काठमाडौं। प्रतिष्ठित व्यवसायिक घरना चौधरी ग्रुपले सञ्चालन गरेको सिजी फुड्स नेपाल प्राइभेट लिमिटेडको व्यापार ११ प्रतिशत बढेको छ।
सिजीले एक वर्षमा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको वाइवाइ चाउचाउको व्यापार गरेको हो। अघिल्लो वर्ष उद्योगले ७ अर्ब २३ करोड ४० लाख रुपैयाँको चाउचाउ व्यापार गरेको थियो।
एक वर्षको अवधिमा सिजीको कारोबार ७८ करोड रुपैयाँ बढेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२० मा उद्योगले ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। २०१९ मा ६ अर्ब ७८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।
उद्योगले ९९ करोड ५५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। सिजी फुड्स चौधरी ग्रुपको सबैभन्दा बढी लाभांश दिने उद्योग हो। वाइवाइ ब्रान्ड चाउचाउ नेपालमा सबैभन्दा बढी बिक्री हुने गरेको छ। यसको बजार हिस्सा ठूलो छ।
वाइवाइ नेपाललगायत युरोप र अफ्रिकामा उत्पादन हुने गरेको छ। जसले गर्दा सिजीको आम्दानी निरन्तर बढीरहेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ। कच्चा गहुँ र पाम आयलको मूल्य वृद्धिले उद्योगको मार्जिन आधा घटाएको छ।
२०२१ मा ११.२१ प्रतिशत रहेको मार्जिन यो वर्ष घटेर ५.३ प्रतिशतमा झरेको सिजीले जनाएको छ। कच्चा वस्तुको भाउ बढेपछि उद्योगको उत्पादन लागत बढेको र बढेको सो लागत उपभोक्तामाझ सेयर नगरेका कारण सिजीको मार्जिनका साथै नाफामा गिरावट आएको छ।
नाफा कति गरेको हो भन्ने कुरा उद्योगले खुलाएको छैन्। सिजी फुड चौधरीको पुरानो व्यवसाय हो। ग्रुपको बैंक, अटोमोबाइल, सिमेन्टका साथै हस्पिटालिटी र रियलस्टेट क्षेत्रमा लगानी रहेको छ।
सन १९८४ मा थाइ प्रिजर्भ फूडको साझेदारीमा सिजी फुड्सको स्थापना भएको हो। उद्योगले वाइवाइ चाउचाउका अतिरित्त वेभरेज, चिप्स, स्न्याक्स, रियो र क्विसको उत्पादन गर्दै आएको छ।
उद्योगमा निर्वाण चौधरीको ७६ प्रतिशत, एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत सेयर स्वामित्व रहेको सिजीले जनाएको छ।