काठमाडौं। लघुवित्त वित्तीय संस्थाको लाभांशमा नियामक नेपाल राष्ट्र बैंकले आँखा लगाएपछि बिहीबार सेयर बजार तीव्र दबाबमा परेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा सार्वजनिक गरेसँगै निरन्तर दबाबमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार मात्रै सकारात्मक देखिएको थियो।
तर, बुधबार राष्ट्र बैंकले एकाएक लघुवित्तलाई १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने गरी लगभग बन्देज लगाएपछि सेयर बजार ओरालो लागेको हो। नेप्सेमा वर्गीकृत सबै उपसमूहहरू ओरालो लाग्दै गर्दा सबैभन्दा बढी चाप लघुवित्तमा परेको छ।
लघुवित्त तीव्र गतिमा ओरालो लागेसँगै नेप्से सूचक २ हजार १४.६ अंकसम्म झरेको थियो। बुधबार २०८० अंकमा रोकिएको बजार सूचक निरन्तर घट्दो रूपमा देखियो। यद्यपि मध्यक्रम र अन्तिम समयमा केही उठ्न खोजेको आभास दिए पनि लघुवित्तको दबाबले बजार माथि आउन सकेन।
बुधबार राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्दा बढी बाँड्ने हकमा ५० प्रतिशत सामान्य रिजर्भमा राख्नुपर्ने, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने र १० प्रतिशत संस्थागत सामाजिक उतरदायित्व (सिएसआर) कोषमा राख्नुपर्ने व्यवस्था गरेसँगै ५७.७४ अंकले घटेर २०२२.६४ अंकमा रोकिएको छ।
३७ लघुवित्तमा नकारात्मक सर्किट लागेको छ भने थप ८ लघुवित्तको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको छ। अघिल्लो ५४ वटा मूल्य घट्ने कम्पनीहरूमध्ये ५३ वटा लघुवित्त छन्। यी कम्पनीहरूले ६ प्रतिशतभन्दा बढी मूल्य घटेको छ।
राष्ट्र बैंकले यसअघिको व्यवस्थामा परिवर्तन गरेपछि त्यसको प्रभाव बजारमा परेको हो। यसअघि २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्दा ५० प्रतिशत साधारण जगेडा कोष र २५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो।
खासगरी ग्राहक संरक्षण कोषमा थप राख्नुपर्ने १० प्रतिशत बिन्दु रकम र संस्थागत सामाजिक उत्तरदायित्वका लागि प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम जम्मा गर्नुपर्ने व्यवस्थाले लगानीकर्तालाई हतोत्साही बनाएको छ।
सिएसआरमा यसअघि नै वार्षिक खुदनाफाको कम्तीमा १ प्रतिशत छुट्टयाउनुपर्ने व्यवस्था छ। फेरि लाभांश घोषणापछि थप लाभांशमा रकम छुट्टयाउनुपर्ने व्यवस्थाले लगानीकर्ताहरू मर्माहत भएका छन्। जसको असर बिहीबारको सेयर बजारमा परेको हो।
लगानीकर्ताले साधारण जगेडा कोषमा जाने रकमप्रति कुनै गुनासो गरेका छैनन्। तर, सिएसआरमा जाने रकममा बढी चिन्ता व्यक्त गरेका छन्। यसको अर्थ लघुवित्तले आगामी दिनमा १५ प्रतिशतभन्दा बढी लाभांश नबाँड्योस भन्ने भावना केन्द्रीय बैंकको देखिएको छ। जसको प्रभाव गहिरो गरी लगानीकर्तामा परेको छ।
वित्तीय क्षेत्र केन्द्रीत नेपालको सेयर बजारमा राष्ट्र बैंक र बिमा समितिले चाल्ने रणनीतिक कदमले लगानीकर्ताहरूले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएका छन् भने कम्पनीको सञ्चालक समितिको अधिकारलाई नियामकहरूले आफ्नो मुठ्ठिमा राख्न खोजिरहँदाको प्रभाव सेयर बजारमा पर्ने गरेको छ।
बिहीबार समग्रमा २०३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मात्रै मूल्य बढेको छ। सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको ४.८२ प्रतिशत मूल्य बढेको छ।
सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा रहेको छिमेक लघुवित्तको ८ करोड ७० लाख ७३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बिहीबार ६३ लाख २६ कित्ता सेयर कारोबार हुँदा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको भएको छ।