मुलुकको अर्थतन्त्रको आकारको दुई प्रतिशतभन्दा बढी व्यापारिक कारोबारमार्फत योगदान पुर्याइरहेका शंकरलाल अग्रवालले जीवनमा कतिविधि संघर्ष गरे होलान्? उनको पाको मुहारमा कोरिएका एकेक रेखाबाटै प्रष्ट हुन्छ। निधारभरि नमेटिने रेखा अनि टाउकोमा सहजै गन्न सकिने कपाल, ४० वर्षे व्यावसायिक जीवन बिताएपछि अग्रवालले पाएको चिनारी हो– नेपालकै ठूलामध्ये एक व्यापारिक घराना शंकर ग्रुपका संस्थापक।
अग्रवाल उमेरले बल्ल ६८ टेक्दैछन्, तर जीवनका उतारचढाव, संघर्ष र सफलतामा उनी ‘युनिभर्सिटी’ जस्तै भइसके।
नेपालमा एउटै व्यापारिक घराना (ग्रुप) ले एकै वर्ष १ खर्ब १० अर्ब रुपैयाँबराबर कारोबार गर्छ, त्यो अरू होइन, अग्रवालको शंकर ग्रुप हो। व्यापार र उद्योगमार्फत मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने, रोजगारी सिर्जना गर्ने र नयाँ उद्यमी जन्माउनेमा शंकर ग्रुप विगतजस्तै अहिले पनि उस्तै रणनीतिमा काम गरिरहेको छ।
नेपालमा जति पनि व्यापारिक घराना छन् र बनेका छन्, तिनमा बाउबाजेको ठूलो योगदान छ। बाउबाजेले गरिआएको व्यवसायलाई छोरानातीले ‘सेकेन्ड लेभल’ मा पुर्याएका छन्। तर, शंकरलाल अग्रवाल अपवाद छोरा हुन्, जसले आफ्नै नामबाट ‘शंकर ग्रुप’ जन्माए र नेपालको एक प्रतिष्ठित र ठूलो व्यापारिक घरानामा परिणत गराउन सफल भए।
अग्रवालले शंकर ग्रुप बनाउन कति मिहिनेत गरे भनेर अध्ययन गर्न उनको अनुहार पढे छर्लङ्ग भइन्छ। नेपालमा हरेक व्यापारिक घरानाको लामो इतिहास छ। धेरैजसो घरानाबीच सम्पत्ति बाँडफाँटसमेत भइसकेको छ। गोल्छा ग्रुप, केडिया अर्गनाइजेसन, मुरारका ग्रुप, चौधरी ग्रुप, ज्योति ग्रुप, विशाल ग्रुप, एमएस ग्रुपलगायतले नेपालमा जति लामो इतिहास बनाएका छन्, त्यति लामो इतिहास अग्रवालको शंकर ग्रुपको छैन।
अग्रवालमा देशभित्रै केही गर्ने सोच थियो। नयाँ नयाँ उद्योग लगाउने, रोजगारी दिने, प्रतिष्ठित व्यावसायिक घराना बनाउने सपना बुनेका थिए सन् १९८० तिरै। त्यही सपना लिएर उनी जापान समेत पुगे। त्यही कम्पनी खोलेर १० वर्ष काम गरे।
शंकर रावतमलका कान्छा छोरा हुन्। रावतमल र सोहनलाल गोल्यान दाजुभाइ हुन्। सोहनलाल व्यवासायी पवन गोल्यानका बुबा हुन्। नेपालमा व्यवसाय गर्न तत्कालीन राजा महेन्द्रले बर्माबाट गोल्यान परिवारलाई नेपाल ल्याएका थिए।
रावतमल र सोहनलालबीच अंशबण्डा भएपछि आर्थिकरूपमा रावतमल कमजोर हुन पुगे। विराटनगरमा लगाएको उद्योग सोहनलाल नै लिएपछि रावतमल त्यो ठाउँ छाडेर वीरगन्ज गए। त्यहाँ पुगेर रावतमल ‘ट्रेडिङ बिजनेस’ मा लागे।
रावतमलका तीन भाइछोरा एकापसमा छुट्टिँदा पनि शंकरलाल अग्रवाल आर्थिक हिसाबमा थप कमजोर थिए। समय बदलियोे, अग्रवालको भाग्य। उनीसँग जोखिम बहन गर्नसक्ने अद्भूत क्षमता छ, त्यो पनि ‘क्याल्कुलेटिभ’ तरिकाले।
उनी हिसाबकिताबमा माहिर ‘बिजनेसम्यान’ हुन्। उनलाई नजिकबाट चिनेकाहरू भन्छन्, ‘शंकरलाई कुन वर्ष कुन उद्योगीले कति नाफा ग¥यो भन्ने लगभग–लगभग थाहा हुन्छ। उनले निकालेको नाफा नोक्सानको तथ्यांक मिल्दोजुल्दो हुन्छ। उनी नेपाली उद्योगी–व्यापारीका विकिपिडिया हुन् भन्दा फरक नपर्ला।’
अग्रवालसँग देशभित्रै केही गर्ने सोच थियो। उनले चार दशकअघि सन् १९८० तिर नयाँ–नयाँ उद्योग लगाउने, रोजगारी दिने, प्रतिष्ठित व्यापारिक घराना बनाउने सपना बुनेका थिए। त्यही सपना लिएर उनी जापानसम्म पुगे। त्यहीँ कम्पनी खोलेर १० वर्ष काम गरे।
त्यहाँबाट कमाएर ल्याएको पैसाबाट काठमाडौं बालाजुमा पहिलो उद्योगका रूपमा पाउरोटी कारखाना स्थापना गरे। त्यसअघि पनि उनका बुबाले बटम (टाँक) उद्योग लगाइसकेका थिए। तर, त्यो उद्योग भाइको भागमा परेपछि उद्योगविहीन बनेका शंकरले पाउरोटी उद्योगपछि लगत्तै काठमाडौं गोकर्णमा कार्बन पेपर उद्योग स्थापना गरे।
रावतमलले हुलासचन्द गोल्छासँग भएको लाइसेन्स (अनुमतिपत्र) लिएर भाँडाकुँडा बनाउने उद्योग लगाए। जहाँ गोल्छालाई ‘वर्किङ पार्टनर’ बनाएका थिए। पछि उद्योगले सफलता हात पार्दै गएपछि त्यो पनि आफूबाट खोसिएर गोल्छाको हातमा पुग्यो।
एकपछि अर्को असफलता बेहोरेपछि पुनः शंकरका बुबाले वीरगन्जमा व्यापार थाले। जहाँबाट उतिविघ्न आम्दानी हुन्थेन। सामान्य घरबार चलिरहेका बेला शंकरका दाजुभाइ पनि अलग्गिए।
अंशबण्डापछि शंकरको तरक्की
निरन्तर कमजोर आर्थिक अवस्थामा गुज्रिएका शंकरको अंशबण्डापछि प्रगतिको ‘ग्राफ’ उकालो लागेको हो। नयाँ–नयाँ सम्भावना खोजी, आफूभित्र भएको इमान्दारिता, नेपालको बजार शुक्ष्मरूपमा विश्लेषण गर्नसक्ने खुबी, आफूसँग जोडिएका व्यक्तिको भलो चिताउनेलगायत विशेषताले उनलाई यो सफलता दिएको हो।
सुरुमा जापान बसाइ, त्यहाँबाट कमाएर ल्याएको पैसाले खुलेका स–साना उद्योग। ती उद्योग बिक्रीपछि आएको पैसाबाट नयाँ र ठूला उद्योग प्रवेशले शंकरले उन्नतिका सिँढी उक्लिँदै गए।
तीन दाजुभाइ अलग्गिँदा पनि शंकर कमजोर आर्थिक हैसियतमै छुट्टिएका हुन्। तर, आज तीन दाजुभाइमा शंकरको लोभलाग्दो प्रगति छ। उनीहरूबीच तुलना नै हुँदैन। मिहिनेतका कारण चार दशकमा उनले जे जस्तो आर्थिक हैसियत बनाए, अहिले उनका दुई दाइलाई त्यो स्थानमा पुग्न लगभग असम्भव छ।
नेपालमा जति पनि व्यावसायिक घराना बनेका छन्, त्यसमा बाउबाजेको ठूलो योगदान छ। बाउबाजेले गरिआएको व्यवसायलाई छोरानातीले सेकेन्ड लेभलमा पुर्याएका छन्। तर, शंकरलाल अग्रवाल अपवाद छोरा हुन्, जो आफैले आफ्नै नामबाट शंकर ग्रुप जन्माए र नेपालको एक प्रतिष्ठित र ठूलो व्यावसायिक घराना बनाए। अग्रवालले शंकर ग्रुप बनाउन कति मिहिनेत गरे भनेर अध्ययन गर्न उनको अनुहार पढे छर्लङग भइन्छ। अन्यत्र कतै जान पर्दैन।
पहिलो उद्योगमा साझेदारका आफन्तबीच तिक्तता
अग्रवाल आज पनि गर्वसाथ पाउरोटी उद्योगको चर्चा गर्छन्, किनभने उनको जीवनमा आफ्नै लगानीमा खुलेको त्यो पहिलो उद्योग थियो। मुलुक आर्थिकरूपमा सम्पन्न हुन उद्योग नभई हुन्न भन्ने बुझाइले ४० वर्षअघि नै उनको मानसपटलमा डेरा जमाएको थियो। क्षणिक अर्थ आर्जन गर्न ट्रेडिङ बिजनेस रोजेका उनी आज पनि धेरै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीको व्यापार गर्छन्। तर, उनको मूलउद्देश्य भनेको मुलुकभित्रै नयाँ–नयाँ उद्योग लगाउने, उद्यमी जन्माउने नै हो।
‘जापानमा खोलेको कम्पनीबाट भएको आम्दानी र यहाँको ट्रेडिङ बिजनेसबाट आएको कमाइले पहिलो उद्योग खोलेँ,’ अग्रवाल भन्छन्, ‘आज एउटै उद्योगमा अर्बौं लगानी गरेको छु र त्यस्ता उद्योग धेरै छन्। तर, पाउरोटी उद्योग खोल्दाको सुखद क्षण र खुसीयाली अझै ताजा छ किनभने त्यो मेरो जीवनकै पहिलो उद्योग थियो।’
त्यो उद्योग केही वर्ष चल्यो। तर, त्यहाँबाट वार्षिक १०–१५ लाखभन्दा बढी आम्दानी थिएन। उनले पाउरोटी उद्योगसमेत साझेदारीमा खोलेका थिए। साझेदारका दाजुभाइबीच विवाद उत्पन्न भएपछि उनीहरूले पनि नयाँलाई भित्र्याए भने शंकरले पनि नयाँलाई सेयर बेचेर उद्योगबाट बाहिरिए। त्यसपछि उनी नयाँ सम्भावनाको खोजीमा भौंतारिन थाले।
कार्बन पेपर व्यापारमा शंकरको नेत्र
अग्रवालले पाउरोटी उद्योगमा जोडेका साझेदारका दाजुभाइबीच खटपट सुरु भएको थाहा पाएसँगै व्यवसाय लामो समय जाँदैन भन्ने बुझिसकेका थिए। र, उनी नयाँ व्यवसायको खोजीमा थिए।
सानो लगानीमा कुन व्यवसायमा सफलता मिल्छ भन्ने खोजी गर्दै जाँदा अग्रवालले भेट्टाए कार्बन पेपरको सम्भावना। त्यो बेलासम्म नेपालमा सतप्रतिशत कार्बन पेपर भारतबाट आपूर्ति भइरहेको थियो। धेरथोर सम्भावना पनि भएको र न्यून लगानीमै उद्योग चलाउन सकिने शंकरलाई लागेपछि त्यतातिर उनको प्रवेश भयो।
मिजासिलो स्वभाव, दिनरात खटिन सक्ने क्षमता, कुशल जनसम्पर्क भएका कारण उत्पादन भएको केही समयपछि नै नेपाली बजारमा उनको उत्पादनले बिस्तारै प्रभाव जमाउन थालिसकेको थियो। त्यो बेला वित्तीय क्षेत्र, सरकारी कार्यालयलगायत धेरै ठाउँमा कार्बन पेपर बीचमा राखेर काम कारबाही हुन्थे। त्यो सबै देखेका शंकरले कहाँबाट कार्बन बनाउन चाहिने सामग्री ल्याउनेदेखि बजार सम्भावनाबारे गहिरो अध्ययन गरे। त्यसपछि उनी यो क्षेत्रमा प्रवेश गरेका थिए।
स्टिल उद्योग खोलेसँगै फेरिएको परिचय
अग्रवालको रगतमा व्यवसायमात्रै घुलिरहन्थ्यो। मुलुककै प्रख्यात व्यापारिक घराना बनाउँछु वा बन्छ भन्नेमा उनी त्यति धेरै विश्वस्त थिएनन्। तर, नेपालमा नयाँ–नयाँ उद्योग लगाउने सोच र त्यसलाई साकार पार्न उनले अनेकन दुःख भोगेका छन्।
उनी व्यवसायमा बिस्तारै बामे सर्दै गर्दा उनका दौंतरी हजुरबुबा/बुबाले स्थापित गरेका व्यवसायलाई ‘नेक्स्ट लेभल’ मा पु¥याउने दौरानमा थिए। तर, उनको मनमा १९८० मै परिसकेको थियो– आफ्नै जीवनकालमा आफ्नै देशमा केही गर्छु।
दुई उद्योग लगाएर एउटा चरणमा पुर्याइसकेका अग्रवालको तेस्रो उद्योग बन्यो– जगदम्बा स्टिल। उनले रोलिङ मिल लगाउँदा नेपालमा नगन्य मात्रामा रोलिङ मिल थिए।
बजार माग, पूर्वाधार निर्माणको आवश्यकता र भविष्यमा यो क्षेत्रबाट हुने ‘रिटर्न’ बारे शुक्ष्म आँकलन गरेर अग्रवाल स्टिल उद्योग प्रवेश गरे। उनको उद्योगको उत्पादनले बिस्तारै बजारमा दरिलो उपस्थिति जनाउँदै गयो र कालान्तरमा ‘नम्बर वान’ स्टिल कम्पनी बन्न पुग्यो।
सानो लगानीमा कुन व्यवसायमा सफलता मिल्छ भन्ने खोजी गर्दै जाँदा अग्रवालले भेटाए कार्वनको सम्भावना। त्यो बेलासम्म नेपालमा सतप्रतिशत कार्वन भारतीय बजारबाट आपूर्ति भइरहेको थियो। धेरथोर सम्भावना पनि भएको र न्यून लगानीमै उद्योग चलाउन सकिने शंकरलाई लागेपछि त्यतातिर पनि उनको प्रवेश भयो।
म्यानमार–नेपाल–जापान–नेपाल
अग्रवालको परिवारलाई राजा महेन्द्रले म्यानमारबाट नेपाल ल्याएका थिए। उनका हजुरबुबाको व्यावसायिक आबद्धता म्यानमारमै थियो।
रावतमल गोल्यानले सन् ६० को दशकमा बटम उद्योग लगाएका थिए। म्यानमारबाट नेपाल आएर उद्योग लगाए पनि रावतमल गोल्यान भने सफल हुन सकेनन्। त्यसपछि गोल्यान ट्रेडिङ बजिनेसमा छिरे।
रावतमलका छोरा शंकरलाल अग्रवालले बाबुको व्यावसायिक यात्रा अगाडि बढाउन सन् १९७९ मै शंकर ग्रुप स्थापना गरे। त्यहीबाट अग्रवाल व्यावसायिक यात्रा सुरु भएको थियो। जापानबाट कमाएको पैसा व्यापारमा लगाएसँगै बिस्तारै उनले व्यापारमा अग्रसरता देखाएका हुन्।
अग्रवालका बुबाले स्थापना गरेका कुनै पनि उद्योग कालान्तरमा आफ्ना बनेनन्। रावतमलले खोलेको बटम उद्योग भाइलाई छाडिदिए भने भाँडाकुँडा बनाउने उद्योग गोल्छालाई।
बुबाले उद्योगमा सफलता कमाए पनि जोगाउन सकेनन्। त्यही भएर शंकरले भने ट्रेडिङबाट व्यावसायिक यात्रा थालेर बिस्तारै उद्योगतर्फ केन्द्रित गराए। आज शंकर ग्रुपसँग ४० भन्दा बढी कम्पनी छन्।
ठूला उद्योगमा प्रवेश
अग्रवालले सन् १९९४ मा जगदम्बा स्टिल उद्योग खोलेका थिए, जुन नेपालकै सबैभन्दा ठूलो उद्योग हो। २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो। यस्तै धागो उद्योग जगदम्बा यार्न सफल कम्पनी हो। सिमेन्ट र डन्डी उद्योग नेपालकै ‘पायोनियर’ मानिन्छ।
अग्रवालले खाद्यान्न, सिमेन्ट, स्टिल, अटोमोटिभ, हस्पिटालिटी, हाइड्रोपावर, एफएमसिजी, एग्रो, टोबाको, स्प्रिट, स्पोर्ट्स, ह्वाइट गुड्स, माइनिङ, लजिस्टिकलगायत कम्पनी एकसाथ अघि बढाएका छन्।
उनले सौर्य सिमेन्टमा १४ अर्ब, निर्माणाधीन होटल हिल्टनमा पौने ७ अर्ब, राइनो स्टिलमा साढे ९ अर्ब, विभिन्न जलविद्युत कम्पनीमा साढे ५ अर्ब रुपैयाँ लगानी गरेका छन्।
अग्रवालले एकलसहित साझेदारमा पनि व्यावसायिक यात्रा फैलाएका छन्। उनले सौरभ ग्रुप तथा अम्बे ग्रुपसँगको साझेदारीमा लगानी विस्तार गरेका छन्।
नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता बनेपछि नेपाली ‘टु ह्विलर’ बजारमा टिभिएसले बलियो उपस्थिति बनायो। अहिले टिभिएस मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल हुन्छ। केही समय अघिदेखि शंकर ग्रुपले मलेसियाको प्रोटोन गाडी नेपालमा बिक्रीका लागि भित्र्याएको छ।
यसबाहेक सिमेन्ट उद्योगमा पछिल्लो समय हेटौंडामा रिद्धिसिद्धि तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ। नक्सालमा पाँचतारे होटल हिल्टन बनाइरहेको छ।
वित्तीय क्षेत्रमा अग्रवालको सबैभन्दा बढी लगानी रहेको जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स हो। यसबाहेक हालै लाइसेन्स पाएको हिमालयन रि–इन्स्योरेन्समा शंकर ग्रुपको ठूलो लगानी छ।
जगदम्बा स्टिल, जगदम्बा मोटर्स, जगदम्बा सिमेन्ट, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा फ्लोर र एग्रो, जगदम्बा मोबाइल्स, जगदम्बा अल्कोबेभ, जगदम्बा ओभरसिज, मोदीखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्टलगायत कम्पनीमा लगानी र साझेदारी छ।
ऋणदेखि सधैं डराउँछन् शंकर
शंकरलाल अग्रवाल नयाँ व्यवसाय खोल्न जति आतुर हुन्छन्, ऋणका मामलामा त्यति नै गम्भीर र संवेदनशील बन्छन्। दुर्भाग्य भनौं वा भाग्य, उनले नेपालको आर्थिक मन्दी नराम्ररी खेपेका छन्। त्यही भएर उनी जहिले पनि ऋणसँग डराउँछन्।
नयाँ व्यवसायको प्रस्ताव गहिरो गरी बुझ्छन्, सुन्छन्, विश्लेषण गर्छन्। प्रस्तावले विश्लेषण गरेको तथ्य र तथ्यांक एक्लै बसेर थप शुक्ष्म विचार मन्थन गर्छन्। त्यसको व्यावसायिक सम्भावना देखे भने तुरुन्त लगानी गर्छन्। त्यही भएर होला, शंकर जुन–जुन व्यवसायमा प्रवेश गरे, कुनैबाट पनि असफल हुनुपरेको छैन।
लगानी गर्दा प्रतिफल पनि सँगै हिसाबकिताब गर्छन्। बैंकरहरू पनि उनको हिसाबकिताब देखेर दङ्ग पर्छन्। ‘मैले विभिन्न समयमा विश्वभरि देखापरेका आर्थिक मन्दीसँग राम्रैसँग जुधेको छु। खासगरी सन् २००८÷०९ को विश्वव्यापी आर्थिक मन्दी र त्यसबाट उत्पन्न परिस्थिति नजिकबाट नियालेको छु,’ उनी सम्झिन्छन्।
त्यो बेला उनले विभिन्न बैंकबाट करिब–करिब १ अर्ब रुपैयाँ ऋण लिइसकेका थिए। तर, विश्वव्यापी आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परिरहेको थियो।
एकातिर, उत्पादित सामग्री सोचेअनुसार बजार नजानु र अर्कातिर बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज दबाब आइपर्नु। ‘बैंकको कालोसूचीमा परियो भने बाँकी व्यावसायिक जीवन नै बर्बाद हुन्छ’ भन्ने चिन्ताले काठमाडौंका ‘प्राइम’ ठाउँमा भएका जग्गा बेचेर अग्रवालले बैंक ऋण चुक्ता गरे।
यतिसम्मकि, हालको संसद भवन अगाडि रहेको अजयराज सुमार्गीको मुक्ति टावर भएको जग्गा शंकरले सन् २००८ मा बिक्री गरेर तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट लिएको ऋण चुक्ता गरेका हुन्। जबकि, शंकरले नयाँबानेश्वरमा आफ्नो कर्पोरेट भवन बनाउन आवश्यक तयारीसमेत गरिसकेका थिए।
त्यो बेला उनले न्युरोड, कुलेश्वर, वनस्थलीलगायत ठाउँमा जोडेका जग्गासमेत बेचेर बैंक ऋण शून्यमा झारेका थिए। तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल) का अध्यक्ष पृथ्वीबहादुर पाँडेले शंकरलाई भेटेर ‘तपाईंको अवस्था नराम्रो छैन। अहिले आत्तिएर ऋण तिर्नुपर्दैन। भोलि अप्ठयारो अवस्था आयो भने पनि मिलाउँला’ भन्दासमेत शंकरले मानेनन् र प्राइम ठाउँका जग्गा बेचेर ऋणमुक्त बने।
जोखिम लिनसक्ने अभूतपूर्व क्षमता
शंकरको आवरणले भित्री क्षमता पर्गेल्न कठिन हुन्छ। शंकरमाथि सर्सर्ती विश्लेषण गर्दा उनी व्यावसायिक हिसाबमा त्यति आँटिलो, बजार बुझ्न सकिने व्यक्तिभित्र पर्दैनन्। तर, उनको वास्तविक खासियत भनेकै ‘रिस्क टेकिङ क्यापासिटी’ हो।
उनी जोखिम मोलेर काम गर्न र खटिन सक्छन्। अहिले उनीसँगैका साथीसङ्गी व्यवसायको भारी नयाँ पुस्तालाई जिम्मा लगाएर आनन्दले बसेका छन्। तर, शंकर अझै पनि नयाँ–नयाँ व्यवसाय खोजी गर्ने, उनीसमक्ष आइपुगेका आइडियाको बजार बुझ्ने, अर्थतन्त्रको दिशा केलाउन र नयाँ पुस्तालाई बाटो देखाउने गरिरहेका छन्।
उनले व्यवसाय सुरु गरेको ४३ वर्षहाराहारी भयो। यो बीचमा करिब ४० कम्पनी स्थापना भइसके। यहीबाट बुझिन्छ, उनीसँग जोखिम बहन गर्नसक्ने क्षमता उच्च छ।
तर, यदि १ सय रुपैयाँमा किनेको सामान भोलि मूल्य घटेर ९० रुपैयाँ बेच्नु पर्यो र घाटा हुने अवस्था आयो भने अन द स्पट सहुलियत पनि दिन्छन्। उनको मुल मन्त्र भनेकै व्यापारी मर्नु हुँदैन भन्ने छ। यो मामलामा अग्रवाल बहुत संवेदनशील छन्। दुरदर्शी छन्। त्यही दुरदर्शीका कारण छोटो अवधिमा आर्थिक साम्रज्य खडा भएको हो। अग्रवालसँग धेरै व्यापारी जोडिएका छन्। कारण व्यापारीलाई मर्न दिँदैनन्।
शंकरका सारथी शुलभ र शाहिल
शंकर ग्रुपका अध्यक्ष हुन् अग्रवाल। उनी दैनिक अफिस आउने, दैनिक कारोबारको विवरण हेर्ने, विश्वबजारमा कुन वस्तुको मूल्यमा उतारचढाव भएको छ? त्यसले आफ्ना उत्पादनलाई कहाँनेर सहयोग वा घाटा पुर्याउँछ? त्यसको विश्लेषण तथा निगरानी गर्ने गर्छन्।
केही समयअघि मात्रै रुस–युक्रेन युद्धले विश्वबजारमा कोइला, खानेतेल, स्टिलको मूल्य आकासियो। त्यो बेला शंकर नेपालको अर्थतन्त्रमाथि कालो बादल मडारिन थालेको रूपमा अर्थ्याउँथे। विश्वपरिवेश र नेपालका नीतिगत परिवर्तन नजिकबाट नियाल्ने एवं त्यसले व्यावसायिक वातावरणमा कस्तो असर पर्छ भनेर मिहिन विश्लेषण गर्न सक्ने खुबी उनीभित्र छ।
कुनै समय शंकर एक्लै बजार दौडिन्थे। आफ्ना उत्पादन बजारीकरण गर्थे। तर, अहिले उनीसँग उनका दुई छोरा (शुलभ र शाहिल) सँगै छन्, जसले शंकरलाल अग्रवालले बनाएको साम्राज्यलाई थप विस्तार तथा विश्वव्यापी बनाए।
विदेश अध्ययन गरी स्वदेश फर्किएका दुई छोरामध्ये शाहिल उत्पादनमूलक क्षेत्रमा अब्बल मानिन्छन् भने शुलभ वित्तीय क्षेत्रबारे राम्रोसँग ज्ञान राख्छन्। त्यही भएर शंकर ग्रुपको दुवै क्षेत्रमा सशक्त उपस्थिति छ।
शंकर ग्रुप यस्तो व्यापारिक घराना हो, जसले नेपालमा ‘भ्यालु एड’ गर्ने उद्योगमा बढी जोड दिन्छ। सिमेन्ट उद्योगमात्रै तीनवटा छन्। क्लिंकर फ्याक्ट्री छन्। यी सबै व्यवसाय सम्हालेर नयाँ तरिकाबाट अघि बढाउन छोराहरू शाहिल र शुलभको योगदान महत्वपूर्ण छ।
‘अन द स्पट’ सहुलियत
कुनै समय व्यापारमा आफूले ठूलै घाटा बेहोरेकाले होला, सायद शंकर आफूसँग आबद्ध व्यापारीलाई घाटा हुनै दिँदैनन्। कारणबस घाटा भइहाल्यो भने ‘अन द स्पट’ (ठाउँको ठाउँ) सहुलियत दिएर भए पनि उनीहरूलाई राहत दिन्छन्। त्यही भएर शंकरसँग धेरै व्यापारी जोडिएका छन्।
शंकरलाई कपडा व्यापारमा घाटा लागे पनि उनी विचलित नभई एकोहोरो व्यापारमा लागिरहे। छोटो समयमै यति ठूलो साम्राज्य खडा हुनुका पछाडि बिहान ६ बजेदेखि राति १० बजेसम्म गर्ने निरन्तर मिहिनेत हो।
शंकर धैर्यता गुमाउँदैनन्। सुरुमा व्यापार ठूलै थियो। परिस्थितिले सानो आकार बनाइदियो। तर, अहिले अग्रवालको व्यापार र उद्योगमा नयाँ ‘रेकर्ड’ बनिसकेको छ।
व्यापारमा घाटा लागे पनि कोही व्यक्तिलाई दिनुपर्ने रकम छ भने कुनै खराब नियत राख्दैनन्। दिन्छु भनेको बेलामा दिन नसके पनि पछि ब्याजको हिसाबकिताब गरेर रकम फिर्ता गरिदिन्छन्। व्यावसायिक क्षेत्रमा इमान्दारितामा शंकरलाल अग्रवाल कहलिएको नाम हो। अधिकांश व्यवसायीले अग्रवाललाई ‘म्यान अफ कमिटमेन्ट’ का रूपमा पनि चिन्छन्।
अग्रवालको अर्को सुन्दर पक्ष भनेको व्यवसायीको हित हेर्नु हो। कुनै व्यवसायीलाई १ सय रुपैयाँमा सामान बेच्ने कमिटमेन्ट गरिसकेका छन् तर त्यही सामानको भाउ बढेर १ सय ४० पुग्यो भने पनि अग्रवालले १ सय रुपैयाँमै सामान दिन्छन्।
तर, यदि १ सय रुपैयाँमा किनेको सामान भोलि मूल्य घटेर ९० रुपैयाँमा बेच्नुपर्यो र घाटा हुने अवस्था आयो भने अन द स्पट सहुलियत पनि दिन्छन्। उनको मूलमन्त्र भनेकै ‘व्यापारी मर्नु हुँदैन’ भन्ने छ। यो मामलामा अग्रवाल असाध्यै संवेदनशील र दुरदर्शी छन्। त्यही दुरदर्शिताका कारण छोटो अवधिमा उनको आर्थिक साम्राज्य खडा भएको हो।
अग्रवालसँग धेरै व्यापारी जोडिएका छन्। कारण, व्यापारीलाई मर्न दिँदैनन्। त्यसबाहेक अग्रवालले आफ्ना दिदीबहिनी, भान्जाभान्जी, नजिकका आफन्त र पुराना साथीलाई कहीँ न कहीँ आफ्नो व्यवसायमा आबद्ध गरेका छन्।
शंकरको हातमै जस
शंकरसँग जोडिएका जो कोही पनि समृद्ध भएका छन्। उनको हातमै जस छ। जसलाई उनी मन पराउँछन्, तिनीहरूको प्रगति भएकै छ।
उनीसँग जो–जो जोडिए, ती सबैको फलिफाप भएको छ। शंकरमात्रै बनेनन्, उनीसँग जोडिएका सबैको आर्थिक हैसियत राम्रो बनाइदिएका छन्। लखपति शंकरसँग जोडिएका थिए भने करोडपति बने। करोडपति जोडिएका थिए भने अर्बपति भए। अर्बपति जोडिएका थिए भने खर्बपति बने।
त्यो पनि कुनै खराब कार्यबाट होइन। ‘म पनि कमाउँछु, तपाईं पनि कमाउनुस्’ भन्ने शंकरसँग जोडिँदा उनीसँगै जोडिने व्यक्तिको पनि भलो भएको छ।
खर्बका मालिक
शंकर ग्रुपभित्र ४० कम्पनी छन्। ती कम्पनीको वार्षिक कारोबार १ खर्ब १० अर्बबराबर पुगिसकेको छ। नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड पुगेको छ। आजभन्दा ४० वर्षअघि ट्रेडिङ बिजनेसबाट व्यावसायिक यात्रा सुरु गरेका शंकरलाल अग्रवालसँग विश्वका ख्यातिप्राप्त कम्पनीदेखि स्वदेशी ब्रान्डसम्म छन्।
शंकर ग्रुपसँगै नयाँ पुस्ताले जगदम्बा ग्रुप, जगदम्बा होल्डिङ्सलाई पनि ठूलो ग्रुप बनाउँदै अगाडि बढाइरहेको छ।
अग्रवालले बैंक तथा वित्तीय संस्थाबाट ७० अर्ब रुपैयाँ ऋण लिएका छन् भने उनले २० अर्ब रुपैयाँ लगानी गरेका छन्। उनको ग्रुपमा आबद्ध व्यवसायमा ९० अर्ब रुपैयाँ लगानी भएको छ। हाल शंकर ग्रुपका कम्पनीमा १५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।