बलेवा। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बिमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बिमा सुविधाबाट वञ्चित भएका छन् ।
सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन गाउँपालिकाले बिमाबापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो । बिमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बिमा सुविधा उपभोगबाट भने वञ्चित छन् ।
गाउँपालिकाले पहिलो चरणको ६४ लाख रूपैयाँ बिमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेको थियो ।
पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बिमा गर्न राजस्व बाडफाँडबाट २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बिमाका लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण संकलन गरिसकेको छ ।
विवरण संकलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।
संघ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बिमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बिमाको सेवा लिन पाउँछन् ।
प्रदेश र संघबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ।
गाउँपालिकाले असोज, कात्तिक र मंसिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बिमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए।
‘प्रदेश र संघीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ” चन्दले भने।