काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३६ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले आफ्नो ३६औं वार्षिकाेत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको कम्पनीले जनाएको छ। कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट,काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ।
जसमा ५० भन्दा बढी कर्मचारीको सहभागिता थियो । देशभरमा ३४ वटा बाल र वृद्ध आश्रममा खाना खुवाउने कार्यक्रम आयोजनासमेत सम्पन्न गरिएको छ। यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालू वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ। संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरिसकेको कम्पनीले बताएको छ।
कम्पनीको जीवन बिमा कोषमा ५६ अर्बको हाराहारीमा रकम जम्मा भएको छ। आर्थिक वर्ष २०७७/७८ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कम्पनीले आफ्ना बिमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ।
आव २०७७/७८ को बिमांकीय मूल्यांकनपश्चात् बिमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको जानकारी गराएको थियो।
कम्पनीले चालू वर्षमा शाखा कार्यालय नेपालगन्जमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ। १ सय १७ शाखा कार्यालय संख्या र ४ सय ६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत छन्।
कम्पनीले स्थापनाकालदेखि २०७९ साल पुस मसान्तसम्म कुल बिमाशुल्क आम्दानी ८५ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ। कुल ३८ लाख ६० हजार बिमालेख जारी गरेको कम्पनीले जनाएको छ। कुल २९ अर्ब ६० करोड बराबर बिमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ।