काठमाडौं। कसैले ५ हजार रुपैयाँ लगानीबाट केही वर्षमै लाखौंको व्यवसाय बनायो भन्दा अब अचम्म नमाने हुन्छ। आँखै अगाडि भएका अनेक सम्भावनालाई आर्थिक उपार्जनको पाटो बनाउन नसकिरहेको अवस्था र सोही कारण दिनहुँ सयौं नेपाली विदेशिनुपरेको छ।
तर, सयौं वा हजारौंले देखेर पनि वास्ता नगरेका थुप्रै विषयलाई व्यावसायिक बनाएर धेरैले राम्रो आर्थिक उपार्जन गरिरहेका छन्।
त्यस्तैमध्येकी एक हुन्– रजिना अवाले। जसले ‘समाः ज्वेलरी एन्ड क्राफ्ट’ मार्फत् हस्तनिर्मित इयररिङ, ब्रासलेट, नेक्लेस, एन्टेलिक र औंठीजस्ता गहनाका रूपमा लगाइने सबै सामग्री बनाइ बिक्री वितरण गर्दै आएकी छिन्।
रजिनाको समाः ज्वेलरी ललितपुर पुल्चोकस्थित लबिम मल पछाडि छ। जसमा अर्ध–मूल्यवान पत्थर, ग्लास, सेतो धातु, पित्तलको तार, स्टोन तथा काठको प्रयोगबाट अर्डरअनुसार डिजाइनमा हातले आकर्षक गहना बनाएर बिक्री गरिन्छ।
रजिनाले यसलाई व्यावसायिक हिसाबमा काम गरेको लगभग १० वर्ष पुगेको छ। यो अवधिमा उनले समाः ज्वेलरीमार्फत् ‘सुनचाँदीको मात्र गहना हुन्छ र सुनचाँदीबाट बनेको मात्र गहना लगाउनुपर्छ’ भन्ने मान्यता केही हदसम्म चिर्न सफल भएकी छिन्।
उनले हाल सुनचाँदीभन्दा अन्य धातुबाट बनेका गहनाले पनि मानिसलाई आकर्षक बनाउँछ र गहना सुनचाँदीको मात्र हुँदैन भन्ने एउटा छुट्टै पहिचान बनाइसकेकी छिन्।
रजिनाले सन् २०१३ मा पारिवारिक व्यापारका रूपमा यो व्यवसाय घरबाट सुरु गरेकी थिइन्। दिदीको प्रेरणाबाट यो कामलाई व्यावसायिक बनाउन निरन्तर खटेकी रजिनाले हाल सातजनाको समूह बनाएर गहना निर्माण र बिक्री गर्ने काम गरिरहेकी छिन्।
सुरुमा पोते, मोती, वायरजस्ता सामग्री प्रयोग गरेर कसरी गहना बनाउन सकिन्छ र कसरी बेच्न सकिन्छ भनेर उनले काम गरिन्। यस्तो काम गर्दा–गर्दै ब्रास वायरमा पनि हातले गहना बनाउन मिल्दोरहेछ भन्ने थाहा पाइन्। त्यसपछि उनले हातले यस्ता गहना बनाउने काम जारी राखिन्।
सोही निरन्तरताले वायरलाई विभिन्न डिजाइनमा परिवर्तन गरी बजारमा देखाउँदा अन्ततः उनको यो गहनाले बजारमा माया पायो। त्यसपछि उनलाई यस काममा अघि बढ्न थप ऊर्जा मिल्यो। बजारको माया पाउँदै गएपछि रजिनाले आफूले बनाएका गहना थप व्यवस्थितरूपमा अघि बढाउँदै गइन्। जसका कारण हाल उनकोमा सुनचाँदीबाट बनेका भन्दा निकै सुहाउँदो, आकर्षक र सर्वसुलभ सामग्री उपलब्ध छन्।
५ हजारबाट सुरु गरेको व्यवसाय
रजिनाका अनुसार सुरुमा उनले काम थाल्न ५ हजार रुपैयाँ लगानी गरेकी थिइन्। ‘हामीले हातले सामग्री बनाउने कलालाई व्यावसायिक रूप दिन सुरुमा ५ हजार लगानी गरेका थियौं,’ रजिनाले क्यापिटल नेपालसँग भनिन् ‘हामीले अहिले टिममा काम गर्दै गर्दा बिजनेस एनलाइसिस र इभोलुसन गर्छौं, जसअनुसार हाल हाम्रो व्यापारको भ्यालुएसन २५ लाख रुपैयाँभन्दा बढी छ।’
उनले सामग्री डेकोरेसन गर्नमात्र केही खर्च लाग्ने, नत्र यस व्यवसायका लागि धेरै लगानी आवश्यक नपर्ने बताइन्। उनले यो भन्दा अगाडि काठमाडौं नयाँबानेश्वरमा पसल राखेर गहना बनाउने र व्यापार गर्ने काम गर्थिन्। तर, ललितपुर सरेपछि भने व्यापार पनि केही राम्रो भएको उनी सुनाउँछिन्। समाः ज्वेलरीमा हाल मासिक १ लाखभन्दा बढीको व्यापार हुने गरेको छ।
उत्पादित सामग्री अन्य शाखाबाट बेच्ने तयारी
रजिनाका अनुसार हाल गरिरहेको व्यवसाय नेपालमा एकदमै कम मात्रामा छ। पछिल्लो समय केही मात्रामा प्रतिस्पर्धा बढेको भए पनि आफूहरूका लागि राम्रो कुरा भएको उनी बताउँछिन्।
‘हामीले यी सामग्री यहाँबाट मात्र नभएर अन्य ठाउँबाट पनि बिक्री गर्न सकियोस् भनेर काम गरिरहेका छौं,’ उनले भनिन्, ‘हामी शाखाका रूपमा अन्य ठाउँमा पसल राखेर सामान बिक्री गर्ने तयारीमा छौं।’
नेपालमा बनेको सामग्रीलाई सुरुमा ‘नेपालमै बिक्री गरौं र नेपालमै प्रयोग गरौं’ भन्ने धारणा रजिनाको छ। यसो हुनसके आयातित वस्तुमा भर पर्नुनपर्ने उनको भनाइ छ। त्यसपछि यसलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तरिकाले उत्पादन गर्ने योजना उनको छ।
उनले देशमा बनेको सामग्री यहीँ प्रयोग होस् भनेर चीनबाट आएको सामान र आफूहरूको सामानको मूल्य समान बनाउने कोसिस गरेको जानकारी दिइन्। यसका लागि सकेसम्म सस्तो र सुलभ दरमा सामग्री बिक्री वितरण गरिरहेको उनले सुनाइन्।
समाः ज्वेलरीमा विशेषगरी चाहेअनुसार सामग्री अर्डर हुने गरेको छ। यसो त उनकोमा नेपालीभन्दा विदेशी ग्राहक बढी आउने गर्छन्। तर, नेपाली ग्राहक नै मुख्य हो र बनाउनुपर्छ भन्ने उद्देश्यसाथ उनले काम गरिरहेकी छिन्। पहिरनमा मिल्ने किसिमको जस्तोसुकै गहना हातले बनाएर तयार गर्ने भएकाले रजिनाको समाः ज्वेलरीमा सोहीअनुसार अर्डर आउने गरेको छ।
कोरोना महामारीका बेला ‘लकडाउन’ हुँदा मानिसले अनलाइनमा नै सबै कुरा खोज्ने वातावरण बन्यो। सोही समयदेखि रजिनालाई अनलाइन प्लेटफर्म प्रयोग गर्नुपर्ने आभाष भयो। त्यसपछि उनले व्यापारका लागि अनलाइन प्लेटफर्म प्रयोग गर्न सुरु गरिन्। हाल समाः ज्वेलरी सामाजिक सञ्जाल इन्स्टाग्राम, टिकटकमा उपलब्ध छ भने दराजमा पनि यसका सामग्री भेट्न सकिन्छ। अनलाइनबाटै डेलिभरी व्यवस्था रजिना र उनको टिमले गरेको छ।
डेढ सयदेखि ५० हजारसम्मका गहना
नेपालमा लाखौं खर्च गरेर सुनचाँदीका गहना लगाउने चलन छ। बजारमा पनि गहनाका रूपमा सुनचाँदीकै हिस्सा बढी छ। तर, बजारमा पाइने अन्य गहना र समाः ज्वेलरीमा पाइने गहनामा निकै भिन्नता छ।
गहनाकै कुरा गर्दा समाः ज्वेलरीमा एकदम सीमित मात्रामा बन्छन्, जुन विशेष मानिसका लागि खास समयमा बनाइन्छ।
पाउन त बजारमा सुनचाँदीबाहेक अन्य वस्तुबाट बनेका गहना पनि प्रशस्तै पाइन्छन्। त्यस्ता गहना मेसिनबाट बनाइएका हुन्छन्, जसको गुणस्तर र बनावट उपयुक्त नहुन पनि सक्छ। तर समाः ज्वेलरीमा पाइने गहना हस्तनिर्मित भएकाले यो आफैंमा फरक महत्वको हुन्छ। साथै गुणस्तर र डिजाइनमा पनि यी गहना निकै भरपर्दो र उपयुक्त छन्।
रजिनाका अनुसार उनकोमा रहेका ब्रास मेटरियल जति प्रयोग गर्दै गयो, त्यति नै राम्रो हुँदै जाने किसिमका छन्। डिजाइन बनाउन नरम र सजिलो किसिमको मेटरियल प्रयोग हुने हुँदा बाहिरबाट बजार आएका भन्दा टिकाउ हुन्छन्। उनकोमा पाइने गहना मोती, स्टोन, वायरबाट बनेकाले त्यसमा जीवनपर्यन्त ‘ग्यारेन्टी’ हुने उनको दाबी छ।
गहना परम्परागत मूल्यमान्यता झल्काउने विषय हुन्। नेवार, गुरुङ वा तिब्बतीका गहना र डिजाइन छुट्टाछुट्टै हुन्छ। समाः ज्वेलरीमा आवश्यक पर्ने मेटरियल पनि तिब्बती क्षेत्रका हुन्। पुरानो डिजाइन र पहिले लगाउने गहनालाई अबको पुस्ता सुहाउँदो कसरी बनाउन सकिन्छ भन्ने विषयलाई रजिनाले प्राथमिकतामा राखेकी छिन्।
हुन त मानिसलाई पहिलेदेखि गरेको र देखेको भन्दा नयाँ स्वीकार्न केही कठिन हुनु स्वाभाविक हो। यसर्थ पित्तल, तामा आदि प्रयोगबाट बनाएका सामग्री बजार लगेर बिक्री गर्न रजिना र उनको टिमलाई केही समय लाग्नु स्वाभाविक हो।
उनका अनुसार गहनाका रूपमा सुचाँदी अनि हिरामोतीलाई मात्र बुझ्ने गरिन्छ। तर, यो परिभाषा बदल्ने गरी काम भइरहेको छ। पित्तलको, तामाको गहना पनि लगाउँछन् र भन्ने सोच बदल्न यस्ता सामग्रीको बजार बनाउन समय लागेको हो।
‘अहिलेको पुस्ताले यो कुरालाई सजिलै बुझ्छ, तर हामीले यो कुरा बुझाउन नसक्दा हालको अवस्थामा आइपुग्न पक्कै पनि केही समय लाग्यो,’ रजिना भन्छिन्, ‘हाम्रो हजुरआमा, आमासम्ममा पनि यस्तो पित्तलको गहना पनि लगाउँछन् भनेर नकार्ने मानसिकता अझै छ।’
उनले विदेशी सामान नेपाल भित्रिएकाले त्यसलाई पुनः प्रयोग गर्न, नयाँ सामग्री बनाउन सक्नुपर्ने र आफूहरूले सोही काम गरेकोमा खुसी लागेको बताइन्।
नेपाली समाज विभिन्न आर्थिक वर्गमा विभाजित छ। यहाँ धेरै महँगा सामग्री प्रयोग गर्नेदेखि निकै सस्ता सामानमा चित्त बुझाउनुपर्ने बाध्यता भएका मानिस पनि छन्। यही कुरा ध्यान दिँदै रजिनाले निकै कमदेखि केही बढी मूल्यसम्मका गहना बनाउने गरेकी छिन्।
रजिनाको समाः ज्वेलरीमा हाल १ सय ५० देखि ५० हजार रुपैयाँसम्मका गहना उपलब्ध छन्। यसो त अर्डरअनुसार गहना बनाइने हुँदा उनकोमा रोजेको डिजाइन र मूल्यमा गहना पाउन सकिन्छ।
गहनाकै लागि लाखौं खर्चिनुपर्दैन
मानिसले गहनामा लाखौं रकम खर्च गर्ने गर्छन्। सुनचाँदीलाई मात्र गहना मान्ने चलन र हालको महँगीका कारण धेरैलाई असर पुगेको छ। तर समाः ज्वेलरीमा बनाइएका गहना प्रयोग गरे यसले पनि निकै आकर्षक देखाउने रजिना बताउँछिन्।
‘गहनाका रूपमा सुनचाँदीमात्र होइन, पित्तल र तामालाई पनि डिजाइन गरेर आकर्षक गहना बनाउन सकिन्छ,’ उनी भन्छिन्, ‘यसबाट बनेको गहनाले पनि त्यति नै सुहाउने र आकर्षक देखिने भएकाले गहनाका लागि लाखौं खर्च गरिरहनुपर्दैन।’
उनले आफ्नो मनले चाहेको कपडासँग मेलखाने र आफूलाई मनपर्ने डिजाइनको गहना लगाउन चाहनेको इच्छा समाः ज्वेलरीबाट पूरा हुने बताइन्।
रजिनाका अनुसार हाल समाः ज्वेलरीमा परिवारका सदस्य, डिजाइनर, अन्य सहयोगी कर्मचारी काम गरिरहेका छन्। केही चुनौती सामना गर्नुपरे पनि नेपालमा नै केही गर्न सकिन्छ भन्ने अनुभव भएको उनले सुनाइन्।
‘केही अप्ठ्यारा छन् तर हामीले निरन्तरता दिएर काम गर्न सकेको खण्डमा राम्रो काम गर्न सक्नेरहेछौं,’ उनले भनिन्, ‘हिजो ५ हजारबाट सुरु गरेको यो व्यवसायमा आज हामीले सात/आठजनाले काम रोजगारी पाएका छौं। त्यसकारण बाहिर जागिरका लागि विदेशिनुभन्दा नेपालमा नै केही गर्न सकिने रहेछ भन्ने महसुस भएको छ।’
नेपालमा सजावटका सामग्री विदेशबाट आउने गरेका छन्। तर, यस्ता सामग्री नेपालमा नै बनाएर आत्मनिर्भर हुनसके देशलाई आर्थिकरूपमा टेवा दिन सकिन्छ। यही मनन गरेर नै समाः ज्वेलरीमा निरन्तर लागिपरेको रजिना बताउँछिन्। हस्तनिर्मित गहना बनाउनुका साथै यसप्रति रुचि भएकालाई तालिम दिने, सिकाउने काम पनि रजिनाले गर्दै आएकी छिन्।