काठमाडौं। काठमाडौं उपत्यकाको ललितपुर, काठमाडौं र भक्तपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ। विभागका अनुसार ती स्थानीय तहले कृषि र गैरकृषि छुट्याएका हुन्। अन्य विधामा भने छुट्याउन बाँकी छ।
२०७९ जेठ २३ गतेदेखि भूउपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ।
अहिले आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
मंसिर २३ गतेसम्ममा सरकारले जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। उक्त निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सयवटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको विभागका सूचना अधिकारी विष्णुकुमार महतले बताए।
विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ, कागेश्वरी मनोहरा नगरपालिका, टोखा, तारकेश्वर, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन्।
साथै भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, मध्यपुरथिमि, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका गरी चारवटा पालिका छन्।
त्यस्तै ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, माहांकाल गाउँपालिका, बागमती गाउँपालिका र कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्।