काठमाडौं। सेयर बजार बल्ल सकारात्मक बनेको छ । दिनभर फराकिलो अंकले घटेको नेप्से अन्तिम प्रहरमा भने सकारात्मक बन्न सकेको हो । आइतबार नेप्से सूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको छ । इन्ट्रा डेमा बजार झन्डै ६३ अंकले उतारचढाव भएको देखिन्छ । यसरी भारी अंकले घट्दा सेयर भाउ निकै सस्तो भइसकेको थियो । सस्तो मूल्यमा धमाधम क्रेताहरु आउन थालेपछि बजारले अन्तिम प्रहरमा गति लिएको हो ।
यता, प्राविधिक विश्लेषण गर्नेहरूले पनि सपोर्ट बिन्दु आएको र यसबाट बजार फर्किने भन्दै करिब १९६३ को तहबाट खरिद चाप बढाएका धेरैको भनाइ रहेको छ, यही कारण बजार अन्तिम प्रहरमा सकारात्मक बन्न सकेको हो । यस दिन २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
इन्ट्रा डेमा बजार १९ सयको तहसम्म आयो । सूचक १९६३ बिन्दु आसपाससम्म झरेर फर्किएको हो । करिब २२७८ अंक आसपाससम्म पुगेको बजारमा झन्डै ३ सय अंकको गिरावट आएको देखिन्छ । यसले बजारमा पर्याप्त मात्रामा करेक्सन भइसकेको संकेत गर्छ । करेक्सन चक्र पूरा भएपछि बजारले पुनः गति लिने जानकारहरू बताउँछन् ।
केही समययता घट्दोक्रममा रहेको बजारलाई नीतिगत अस्थिरताले यसअघि बेस्सरी प्रभाव पार्यो । यसैगरी, राजनीति तरंगित बन्दा त्यसको असर पनि सेयर बजारमा पुनः देखियो । विशेषगरी, केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरूमा विभिन्न अंकुशहरू लगाउन थालेपछि त्यसको सीधा प्रभाव दोस्रो बजारमा देखिएको हो । केन्द्रीय बैंकले लघुवित्तहरूलाई लाभांश वितरणमा थप नियामकीय प्रावधानहरु पूरा गर्नुपर्ने गरी निर्देशन जारी गरेको छ ।
यसले पनि बजारमा लगानीकर्ता आत्तिएको अनुमान गरिएको छ । घट्दो बजारमा यसले थप प्रभावित बनाउन मलजल गरेको अनुमान छ । यसैगरी, यही बेला राजनीति अलि धुमिल देखियो । सत्ता गठबन्धनमा फेरबदल आउन सक्ने देखिएको छ । राष्ट्रपति निर्वाचन पनि पेचिलो बनेको अवस्था छ ।
सत्ता गठबन्धनमा फेरबदलसँगै अर्थमन्त्री पनि परिवर्तन हुन सक्ने आशंकाले पनि बजारलाई प्रभाव पारेको अनुमान गरिएको छ । तथापि, यस्तो प्रभाव भने अल्पकालीन मात्र हुने गर्छ । दीर्घकालमा अर्थमन्त्री वा सरकारै परिवर्तन भए पनि खासै फरक पर्दैन । बजारले बुल रन लिन सकेमा यस्ता विषयवस्तुहरु पच्दै जाने गर्छ ।
सेयर बजारमा मुख्य कुरा नीति, प्रविधि, बैंकिङ तरलता र ब्याजदर नै हो । यी पक्षहरू सहज र सहज हुन सकेमा सेयर बजार माथि जान कत्तिबेर पनि लाग्दैन । ब्याजदर सस्तो हुनुपर्छ । बैंकमा सहजरुपमा कर्जा पाउने अवस्था बन्नुपर्छ । बजारसँग सम्बन्धित नीतिनियम सेयर बजारमैत्री हुन आवश्यक छ । तर, हामीकहाँ पटकपटक हुने नीतिगत परिवर्तन, चर्को ब्याजदर र तरलता अभावको समस्या रहेको छ ।
यी पक्षहरूले बजारलाई अपेक्षाअनुसार गति दिन सकेको छैन । यस्तै, आम लगानीकर्तामा पनि सकारात्मक मनोविज्ञानको विकास हुन आवश्यक छ । घटेको बजार पुनः बढ्छ भन्ने मानसिकता विकास हुनुपर्छ । यसो हुन सकेमा दीर्घकालमा बजारले सकारात्मक बाटो नै समाउन सक्नेछ ।