व्यापारी दसैंयता जेनेरेटर/इन्भर्टरको व्यापार बढेको देख्दा चकित छन्। काठमाडौें त्रिपुरेश्वरमा जेनेरेटर व्यापार गर्दै आएको सिभ्मनका सञ्चालक अमन श्रेष्ठका अनुसार दसैंयता उनको कारोबारमा निकै उछाल आएको छ।
पहिले दैनिक २/४ वटामात्र जेनेरेटर बिक्री हुने गरेकोमा अहिले उनको पसलमा दैनिक २०/२५ वटासम्म खरिद–बिक्री भइरहेको छ। उनले दसैंयता जेनेरेटर/इन्भर्टर खरिद गर्ने ग्राहक संख्या निकै बढेको बताए।
‘विगत तीन÷चार वर्षयता व्यापार निकै घटेको थियो, हामीले व्यापारबाट नै विस्थापित हुने समस्या आउने होकि भन्ने सोचेका थियौं,’ उनले भने, ‘तर, अहिले व्यापार फेरि बढेको छ, पहिलेभन्दा व्यापार सतप्रतिशत बढेको छ।’
यस्तै ज्याक्सन जेनेरेटर नेपालका बिक्रेता नविन खन्नाका अनुसार अहिले जेनेरेटर खरिद–बिक्री ह्वात्तै बढेको बताए। उनका अनुसार पहिलेभन्दा ग्राहक अहिले बढेका छन्।
उनीहरूका अनुसार जेनेरेटर व्यापार बढ्नुमा सबैभन्दा ठूलो कारण अनियमित लाइन काटिने क्रम बढ्नु हो।
जेनेरेटर व्यापारी रमणकुमार झाका अनुसार जेनेरेटरको माग अत्यधिक भएको बताए। लाइन आउने जाने क्रम बढेपछि दिनमा दुई–तीनवटासम्म जेनेरेटर बिक्री हुन थालेको छ। ‘लोडसेडिङको समयमा दिनको १०–१२ वटासम्म बेच्थ्यौं, बीचमा यो व्यापार ठप्प थियो,’ उनी भन्छन्, ‘अहिले फेरि व्यापार बढ्न थालेको छ।’
‘बितेको चार वर्ष यो बिजनेसमा कुनै उत्साह थिएन, जसोतसो चलेको थियो,’ उनले भने, ‘अहिले सबै व्यापार बढेको सुनेको छु, मेरोमा पनि सतप्रतिशत बढेको छ।’
डेल्को ब्याट्री उद्योगका सञ्चालक रोशन पराजुलीको अनुभव पनि त्यस्तै छ। केही साताायता ब्याट्री व्यापार ५० प्रतिशत बढेको उनको भनाइ छ। पछिल्ला दिनमा घर तथा अफिसमा इन्भर्टर जोड्ने र ब्याट्री फेर्ने ग्राहक विगतको तुलनामा निकै बढेको बताउँछन्।
आयात पनि बढ्यो
इन्भर्टर तथा जेनेरेटर माग बढेसँगै यसको आयात पनि वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा गत वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटर आयात बढेको हो। गत वर्ष १ सय ५४ थानमात्र जेनेरेटर भित्रिएको थियो।
यो अवधिमा ब्याट्री आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ। चालू आर्थिक वर्ष सुरूदेखि नै जेनेरेटर ब्याट्रीको आयात वृद्धि भएको तथ्यांकले देखाउँछ। व्यापारीका अनुसार जेनेरेटर माग पनि ह्वात्तै बढेको छ।
महँगो मूल्यमा डिजेल किनेर जेनेरेटर चलाउन बाध्य
प्राधिकरणले उद्योग–उद्योगमा फोन गरेर लोडसेडिङ तालिका सुनाएसँगै उद्योगीले महँगो मूल्यमा डिजेल किनेर उत्पादन गरिरहेका छन्। उसै पनि वस्तुको माग न्यून अवस्थामा पुगेका महँगो मूल्यमा डिजेल किनेर वस्तु उत्पादन गर्दा लागत झन् आकासिएको उद्योगीहरूले बताएका छन्।
‘उर्जाको लागत नै २० प्रतिशतमाथि पुग्छ,’ एक उद्योगीले भने, ‘अन्तर्राष्ट्रिय कारणले वस्तुको लागत बढ्नु त छँदैछ, त्यसमाथि लोडसेडिङले लागत थपेको छ। डिजेलबाट सामान उत्पादन गर्दा २० प्रतिशतहाराहारी लागत वृद्धि हुन्छ।’