काठमाडौं। विवादस्पद तथा अराजक व्यवसायी दुर्गा प्रसाईंले बैंकहरूलाई मोसो दल्ने अभियान स्थगित गरेको बताएका छन्। बैंकरहरूलाई मोसो दल्ने अभियानलाई अहिलेलाई स्थगित गरेर शान्तिपूर्ण आन्दोलनमा जाने घोषणा गरेका छन्।
क्यापिटल नेपालसँग कुरा गर्दै व्यवसायी प्रसाईंले बैंकरलाई मोसो दल्ने अभियान कसैको विरुद्धमा नभई राज्यको विरुद्ध भएको बताएका छन्। उनले यस अभियानलाई स्थगित गरी शान्तिपूर्ण आन्दोलनमा जाने बताएका छन्।
‘हामीले बैंकमै गएर होइन, घरमा आएको खण्डमा बैंकरलाई मोसो दल्छौं भनेका हौं,’ प्रसाईंले भने, ‘अब मोसो दल्ने अभियान केही समयका लागि स्थगन गरी हामी शान्तिपूर्ण आन्दोलनतर्फ जाने भएका छौं।’ बैंकरलाई मोसो दल्ने अभिव्यक्ति देशका लागि भएको उनको दाबी छ।
उनले आफ्नो आन्दोलन बैंक वा नेपाल राष्ट्र बैंकको विरुद्ध नभई राज्यको विरुद्ध भएको जिकिर गरेका छन्। ‘मेरो आन्दोलन भनेको राष्ट्र बैंकको विरुद्धमा वा मैले ऋण लिएको बैंकहरूको विरुद्धमा होइन,’ प्रसाईंले भने, ‘मेरो आन्दोलन राज्यको विरुद्ध हो। बैंकको विरुद्ध भए मैले आफूले लिएको ऋणको ब्याज नतिरी बस्थेँ होला। मैले बैंकको ऋण र ब्याज तिर्दिन कहिल्यै भनेको छैन।’
उनले आफूले लिएको ऋणको असोज मसान्तसम्मको सबै ब्याज बैंकलाई बुझाएको बताए। बी एन्ड सी मेडिकल कलेजको सहवित्तीयकरणमा ऋण लगानी गर्ने बैंकहरूसँगको बैठक आफैंले बोलाउन लगाएको बताउँदै उनले असोज मसान्तसम्मको ब्याज पूर्णरूपमा तिरेको स्टेटमेन्ट आफूसँग भएको दाबी गरे।
त्यस्तै सरकारले नै बोलाएर बी एन्ड सी मेडिकल कलेज सञ्चालनका लागि आशयपत्र (एलओआई) दिएको प्रसाईंको दाबी छ। ‘सम्झौतामा मेडिकल कलेज ‘फस्ट इन्टेक’ भएर आएपछि साँवा ब्याज भुक्तानी सुरु गर्ने उल्लेख छ,’ उनले भने, ‘मैले विद्यार्थी भर्ना गर्न पाएको छैन। विद्यार्थी पाउँ भनेर अदालतमा मुद्दा हालेको छु, र पनि मैले असोजसम्मको ब्याज तिरेको छु भने म कसरी फटाहा भएँ?’
उनले सहवित्तीयकरण बैठक पटक–पटक बोलाउन माग गर्दा बैंकहरूले नमानेको तर, अहिले भने बस्ने कुरा भएको बताए। ‘मेरो ५ अर्ब रुपैयाँ ऋण छ। त्यसमा २ अर्ब रुपैयाँ सम्पत्ति धितो राखेको छु।
मलाई बैंकले त्यतिकै ऋण दिएको होइन’, उनले भने। बैंकमा काम गर्ने उच्च तहका कर्मचारीको तलब तथा सेवा सुविधा कम्तीमा मासिक १० लाख रुपैयाँ छ। यस्तै दोस्रो तहको कर्मचारीको पनि ५ लाख रुपैयाँ रहेको दाबी गर्र्दै उनले यही अवस्थामा व्यवसायीहरू झुन्डिएर मरेपछि आवाज उठाउन बाध्य भएको बताए।
बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित तथा ‘अराजक’ व्यवसायी प्रसाईंबाट पीडित बैंकले आगामी सोमबार (फागुन १५ गते) सहवित्तीयकरण बैठक बोलाएको छ। ग्लोबल आइएमई बैंकको नेतृत्वमा प्रसाईंको झापास्थित बी एन्ड सी मेडिकल कलेजमा ऋण लगानी भएको हो।
कुमारी बैंक (तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स), नबिल (तत्कालीन नेपाल बंगलादेश बैंक), राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्स लिमिटेडले साढे ५ अर्ब रुपैयाँभन्दा बढी प्रसाईंले स्थापना गरेको कलेज तथा अस्पतालमा ऋण लगानी गरेका छन्।
गत असारदेखि बैंकहरूलाई बुझाउनुपर्ने ऋण साँवा र ब्याज नबुझाएको आरोप उनीमाथि छ। सर्वसाधारणको निक्षेप जोखिममा पर्ने त्रासपछि ग्लोबल आइएमई बैंकले सबै ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई सोमबार छलफलका लागि डाकेको हो।
प्रसाईंले असोज मसान्तसम्मको ब्याज बुझाएको दाबी गरे पनि असारदेखि पुससम्म बैंकले ब्याजवापत पाउनुपर्ने ९ करोड ९५ लाख रुपैयाँ नपाएको जनाएका छन्। प्रसाईंले बी एन्ड सी मेडिकल कलेज नै धितो राखेर साढे ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका हुन्।