काठमाडौं। निर्माण व्यवसायीले भोग्दै आएका समस्या सरकारले समाधान गरे रुग्ण आयोजना सम्पन्न गर्न सकिने निर्माण व्यवसायीले बताएका छन्। सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण रहेका आयोजनाहरूमा गुणस्तरीय काम गरेर पूर्वनिर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए।
मन्त्री श्रेष्ठले निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर आफ्ना समस्या राख्न र छिटो काम गर्न निर्देशन दिए। सो समयमा व्यवसायीहरूले आफ्ना समस्या समाधान गरे निर्माणको काम गर्न आफूहरू सक्षम रहेको बताए।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार हुलाकी, मध्यपहाडी राजमार्गसहित राष्ट्रिय गौरवका आयोजनामा ठेक्का सम्झौता भएर आयोजनाअघि बढ्न सकेका छैनन्। मन्त्रालयका अनुसार देशभरि करिब ५० वटा आयोजना रुग्ण छन् । ती ठेक्का सम्झौता भएको मितिअनुसार सम्पन्न गर्न मन्त्रालयले निर्माण व्यवसायीसँग लिखित सम्झौता गरेको हो।
तर, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भने देशभरि रुग्ण आयोजनाको संख्या २ सयभन्दा बढी रहेको बताउँछन्। आयोजना स्थलमा देखिएका समस्या सरकारले समाधान गरेमा रुग्ण आयोजना सम्पन्न गर्न सकिने अध्यक्ष सिंहकाे भनाइ छ।
‘निर्माण सम्पन्न गर्न सकिन्छ भनेरै हामीले हुन्छ भनेका छौं तर, त्यसका लागि सरकारले समस्या समाधान गर्नुपर्छ।’ क्यापिटल नेपालसँग अध्यक्ष सिंहले भने, ‘मन्त्रीसँग सकारात्मक छलफल भएको छ, निर्माण व्यवसायीका कुरा पनि सुन्नु भएको छ। हाम्रो समस्या हल हुने विश्वास लिएका छौं।’
के छन् व्यवसायीका समस्या?
निर्माण व्यवसायीको मुख्य समस्या भुक्तानी नपाउनु हाे। निर्माण सम्पन्न भएका आयोजनामा सरकारले नै रकम उपलब्ध गराउन नसक्दा व्यवसायीले थप काम गर्न नसकेको अध्यक्ष सिंह बताउँछन्।
त्यस्तै पटक–पटक भइरहने अलाइनमेन्ट र डिजाइन परिवर्तनका कारण पनि व्यवसायीले लक्ष्यअनुसार काम गर्न नसकेका हुन्। त्यसबाहेक वन, खानेपानी, विद्युत, ढल, टेलिकमका आयोजना र कानुनले पनि सडक सञ्जाल निर्माणमा असर पुर्याएको छ।
त्यसबाहेक पछिल्लो वर्ष भएको निर्माणजन्य सामान र ढुवानी गर्दा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले पनि व्यवसायी मारमा परेको महासंघले जनाएको छ। सोमबार मन्त्रीसँगको छलफलमा मूल्यवृद्धिको हिसाब हुनुपर्ने व्यवसायीले माग राखेको अध्यक्ष सिंह बताउँछन्।
‘हामीले ठेक्का सम्झौता गर्दा एउटा दर/रेट थियो अहिले २/३ गुण मूल्यवृद्धि भइसक्यो, त्यसको हिसाब हुनुपर्छ भन्ने माग हो, भौतिकमन्त्री सकारात्मक देखिनु भएको छ। समस्याहरू समाधान हुने आसमा छौं,’ उनले भने।
मन्त्रालयअनुसार केही निर्माण व्यवसायीले राम्रो काम नगरेकाले ठेक्का तोडिसकिएको छ भने केही व्यवसायी ठेक्का सम्झौता गरेर सम्पर्कमा आएका छैनन्। जसले गर्दा निर्माण कार्य सम्पन्न हुने विषयमा चुनौती बढ्दै गएको छ। मन्त्रालयले निर्माण व्यवसायी सम्पर्कविहीन भए भन्नुभन्दा पहिला त्यसको कारण खाज्नुपर्ने महासंघका अध्यक्ष सिंहको भनाइ छ।
व्यवसायी सम्पर्कविहीन हुनुको कारण के हो?
हुलाकी राजमार्गअन्तर्गत मनमत, कलैया, मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोसी जलाधार ओमसाही जेभी र मोहना, डोकेबजार, बेलौरी धाइजी कतिपय खण्ड निर्माणको जिम्मा पाएको बाबाहंश सिद्धिशाही कम्पनी सम्पर्कमा आएका छैनन्। त्यस्तै जोमसोम कागबेनी बनाइरहेको रौता आत्रेय सारस जेभी सम्पर्कमा आएको छैन।
यसरी निर्माणको जिम्मेवारी लिएपछि काम अलपत्र पारेर व्यवसायी बस्नुपर्ने अवस्था सरकारकै कारण आएको निर्माण व्यवसायी बताउँछन्। मूल्यवृद्धि, आयोजनाको अनाइनमेन्ट र डिजाइन परिवर्तन भइरहँदा निर्माण कार्यमा समस्या हुँदै आएको व्यवसयाीको भनाइ छ। उक्त समस्याका बीच सरकारले नै ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न भएका आयोजनाको बक्यौता रकम नदिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह बताउँछन्।
‘व्यवसायी भागे भनेर मात्रै हुँदैन त्यसको कारण खोज्नुपर्छ, प्रेम आचार्यले संसद् भवनअघि आत्मदाह गरेजस्तै अवस्था निर्माण व्यवसायीबाट पनि आउन सक्छ। निर्माण सम्पन्न भएर पनि राजयले भुक्तानी नदिनु नै प्रमुख समस्या हो,’ उनले भने।
भौतिक मन्त्रालयसहित सहरी, ऊर्जा, खानेपानीलगायत मन्त्रालयमा गरी देशभरिका निर्माण व्यवसायीले कुल ७० अर्ब रुपैयाँ सरकारबाट बक्यौता लिनुपर्नेछ। यता बक्यौता रकम उपलब्ध गराउने विषयमा मन्त्रालयले पहल गर्ने सोमबारको छलफलमा भौतिकमन्त्री श्रेष्ठ सकारात्मक देखिएका छन्।
सरकारले समयमै भुक्तानी नदिँदा व्यवसायीले आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने, थप निर्माणजन्य सामान खरिद गर्न नसक्ने र बीचमै काम रोकेर सम्पर्कविहीन हुनुपर्ने अवस्था छ। सरकारले आफ्नो क्षमता र पुँजीको ख्याल नगरी आयोजना छनोट गर्ने र निर्माण प्रक्रियामा जाँदा बजेट व्यवस्था गर्न नसकेकाे व्यवसायीको बुझाइ छ।
बजेट निर्माण गर्ने समयमा नै आयोजनाका लागि स्रोत सुनिश्चितताता गरेर मात्रैअघि बढ्नुपर्ने अध्यक्ष सिंहको भनाइ छ। राजनीति गर्ने व्यक्तिहरुले शक्तिको आडमा आफ्नो क्षेत्रमा आयोजना बनाउने घोषणा गर्ने तर, आवश्यकता र राज्यको आर्थिक क्षमताको विषयमा ख्याल नगर्दा व्यवसायीहरू मर्कामा पर्दै आएका छन्।
कुन–कुन आयोजनामा भएको छ निर्देशन?
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ७ वटा आयोजना रुग्ण रहेको र मोहना खेला, डोकेबजार, बेलौरी, धाइजी, कञ्चनपुर सडकमार्गको जिम्मा पाएको शर्मा राजेन्द्र जेभीले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको छ।
धाँधर खोला पुल र पतरी खोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनमा कामलाई गति दिने बताएको छ, नत्र ठेक्का नै तोडिने सहमति भएको छ।
हुलाकीअन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा बिरुवा शिवशक्ति जेभीले २५ दिनमा काम सक्ने बताउँदा कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको छ।
हुलाकी राजमार्गअन्तर्गतको मनमत, कलैया, मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोसी जलाधार ओमसाही जेभी र मोहना, डोकेबजार, बेलौरी धाइजी कतिपय खण्ड निर्माणको जिम्मा पाएको बाबाहंश सिद्धिशाही कम्पनी सम्पर्कमा आएका छैनन्।
त्यस्तै सडक सुधार तथा विकास आयोजनाअन्तर्गत भेडेटार, राँके सडक निर्माणको जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालू आर्थिक वर्षमा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ।
लमही, घोराही, तुल्सीपुर सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने भएको छ। मुडे, चरिकोट सडक बनाउने काम चैतसम्म सक्ने निर्माण कम्पनी सुनौला खिम्तीले जनाएको छ।
यसैगरी एआइपिएल शैलुङ जेभीले बनाइरहेको भक्तपुर नगरकोट सडकको निर्माण कार्य चैतसम्म सकिने छ। दिनेशचन्द्र शंकर माली जेभीले बसन्तपुर, पपरादी सडकको काम असार मसान्तसम्म ४५ प्रतिशत सक्ने प्रतिबद्धता जनाएको छ।
मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत आरुघाट, ओख्ले सडक असार मसान्तसम्म सकिने रसुवा इलाइट सूर्य जेभीले जनाएको छ। जोरसाल, तमोर, संक्रान्ति, म्याङलुङ सडकका विभिन्न खण्ड सम्बन्धित निर्माण कम्पनीहरूले आउने असार मसान्तसम्म सक्ने जनाएका छन्।
यो खण्डमा भरत, मैनाचुली, सिद्धिशाही, कन्टेक, गौरीपार्वती, कोसीलगायत निर्माण कम्पनीले काम गरिरहेका छन्। मध्यपहाडीअन्तर्गत नै हिले, लेगुवा सडक निर्माणको जिम्मा पाएको रौतामाई सन्तोषी बिरुवा जेभीले जेठसम्म काम सक्ने जनाएको छ।
यस्तै खण्डुवा खोलामा पुल निर्माण कार्य वैशाख १५ मा सकिने बिरुवा गल्वा जेभीले जनाएको छ। भोजपुर, दिक्तेल सडकको काम असारभित्र सकिने भरत मैनाचुली सिद्धिशाही जेभीको प्रतिबद्धता छ।
सिरुवा कन्स्ट्रक्सनले बनाइरहेको पंखु खोला पुल जेठसम्म निर्माण सम्पन्न हुनेछ। यसैगरी देउरी, सामरी भञ्ज्याङ, कटुञ्जे सडकको जिम्मा पाएको लुम्बिनी मृत सञ्जीवनी जेभीले असारसम्म काम सक्ने प्रतिबद्धता गरेको छ। त्यस्तै पाटीहाल्ने, रुकुमकोट सडकको काम असारसम्म सकिने महादेव खिम्ती जेभीले जनाएको छ।
ओख्ले, घ्याम्पेसाल, खहरे सडक बनाउँदै गरेको एमपी एसपी एफइसिसी जेभीले असारसम्म र पीपलटार देउडी सडकको जिम्मा पाएको गौरीपार्वती महालक्ष्मी नागार्जुन जेभीले पनि असारभित्रै काम सक्ने बताएका छन्।
उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत खहरे खोला पुल र रुप्से खोला पुल रुग्ण छन्। यी पुल बनाइरहेका सिरुवा कन्स्ट्रक्सन र गजुरमुखीसँगको ठेक्का तोडि सकिएको छ। झैते, कोरोला सडक बनाइरहेको तामाङ गौरीपार्वती कोसी न्यौपाने जेभी, घासा, जोमसोम, कोरोला बनाइरहेको पप्पु गौरी पार्वती कोसी न्यौपाने जेभी, मिर्मी फलेबास कुस्मा सडकखण्ड निर्माण गरिरहेको सूर्य कन्स्ट्रक्सनले असार मसान्तसम्म काम सक्ने बताएका छन्।
हिल्सा सिमिकोट सल्लीसल्ला रोड र सिमिकोट खर्बु हुम्ला बनाइरहेका अनक कविन्द्र माउन्टेन जेभीले जग्गा विवाद समाधान भए काम सक्ने प्रतिबद्धता गरेका छन्। धुलिखेल निशान जेभीले यांगर खोलाको पुलका लागि चीनबाट सामान आइसकेको र असारभित्र काम सक्ने बताएको छ।
कञ्चनगंघा बिरुवा जेभीले बुटवल बेलहिया सडकको काम असारसम्म सक्ने बताएको छ। रुकुम पूर्वको काँक्री मैकोट खण्डको ३८ किमि सडक चौडा गरी ग्राभेल स्तरमा उन्नती गर्ने कामको जिम्मा पाएको पप्पु/कोसी न्यौपाने जेभीको ठेक्का तोडिएको छ भने जोमसोम कोगबेनी बनाइरहेको रौता आत्रेय सारस जेभी सम्पर्कमा आएको छैन।