काठमाडौं। डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले ११ गते डिजिटल लर्निङ डे विशेष कार्यक्रम हुँदैछ। त्यस अवसरमा एडचेन्ज नेपाल सस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा सेमिनार आयोजना गर्न लागेको हो।
होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम छ।
डिजिटल लर्निङ डे सन् २०१२ देखि एयलायन्स फर एक्सिलेन्ट एजुकेसन नामक सस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो। फ्रेब्रुअरी महिनाको तेस्र्रो हप्ताको बिहीबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ।
यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगन सहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा बालचन्द्र लुइटेलले मुख्य वत्ताको रुपमा प्रस्तुती गर्नेछन्।
त्यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक डा.भोजराज घिमिरे र काडिंगल भारतमा सह-सस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुती छ।
प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य सस्थाहरुबाट विशिष्ट व्यत्तिहरुबीच अन्तर्क्रिया सञ्चालन हुनेछ। आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाँउ पुर्याउने आयोजकले विश्वास लिएको छ। कार्यक्रमबारे यस वेबसाइट मार्फत जानकारी लिन हेर्न सकिन्छ।
नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन्। विशेषगरी कोभिड १९ पश्चात विद्यार्थीहरुको सिकाईको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवर्द्धन गरेको छ।
एक दर्जन बढी कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन्। तर, अझै पनि डिजिटल लर्निङलाई पूर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ।
सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा, अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ।
यसको लागि आवश्यक पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ। सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ।