काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएको बताएका छन्।
बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले यातायातको मुद्दा सिंगो देशको भएको बताएका हुन्।
यातायात व्यवासयीसँग कुरा गर्दै उनले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि मन्त्रालयले कार्यदल बनाएको पनि बताएका छन्।
‘हामीले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि यातायात व्यवस्था सुधार सुझाव कार्यदल बनाएका छौं’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अब यातायातको मुद्दा व्यवसायी वा व्यक्ति विशेषको मात्र रहेन। यो सिंगो देशको मुद्दा बनेको छ।’
यातायात व्यवसायीका गुनासो सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कार्यदलका प्रतिवेदनका आधारमा व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आस्वासन दिएका छन्।
ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई व्यवसायका समस्या र सुझावहरू समेटेर ४ पृष्ठको सुझाव पेस गरेका छन्।
व्यवसायीहरूले मुख्य रूपमा सवारी कर र राजस्व, सडक दुर्घटना, बिमा, पार्कीङलगायतले आफूहरूलाई समस्यामा पारेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए।
व्यवसायीहरूले सवारी कर, राजस्व, सडक दुर्घटना र असीमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बिमा तथा सवारी कानुन, पञ्जीकरण, विद्युतीय सवारी, ट्रकपार्क तथा हाइवे पार्किङ वे, तौलपुलको अनिवार्यता, यातायात निर्देशनालय बनाउनुपर्ने, अधिकारसम्मपन्न यातायात प्राधीकरण, बिआइएनका सम्बन्धमा तथा भारतीय सवारीसाधनको अतिक्रमणलगायत विषयमा उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।