काठमाडौं। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यताप्राप्त सिभिल बैंक सञ्चालक समिति सदस्य बनेको चार वर्षमै प्रतापजंग पाण्डे अध्यक्ष बने।
उनी यस्तो बेला अध्यक्ष बनेका थिए, जुन बेला बैंकको शाख सामाजिक रूपमा गुम्दै गएको थियो। खासगरी सिभिल ग्रुपका तत्कालीन अध्यक्ष इच्छाराज तामाङका कारण सिभिल बैंकको शाख गुम्न थालेको थियो।
इच्छाराजले सञ्चालन गरेको सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सिभिल होम्सलगायत व्यवसाय समस्यामा परे। सिभिल सहकारीको बचत रकम अपचलन गरेपछि तामाङ जेल परे। र, बैंकको अध्यक्षको जिम्मेवारी पाण्डेको काँधमा आइपुगेको थियो।
सहकारीमा ७ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना पुष्टि भएपछि बैंक अध्यक्ष नै जेल पुग्दा सामाजिक रूपमा सिभिल बैंकलाई हेर्ने दृष्टिकोण नकारात्मक हुन पुगेको थियो। तर, पाण्डे नेतृत्वको सञ्चालक समितिले त्यसलाई चिर्न बैंकका वित्तीय सूचक सुधारमा अहोरात्र खटेर लाग्यो। पाण्डेको नेतृत्वमा बैंक आएपछि सिभिल बैंकको वित्तीय सूचकहरूमा सुधार देखियो।
इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स (आइएलएफसी) सिभिलमा समाहित हुँदा पाण्डे सञ्चालक समितिमा थिए, र त्यही बेलादेखि नै सिभिलको वित्तीय सुधार सुरु भएको थियो। १७ वर्षे इतिहास बोकेको आइएलएफसीमा पाण्डे परिवारकै बाहुल्य लगानी भएकाले पनि सञ्चालकका रूपमा पाण्डे (प्रतापजंग) अनुभवी व्यक्ति थिए। त्यही भएर इच्छाराजले मर्ज भएका संस्थाको प्रतिनिधिका रूपमा पाण्डे सिभिल भित्र्याएका थिए।
नेपाल राष्ट्र बैंकले केही वर्षदेखि नै बैंकहरूलाई मर्जरमा जान दबाब दिइरहेको थियो। धेरै ठूला बैंक मर्जरमा गइरहेका बेला सिभिललाई पनि दबाब धेरै थियो। तर, सिभिललाई जुन–जुन बैंकले प्रस्ताव गरे, तिनले सिभिललाई सम्मानजनक हैसियत दिन मानेन्। फलस्वरूप सिभिल सञ्चालकहरूले मर्जरका लागि बैंक छान्नेभन्दा पनि आफ्ना वित्तीय सूचक बढाउने, बिजनेस बढाउने र खराब कर्जा हटाउने अभियान अगाडि बढायो।
बैंकलाई प्रविधिमैत्री बनाउन फाइल बोकेर हिँड्नुपर्ने बाध्यता हटाउँदै पूर्णप्रविधि मैत्री बनाउन पाण्डे लागिपरे। ‘हामीले चार वर्षमा ३ लाख ग्राहकबाट एकैपटक ८ लाखमा पुर्याउन सफल भएका थियौं,’ सिभिल अध्यक्ष पाण्डे क्यापिटल नेपालसँग भन्छन्, ‘अहिले सम्झिँदा रमाइलो लाग्छ।’
सिभिल बैंक मर्जरमा नगएको भए पाण्डेको चार वर्षे कार्यकाल २०८० वैशाखमा सकिन्थ्यो। तर, उनले आफ्नो कार्यकालभन्दा बैंकको भविष्य हेरेर हिमालयन बैंकसँग मर्ज गराए। जुन उनी र उनको टिमको ठूलो सफलता हो।
‘३० वर्षे इतिहास बोकेको हिमालयन बैंकसँग १२ वर्षअघि स्थापना भएको सिभिल बैंक मर्जरमा जान पाउनु नै सौभाग्य हो,’ अध्यक्ष पाण्डे भन्छन्, ‘अहिलेको अवस्थामा अन्तिम स्थानमा रहेको बैंक एकैपटक सातौं वरियतामा आइपुगेको छ। यसले ग्राहकको विश्वास झनै बढेर जाने छ।’
बैंकले आज शुक्रबारबाट एकीकृत कारोबार गर्दैछ। सिभिल हिमालयनमा समाहित भएपछि बैंकको कुल पुँजी बढेर ३४ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप २ खर्ब ७४ र कर्जा लगानी २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। यस्तै शाखा संख्या १ सय ८९ पुगेको बैंकले जनाएको छ।
हिमालयन बैंक र सिभिल बैंकबीच १ सयबराबर ८० कित्ता (१००ः८०) को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) अर्थात् सिभिल बैंकको १ सय कित्ता सेयरबराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपात कायम भएको छ।
सिभिललाई ८० रुपैयाँको स्वाप दिन हिमालयनलाई बाध्य पार्ने ‘फ्याक्टर’ मा अध्यक्ष र सञ्चालकको ‘डिल’ मात्र नभई उच्च व्यवस्थापनले बैंकको वित्तीय स्वास्थ्यमा ल्याएको तीव्र सुधार पनि हो। पछिल्लो समय सिभिलको वित्तीय स्वास्थ्यमा निकै ठूलो सुधार भएको थियो।
‘हामीलाई सञ्चालक चाहिएन, तर वर्षौंदेखि यही संस्थामा रहेर काम गरेका कर्मचारी समायोजन र विश्वास गर्ने हजारौं सेयरधनी पनि निराश हुनुभएन,’ समान हैसियतमा मर्जरमा लैजान कसरी सफल हुनुभयो त भन्ने प्रश्नमा पाण्डे भन्छन्, ‘यही अडानकै कारण अहिलेको अवस्थामा आउन सफल भएका हौं।’
हिमालयनसँग समाहित हुनुअघि सिभिलको सञ्चित कोष २ अर्ब ८२ करोड रुपैयाँको छ। ६ महिनाको अवधिमा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ।
सिभिलका जन्मदाता जेलमा
हिमालयन बैंकमा सिभिल बैंक विलय भइरहँदा यसका मुख्य जन्मदाता इच्छाराज तामाङ भने जेल जीवन बिताइरहेका छन्। १२ वर्षअघि सिभिल बैंक स्थापना गरेका इच्छाराज सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको अभियोग पुष्टि भएपछि जेल चलान भएका थिए। तर, उनै इच्छाराजले स्थापना गरेको बैंक भने अहिले सातौं स्थानको हैसियत कायम गर्ने गरी हिमालयन बैंकसँग मर्ज भएको छ।
अध्यक्ष जेल जाँदा पनि नखस्किएको सिभिलको ब्रान्ड
तत्कालीन अध्यक्ष इच्छाराज जेल गए पनि ‘ब्रान्ड इमेज’ मा कुनै प्रभाव परेन। इच्छाराज जेल परे पनि बैंकको अग्रगति कहिल्यै रोकिएन। बरु, बैंकको प्रगति र विकासमा सहयोगसमेत पुग्यो। इच्छाराज सिभिल बैंकभन्दा अन्य वित्तीय संस्थाका कारण जेल परेकाले बैंकको ब्रान्ड र व्यापारमा कुनै समस्या नभएको अध्यक्ष पाण्डेको भनाइ छ।
पाण्डेको त्याग
हिमालयन बैंकसँग मर्जरमा गइरहँदा पाण्डे आफूले कुनै पनि पद लिएनन्। आफ्ना सेयर सदस्य र ग्राहकको भाग्य र भविष्यलाई हेर्दै हिमालयन बैंकमा समाहित गरेपछि पाण्डेसहितको टिमको प्रशंसा भइरहेको छ।
सिभिलका कुनै पनि कर्मचारी बेखुस देखिँदैनन् भने सेयर होल्डर पनि खुसी देखिएका छन्। अहिलेको सम्झौताअनुसार सिभिल बैंकबाट बैंक सञ्चालक समितिमा कसैको पनि प्रतिनिधित्व हुँदैन।
त्यतिमात्र नभई प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत हिमालयन बैंककै रहने गरी सम्झौता गरिएको छ। यदि पाण्डेले चाहेको भए सञ्चालक समितिमा रहन सक्थे। पाण्डेले सञ्चालक समिति र सिइओभन्दा राम्रो स्वाप रेसियो र सम्मानजनक कर्मचारी समायोजनमा ध्यान दिए।
उनले कर्मचारी समायोजन सम्मानजनक नभए मर्ज सम्झौता नै नगर्ने अडान लिएपछि हिमालयन त्यो प्रस्तावसमेत मान्न तयार भएको थियो।