काठमाडाैं। काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ।
परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको महानगर वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
आज टेकुमा १२ टन कुहिने फोहरबाट मल बनाउने काम सुरु गरिएको हो। कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ।
यसअघि महानगरले काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहरलाई यही नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो। एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ।
श्रेष्ठले भने, 'सबै फोहर एकै स्थानमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यलयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थाल्नुपर्छ। यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ।'
उनका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।
काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ। त्यसका लागि महानगरले फोहर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ। आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहरबाट मल बनाउने कामको थालनी हुने भनाइ महानगरकाे छ।
यो सँगै कामपाका ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने कामपाको तयारी रहेको छ। त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा कामपाले नागरिकलाई वितरण गरिरहेको छ।
महानगरले गत साउन एक गतेदेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ।
महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।
विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ। ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ।
महानगरको कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन। पछिल्लो समय उत्पादन हुने फोहरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ।
फोहरको वर्गीकरणबिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिनादिनसम्म काठमाडौं उपत्यकाको फोहर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ।