काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलहरुमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नहुने भएको छ।
मार्च २६ देखि समर सेडुअल सुरु हुने भएपछि एयरलाइन्सहरुले नयाँ तालिकाका लागि स्वीकृती लिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बताए।
उनका अनुसार नयाँ तालिका स्वीकृतीका लागि सबै विमानस्थलमा बाँकी रहेका बक्यौता अनिवार्य रुपमा एयरलाइन्सहरुले तिर्नुपर्छ। प्राधिकरणका प्रवक्ता निरौलाले एक महिना अघिसम्मको शुल्क बुझाएपछि मात्र नयाँ तालिका स्वीकृत गर्ने जानकारी सबै एयरलाइन्सहरुलाई दिइसकेको बताए।
विमानस्थल प्रयोग बापत विभिन्न एयरलाइन्सहरुले बुझाउनुपर्ने शुल्क समयमा नतिरेपछि प्राधिकरणले उडान तालिका स्वीकृती लिदानै कडाइ गर्न लागेको हो। कुन-कुन एयरलाइन्सले कति रकम तिर्न बाँकी छ भन्ने जानकारी भने प्राधिकरणले दिएको छैन।
पछिल्लो समय बिजनेस घटेको भन्दै एयरलाइन्स कम्पनीहरुले विमानस्थललाई कर तथा सेवा शुल्क बुझाउन आलटाल गरिरहेका बेला प्राधिकरणले नयाँ सर्कुलर ल्याएको हो। योसँगै अब एयरलाइन्सहरुले नयाँ उडान तालिका स्वीकृतीका लागि सबै बक्यौता तिर्नुपर्ने बाध्यता आइपरेको छ।
यो नियम आन्तरिक एवंम अन्तर्राष्ट्रिय उडान गर्ने सम्पूर्ण एयरलाइन्सहरुलाई भएको प्राधिकरणको प्रवक्ता निरौलाको भनाइ छ।
लामो समयसम्म बक्यौता तिर्न एयरलाइन्सहरुले आनाकानी गर्न थालेपछि उडान तालिका स्वीकृतीमै कडाइ गरिएको उनको भनाइ छ। अहिले सबै विमानस्थलहरुबाट सूचना संकलन गरिरहेको र केही दिनभित्रै कुन विमानस्थलमा कुन एयरलाइन्सले कति रकम तिर्न बाँकी छ भन्ने तथ्यांक निकालिसक्ने प्रवक्ता निरौलाले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पनि आन्तरिक एवंम् बाह्य उडानमा रहेका एयरलाइन्सहरुले बुझाउनुपर्ने बक्यौता संकलन गरिरहेको जानकारी दिए। ‘केही दिनभित्र नै बक्यौता रकमको विवरण तयार पारेर सम्बन्धित एयरलाइन्सहरुसँग छलफल गर्ने छौं,’ प्रवक्ता सिटौलाले भने, ‘प्राधिकरणको निर्देशनलाई कडाइका साथ पालना गर्न हामी तयार छौं।’
खासगरी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुले लामोसमयसम्म बक्यौता नतिर्ने र बीचमै उडान बन्द हुने भएकाले पनि प्राधिकरणले उडान तालिकालाई कडाइ बनाउन लागेको बताइन्छ।
हाल नेपालमा एक दर्जन भन्दा बढी विदेशी एयरलाइन्स, नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। यस्तै आन्तरिक उडानमा बुद्ध, यती, श्री, सौर्य, तारा, सीता र समिट एयरले उडान गर्दै आएका छन्।