काठमाडौं । हिमालयन बैंकसँग मर्ज भएपछि सिभिल बैंक छाडेका सुनिल पोखरेल एक विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका छन् ।
पोखरेल पपुवा न्यूगिनीमा भर्खरै खुलेको टिसा बैंकको सिइओ बन्न लागेका हुन्। पपुवा न्यूगिनीमा विदेशी बैंक मात्र सञ्चालनमा रहेका बेला टिसा त्यहाँको पहिलो स्थानीय बैंक भएको छ।
सिइओको जिम्मेबारी सम्हाल्न अर्कोसाता पपुवा न्यूगिनी जान लागेको पोखरेलले बताए। उनी गएपछि टिसा बैंक सञ्चालनमा आउने भएको छ।
हिमालयन बैंकसँग समाहित भएपछि पोखरेल बुधबार स्वेच्छिक अवकास सुविधा (भिआरएसआर) लिएर बाहिरिएका हुन्। २०७८ असारदेखि पोखरेलले सिभिल बैंकको सिइओको जिम्मेबारी सम्हालेका हुन
सिभिल बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङ सिभिल छोडेर विदेशी बैंकको सीईओ बन्न गएपछि सिभिल बैंकको सिईओ पोखरेल बनेका थिए । गोविन्द अहिले कृषि विकास बैंकको सिइओ बनेका छन्।
हिमालयनसँग समाहित भएपछि पोखरेललाई सिनियर डिसिओ बनाउने सहमति भएको थियो। उनले यसलाई छाडेर टिसा बैंकलाई रोज्न पुगेका छन्।
सन् १९९१ मा तत्कालिन नेपाल ग्रिण्डलैज बैंक (हालको स्ट्यान्डर्ड चाटर्ड बैंक) बाट बैंकिङ करियर सुरु गरेका सुनील ३ दशक भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताइसकेका एक अनुभवी बैंकर हुन् ।
उनले साढे १९ वर्ष स्ट्यान्डर्ड चाटर्ड बैंकमा काम गरे । यसबीचमा अफगानिस्तानमा गएर स्ट्यान्डर्ड चाटर्ड बैंकमा पनि काम गरे ।
त्यसपछि उनी नेपाल फर्किएर एनआईसी एसिया बैकमा साढे ५ वर्ष र नबिल बैंकमा १ वर्ष, म्यानमारको एजीडी बैंक र युएबी बैंकमा काम गरेको अनुभव छ । नेपाल फर्किएपछि उनले सिभिल बैंकमा डेपुटी सिइओ भएर काम गरेका थिए।