काठमाडौं। सिभिल बैंकलाई समाहित गरेपछि हिमालयन बैंकको नाममा एकीकृत बैंकिङ कारोबार सुरु भएको छ। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शुक्रबार एक समारोहकाबीच एकीकृत बैंकिङ कारोबार सुरु गरेका छन्।
सिभिललाई समाहित गरेपछि थप उत्कृष्ठताका साथ समृद्धिको बाटोमा अघि बढ्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका छन्। मर्जपछि हिमालयन बैंकको कुल पुँजी ३४ अर्ब, कुल सम्पत्ति ३ खर्ब ३४ अर्ब रुपैयाँ पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यस्तै बैंकको निक्षेप २ खर्ब ७४ अर्ब, कर्जा लगानी २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। बैंकको १ सय ८९ वटा शाखा, २० वटा विस्तारित काउन्टर र २ सय ६३ भन्दा बढी एटिएम बुथबाट सेवा प्रवाह गर्ने बैंकले जनाएको छ।
सो अवसरमा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले आगामी दिनमा झन् सक्षम र सबल हुनका लागि दुई बैंक एक भएको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोकशमशेर राणाले हिमालयन बैंक देशकै उत्कृष्ठ र सबल वित्तीय संस्था भएको बताए।राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको बताए ।
आगामी दिनमा लगानीकर्तालाई उच्चतम् प्रतिफल दिनुका साथै ग्राहकहरूलाई नवीनतम प्रविधियुक्त सेवा दिने उनले जानकारी दिए। सिभिललाई समाहित गरेपछि पनि सञ्चालक समिति हिमालयनकै हुने भएको छ।
हिमालयन बैंकको सञ्चालकमा फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक छन्।
सिभिल र हिमालयन बैंक १००ः८० अनुपातमा मर्ज भएका हुन्। हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।