काठमाडौं। सुनकोसी–मरिण डाइभर्सन निर्माणका कारण काठमाडौंबाट तराई जोड्ने बिपी राजमार्गको करिब १ किलोमिटर सडकमार्ग परिवर्तन हुने भएको छ। राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माण गर्दा सडक डुवानमा पर्ने भएपछि अहिले सञ्चालनमा रहेको सडकमध्ये ९ सय मिटर सडकमार्ग परिवर्तन हुने भएको हो।
आयोजना प्रमुख मित्र बरालका अनुसार हेडवर्क्सको डुवान स्थल र सडकको केही भागमा नयाँ ट्रयाक खुल्ने छ। हेडवर्क्सले ९ सय मिटर सडक डुवानमा पार्ने छ। सो स्थानमा भने दीर्घकालीन रूपमा नयाँ सडक बन्ने छ। त्यस्तै २ किमी सडक भने आयोजना निर्माण गर्दासम्म मात्रै वैकल्पिक बाटोका रूपमा प्रयोग हुने प्रमुख बरालको भनाइ छ।
‘तत्काललाई २.९ किमी परिवर्तन हुन्छ तर, आयोजनाको निर्माण सम्पन्न भएपछि २ किमी सडक अहिले सञ्चालन भएकै स्थानमा फर्किन्छ। बाँकी ९ सय मिटर डुवानमा पर्ने भएकाले त्यो पूर्णरूपले परिवर्तन हुन्छ’, उनले भने।
सिन्धुलीको सुनकोसी गाउँपालिका–६ र ७ मा पर्ने बिपी राजमार्गको ट्रयाक परिवर्तन गर्नुपर्ने भएको हो। नयाँ खुल्ने सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ३ वर्ष पहिला तयार भएको आयोजनाले जनाएको छ। ट्रयाक परिवर्तन गर्दा लाग्ने खर्चको विषयमा भने आयोजनाले प्रष्ट पारेको छैन।
चालू आर्थिक वर्षमा सडक परिवर्तनको काम नहुने भएकाले तत्कालै बजेटको आवश्यकता नपर्ने बताइएको छ। चालू आर्थिक वर्षमा साइट क्लियरेन्सको काम हुनेछ। सडकको काम हेडवर्क्स र विद्युतगृह निर्माणको जिम्मेवारी पाएको कम्पनीले गर्ने छन्। नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङको संयुक्त उपक्रम (जेभी)ले बाँध र विद्युतगृह निर्माणको जिम्मेवारी पाएका हुन्।
२०७९ पुस १७ गते आयोजना र निर्माण कम्पनीबीच साढे १२ अर्ब रुपैयाँमा हेडवर्क्स र विद्युतगृह निर्माण गर्ने सम्झौता भएको हो। सम्झौता भएसँगै आयोजना स्थलमा निर्माण कम्पनीले आफ्नो काम सुरु गरेको छ। सम्झौता भएको मितिले ४ वर्ष ७ महिनामा हेडवर्क्स र विद्युतगृह निर्माण सम्पन्न हुनेछन्।
सुनकोसीको पानी सुरुङमार्फत तराईमा लगेर सिँचाइ सुविधा उपलब्ध गराउने योजनास्वरूप आयोजना निर्माण सुरु भएको हो। जसअनुसार १३ किलोमिटर लामो सुरुङमार्ग बन्दै छ। उक्त सुरुङ अमेरिकन प्रविधिको ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) बाट खन्ने काम भइरहेको छ। डाइभर्सनमा गत असोज २८ बाट टिबिएम प्रयोग गरेर सुरुङ खन्न थालिएको हो।
आयोजना प्रमुख बरालका अनुसार सुरुङमार्ग हालसम्म ३ हजार ५ सय ४० मिटर खनिएको छ। सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले पाएको छ। २०७७ फागुनमा भएको सम्झौताअनुसार सुनकोसी–मरिणको १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँ लाग्ने छ। कोभेकले २२ महिनामा सुरुङ खन्ने लक्ष्य लिएको छ।
बाँध, सिँचाइ र विद्युत् उत्पादन संरचनासमेत गरी आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुरुङ खन्ने काम २२ महिनामा सकिए पनि समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ। आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ रहने छ। जहाँ १२ मिटर उचाइको बाँध निर्माण हुनेछ।
आयोजनाले चालू आर्थिक वर्षमा २ अर्ब ७१ करोड बजेट प्राप्त भएको छ। सो बजेट अपुग भएकाले थप बजेट माग गरेको आयोजनाको भनाइ छ। चालू आवमा मात्रै ४ अर्ब ३७ करोड रुपैयाँ थप बजेट आउने प्रमुख बराल बताउँछन्।
२०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए। हालसम्म आयोजनाको भौतिक प्रगति १२ प्रतिशत भएको छ।
सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ ५ मिटर हुनेछ।
डाइभर्सनले मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ।