काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणको साँवा र ब्याज भाखा नाघेको ३० दिनभित्र तिरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गरी ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरेको हो।
यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा÷ब्याजमा मात्र लागु हुने भएको छ। यदी कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन पाउने केन्द्रीय बैंकले जनाएको छ।
यस्तै साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल गरी उल्लेखित सर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने भएको छ।
पुनरतालिकीकरण ÷ पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने निर्देशनमा उल्लेख छ।
यसरी पुनरतालिकीकरण ÷ पुनरसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्ने छ।
पुनरतालिकीकरण÷पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
स्पष्ट आधार बिना पुनरतालिकीकरण ÷ पुनरसंरचना गरिएको पाइएमा कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।