काठमाडौं। उद्घाटन भएको ५५औं दिनमा अन्तर्राष्ट्रिय उडानका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट खुल्ने भएको छ।
गत पुस १५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको उक्त विमानस्थल यसअघि अन्तर्राष्ट्रिय उडानका लागि खुला गरिएको थिएन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भोलि बिहीबारबाट पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि खुल्ने जानकारी दिए।
विमानस्थलमा ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) प्रणाली लागू गरिसकेकाले बिहीबारबाट अन्तर्राष्ट्रिय उडानका लागि खुला गरिएको जानकारी दिए।
पाइलटले आँखाले आकास र धावनमार्ग हेरेर गरिने उडान ‘भिजुअ फ्लाइट रुल’ (भिएफआर) हो भने आधुनिक प्रविधिको सहायताबाट गरिने उडान ‘आइएफआर’ हो। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भिएफआर उडान गर्न मान्दैनन्।
त्यही भएर विमानस्थलमा आइएफआर प्रणाली जडान भएकाले अन्तर्राष्ट्रिय उडान खुला गरिएको भुलको भनाइ छ।
अब पोखरामा आइएफआर प्रणाली लागू भएपछि ३ हजार ८ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गराउन सकिन्छ। भिएफआर फ्लाइटका लागि कम्तीमा ५ हजार मिटर भिजिबिलिटी चाहिन्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको पूर्वतर्फको ‘रनवे ३०‘ बाट आइएफआर उडान–अवतरण गर्न सकिने भए पनि पश्चिमतर्फको ‘रनवे १२’ बाट भने भिएफआर उडानमात्र हुने जानकारी दिए।
प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार कम्तीमा ३ हजार ८ सय मिटरसम्म भिजिबिलिटीमा उडान–अवतरण गर्न सकिने हुँदा सामान्य मौसम बिग्रिँदा उडान रद्द हुनेछैन। यो विमानस्थलमा राति पनि उडान गर्न सकिने हुँदा बिहान र दिउँसो मौसम बिग्रिएकै कारण उडानै रद्द गर्नुपर्ने अवस्था आउँदैन।
सामान्यतयाः आइएफआर प्रणालीमा तराई भेगका विमानस्थलमा २ हजार २ सय, १ हजार ८ सय र १ हजार ६ सय मिटर भिजिबिलिटिसम्म पनि जहाज उडान–अवतरण गर्न सकिन्छ। आइएफआर प्रणाली लागू भएका कारण पोखरा विमानस्थलमा चौबिसै घन्टा उडान–अवतरण हुन्छ।
आएनन् अन्तर्राष्ट्रिय एयरलाइन्स
पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भइसक्दा समेत कुनै पनि एयरलाइन्स तयार भएका छैनन्। अहिलेकै अवस्थामा केही समयसम्म पोखरामा आन्तरिक उडानमात्र हुने देखिन्छ।
प्राधिकरणका सूचना अधिकारी भुल हालसम्म कुनै पनि एयरलाइन्स अन्तर्राष्ट्रिय उडानका लागि तयार भएर नआए पनि चासो भने धेरैले दिएको बताउँछन्।
‘चासो राख्ने धेरै एयरलाइन्स छन्,‘ उनले भने, ’उडान गरिहाल्ने भनेर निवेदन दिएर भने कुनै पनि आएका छैनन्।’ विमानस्थल उद्घाटनअघि नै निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतका विभिन्न गन्तव्यमा उडान गर्ने घोषणा गरेको थियो। तर, भारतले उडान अनुमति नदिएका कारण बुद्धले अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन।
योसँगै निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि पोखराबाट चीन उडान गर्न चासो देखाए पनि हालसम्म निर्णय गरेको छैन। हिमालयले ‘ग्राउन्ड ह्यान्डलिङ’ को जिम्मेवारी पाउनुपर्ने सर्त राख्दै आएको छ। पोखरामा ‘न्यारोबडी’ जहाजमात्र उडान–अवतरण गर्नसक्छ।
बुद्धले दैनिक १२ उडान गर्ने
रात्रिकालीन उडान सुरु भएसँगै बुद्ध एयरले राति ८ बजेसम्म पोखराका लागि उडान गर्ने तयारी गरेको छ।
बुद्धका स२चना अधिकारी दीपेन्द्र कर्णले दैनिक १२ उडान गर्ने र पोखरामा रात्रीकालिन आधारमा चार जहाज राख्ने तयारी भइरहेको जानकारी दिए।
योसँगै रात्रिकालीन उडान गर्न यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स लगायत कम्पनीले पनि उडान तयारी गरेका छन्।