काठमाडौं। भारतको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) ले ४ सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्धजलाशय आयोजना बनाउने भएको छ।
७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको सेती नदी–६ आयोजनाको सर्वेक्षण अनुमति (लाइसेन्स) पाएको एनएचपिसीले नेपाल सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) सँगको साझेदारीमा फुकोट कर्णाली अर्धजलाशय आयोजना बनाउन लागेको हो।
नेपालको भियुसिएल र भारतको एनएचपिसी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्। आयोजना संयुक्तरूपमा विकास गर्ने विषयमा भियुसिएल र एनएचपिसीबीच समझदारी (एमओयु) हुन लागेको छ।
आयोजना बनाउन ९२ अर्ब रुपैयाँ लाग्ने भियुसिएलले गरेको अध्ययनले देखाएको छ। फुकोट कर्णालीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भियुसिएलले तयार पारिसकेको छ।
नेपाल र भारतबीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत आयात–निर्यात क्षमता ६ सय मेगावाटबाट ८ सय पुर्याउने सम्झौता भएको केही दिनपछि यो कदम चालिएको हो।
‘हाम्रो सरकारले भारत सरकारको कम्पनी एनएचपिसीलाई नेपालको विद्युत उत्पादन कम्पनीसँग मिलेर जलविद्युत आयोजना बनाउन आग्रह गरेको छ,’ ऊर्जा तथा जलस्रोत मन्त्रालयका सूचना अधिकारी बाबुराजा अधिकारीले क्यापिटल नेपालसँग भने।
प्रस्तावित एमओयुको मस्यौदाअनुसार एनएचपिसीको ५१ र भियुसिएको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी भएको छ।
एमओयुमा हस्ताक्षर भए कालिकोटको सानी त्रिवेणी गाउँपालिका–१ मा ४ सय ८० मेगावाट क्षमताको अर्धजलाशययुक्त फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुनेछ। आयोजनाको सम्भाव्यता अध्ययन सकिएको छ।
सानी त्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा ५ सय २० मिटरको परीक्षण सुरुङ खनेर १ सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर सुरुङबाट सानीको भौतेगाडामा निर्माण हुने विद्युत आयोजनामा जोड्ने योजना छ। निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा हुने अपेक्षा छ।
नेपाली कम्पनीसँग लगानीका लागि समझदारीपत्रको मस्यौदा तयार भइरहेको अधिकारीले बताए। सम्झौताको मस्यौदाअनुसार नेपालले आयोजनाबाट २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउने छ।
यसमा एनएचपिसीले आयोजनाबाट उत्पादित बिजुलीको बजार व्यवस्थापन र प्रवद्र्धक कम्पनीका तर्फबाट आयोजना निर्माण गर्न आवश्यक ऋण व्यवस्थापन गर्नुपर्ने छ।
नेपालले आयोजनाको बिजुली आफैं उपभोग गर्न चाहे किन्न पाउने हक हुनेछ। आयोजनाका अतिरिक्त विद्युत भारत निर्यात गरिने उनले बताए।
यता भियुसिएलले फुकोट कर्णालीको परीक्षण सुरुङ खन्ने काम जारी राखेको छ। दुवैतर्फ ५ सय २० मिटर सुरुङ खन्नुपर्नेमा ४ सय ८० मिटर खनिसकिएको छ भने अब ४० मिटरमात्र खन्न बाँकी रहेको आयोजना प्रमुख हिरामान वाइबाले बताए।
आयोजनाका लागि सुरुङ निर्माण गर्नुअघि त्यसको सम्भाव्यता अध्ययनस्वरूप परीक्षण सुरुङ खनिने उनले बताए। सुरुङ बनाउने पहाडभित्र त्यसका लागि उपयुक्त छ वा छैन भनेर परीक्षणका लागि सुरुङ खन्ने गरिन्छ ।
सिस्नेगाडामा १ सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर सुरुङमार्फत भौतेगडामा पानी खसाएर विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना गत भदौमा सञ्चालनमा आएपछि नेपाल ऊर्जा बचत भएको मुलुक बनेको छ।