काठमाडौं। चालू आर्थिक वर्ष २०७९/८० को पहिलोे सात महिना (साउनदेखि माघसम्म)मा २ हजार ९ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा ५ अर्ब ६२ करोड ९९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ युनिट विद्युतीय सवारी नेपाल भित्रिएको हो। यी विद्युतीय सवारीमा कार, जिप, भ्यान आदि छन्। यसबाट सरकारले १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार राजस्व संकलन गरेको छ।
यो अवधिमा सय किलोवाट क्षमतासम्मको १ हजार ९ सय ५९, सयदेखि दुई सय किलोवाटको ४४ र २ सयदेखि ३ सय किलोवाटको ६ सवारी साधन नेपाल भित्रिएका छन्। विभागको तथ्यांकलाई हेर्दा आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्र २११ युनिट विद्युतीय सवारी मुलुकमा भित्रिएको देखिन्छ।
त्यस्तै भदौमा २ सय तीन, असोजमा २ सय ९१, कात्तिकमा ३ सय १३, मंसिरमा ३ सय ३५, पुसमा ३ सय ९६ र माघ महिनामा २ सय ६० युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
चालू आर्थिक वर्षको सात महिनामा भारतबाट १ हजार ४ सय ३५, चीनबाट २ सय ७६, कोरियाबाट २ सय ४६, अमेरिकाबाट ४ र इन्डोनेसियाबाट ३ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
चालू आर्थिक वर्ष २०७९/८० को सात महिनामा २ हजार ९ विद्युतीय सवारी नेपाल भित्रिँदा गत आर्थिक वर्ष २०७८/७९ भरमा जम्मा १ हजार ८ सय ७ विद्युतीय गाडी नेपाल भित्रिएका थिए।